सट्टेबाजमा संलग्न २० वर्षीय युवाको खाताबाट दुई करोड कारोबार

बुधबार, २८ मंसिर, २०७९
डिजिटल संस्करण

अर्काको नागरिकताको फोटोकपी प्रयोग गरेर लिए ९४ सिमकार्ड, एउटाबाट बढीमा दुईपटक कारोबार

विश्वकप फुटबलका नाममा सट्टेबाज गर्ने धन्दामा संलग्न महोत्तरीको महोत्तरी गाउँपालिका– १ का २० वर्षीय आदर्श ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई ललितपुर महानगरपालिका– २ सानेपाबाट पक्राउ गरेको हो । 

ठाकुरको विभिन्न बैंक खातामा सट्टेबाजमा प्रयोग भएको दुई करोड दुई लाख ८४ हजार चार सय ४८ रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार उनले रसियन बेटिङ एप्लिकेसन ‘वानएक्सबेट’मार्फत सट्टेबाजी लगाउन रकम संकलन गर्दै आएका थिए । ठाकुरलाई सट्टेबाजी गर्न नहुने कसुरअन्तर्गत कारबाही अघि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए । 

‘विश्वकप फुटबलमा सट्टेबाजी भइरहेको सूचना आएपछि प्रहरी उच्च निगरानीमा थियो । यही क्रममा ठकुरलाई पक्राउ गरिएको हो । ऊ ‘वानएक्सबेट’मार्फत सट्टेबाजीमा संलग्न रहेको खुलेको छ । बैंक खाताबाट दुई करोड रुपैयाँ कारोबार भएको देखिएको छ । निज वानएक्सबेटको नेपाली एजेन्ट रहेको अनुसन्धानमा देखिएको छ,’ एसपी कोइरालाले भने । 

प्रहरीका अनुसार रकम संकलन र भुक्तानी गरेको आधारमा कमिसन पाउने भएपछि ठाकुर केही महिनादेखि यो धन्दामा संलग्न हुँदै आएका थिए । यसका लागि उनले विभिन्न व्यक्तिका नाममा ‘डिजिटल वालेट अकाउन्ट’ खोलेका थिए । सोही खातामार्फत सट्टेबाजका लागि आवश्यक रकम संकलन गर्दै आएका थिए । खाता खोल्न उनले अन्य व्यक्तिका नागरिकताको फोटोकपीसमेत खरिद गर्दै आएका थिए । एक नागरिकताको फोटोकपीका लागि चार सय रुपैयाँसम्म भुक्तानी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यही नागरिकताको फोटोकपी प्रयोग गरेर ठाकुरले एनसेल र स्मार्ट कम्पनीका ९४ वटा सिमकार्ड खरिद गरेका थिए । एउटा सिमकार्डबाट उनी बढीमा दुईपटकसम्म कारोबार गर्थे र त्यसपछि सिमकार्ड बन्द गरिदिन्थे । कमिसनबापत प्राप्त भएको रकम भने उनले आफ्नो बैंक खातामा सार्थे । 

अनुसन्धानमा संलग्न अनुसन्धान कार्यालयका एसपी कोइरालाले भने, ‘उसले डिजिटल वालेट अकाउन्ट खोलेको रहेछ । सोहीमार्फत सट्टेबाजका लागि आवश्यक रकम संकलन गर्ने रहेछ । वालेट खोल्न आवश्यक नागरिकताको फोटोकपी खरिद गर्ने रहेछ र त्यसैबाट सिमकार्ड पनि निकाल्ने रहेछ । एउटाबाट बढीमा दुईपटक कारोबार गरेपछि खाता बन्द गर्ने र सिमकार्ड पनि ब्लक गर्ने रहेछ ।’

सट्टेबाजको आशंकापछि प्रहरीले चार सय ४५ डिजिटल वालेट अकाउन्टको कारोबार बन्द गरेको छ । विभिन्न सेवाप्रदायक कम्पनीका उक्त वालेटमाथि अनुसन्धान जारी रहेको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कोइरालाले बताए । ‘विभिन्न सेवा प्रदायक कम्पनीका डिजिट वालेटको कारोबार बन्द गरिएका छन् । सट्टेबाजमा प्रयोग हुन सक्ने देखिएपछि त्यसो गरिएको हो । 

वानएक्सबेटको नेपाली एजेन्ट रहेको अनुसन्धानले देखाएको छ : एसपी कृष्ण कोइराला, प्रवक्ता, उपत्यका अपराध अनुसन्धान कार्यालय
विश्वकप फुटबलमा सट्टेबाजी भइरहेको सूचना आएपछि प्रहरी उच्च निगरानीमा थियो । यही क्रममा महोत्तरीका २० वर्षीय आदर्श ठकुरलाई पक्राउ गरिएको हो । ऊ ‘वानएक्सबेट’मार्फत सट्टेबाजीमा संलग्न रहेको खुलेको छ ।

उसको बैंक खाताबाट दुई करोड रुपैयाँ कारोबार भएको देखिएको छ । निज वानएक्सबेटको नेपाली एजेन्ट रहेको अनुसन्धानमा देखिएको छ । उसले डिजिटल वालेट अकाउन्ट खोलेको रहेछ । सोहीमार्फत सट्टेबाजका लागि आवश्यक रकम संकलन गर्ने रहेछ ।

वालेट खोल्न आवश्यक नागरिकताको फोटोकपी खरिद गर्ने रहेछ र त्यसैबाट सिमकार्ड पनि निकाल्ने रहेछ । एउटाबाट बढीमा दुईपटक कारोबार गरेपछि खाता बन्द गर्ने र सिमकार्ड पनि ब्लक गर्ने रहेछ ।

सुझावित समाचार