नयाँ स्टक एक्सचेन्ज आउनुअगाडि नै ३० प्रतिशत सेयर जारी गर्ने नेप्सेको तयारी

मंगलबार, २७ मंसिर, २०७९
डिजिटल संस्करण

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पनि सर्वसाधारणलाई ३० प्रतिशत सेयर जारी गर्ने तयारीमा जुटेको छ । नयाँ स्टक एक्सचेन्ज आउनुअगाडि नै नेप्सेले ३ प्रतिशत कर्मचारीलाई र २७ प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउने तयारीमा जुटेको हो ।

बोर्डले नयाँ स्टक एक्सचेन्जमा २ असोजमा आवेदन खुला गरिसकेको छ । न्यूनतम तीन अर्ब रुपैयाँको चुक्ता पुँजी रहने गरी नयाँ स्टक एक्सचेन्जमा आवेदन दिन सकिने व्यवस्था गरेको छ । यस्तो पुँजीमा कम्तीमा धितोपत्र कारोबार भएको दुई वर्षपछि ३० प्रतिशत सर्वसाधारणका लागि सेयर छुट्याउनुपर्ने व्यवस्था रहेको छ ।

नयाँ स्टक एक्सचेन्जको अनुमति नर्वाचनको समयमा वितरण गर्न लागेको भन्दै परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । लाइसेन्स रोकिरहेको समयमा यता सरकारी स्वामित्व रहेको नेप्सेले भने नयाँ स्टक एक्सचेन्जलाई चुनौती दिनका लागि सेयर जारी गर्ने तयारीलाई तीव्रता दिएको हो । नेपाल स्टक एक्सचेन्जका कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले सेयर जारी गर्ने पक्रिया अघि बढाउने तयारीमा जुटेको बताए । उनले भने, ‘यसको आन्तरिक तयारीमा जुटेका छौँ, पक्रिया लामो हुन्छ, मन्त्रिपरिषद्ले निर्णय गरेपछि बल्ल यसको औपचारिक काम सुरु हुने हो ।’

नयाँ स्टक कम्पनीको सञ्चालन धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको प्राथमिकतामा परेको छ । उनको कार्यकाल छोटो भएकाले नयाँ स्टक एक्सचेन्जको कामलाई पूर्णता दिन चाहन्छन् । सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई चाँडो टुंगो लगाउन उनले दौडधुपलाई तीव्र पारेका पनि छन् । नयाँ स्टक एक्सचेन्ज ल्याउने निर्णय गरेसँगै विरोध जनाएको नेप्सेले सेयर जारी गरेर नेप्से सुधारको संकेत दिन खोजेको नेप्सेका एक कर्मचारीले जानकारी दिए । ती कर्मचारीले भने, ‘विगतमा पनि सेयर जारी गर्ने त भनिएको थियो, तर अहिले प्राथमिकतामा राखेर छलफल हुने गरेको छ, सायद नयाँ सरकार आएपछि यसको प्रक्रिया अघि बढाउने रणनीति देखिन्छ ।’

हाल नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, नेपाल राष्ट्र बैंकको १४.६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ६.१४ प्रतिशत सेयर छ । ५–५ प्रतिशत हिस्सा लक्ष्मी र प्रभु बैंकको रहेको छ । नेप्सेले चुक्ता पुँजी बढाएर आइपिओ जारी गर्ने बताएको छ । हाल नेप्सेको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुगेको छ । सरकारी स्टक एक्सचेन्जले पनि सेयर जारी गर्नु सकारात्मक भएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताए । उनले भने, ‘सरकारी स्वामित्व भएको संस्थाले सर्वसाधारणलाई सेयर जारी गर्नु सकारात्मक हो । हामीले खोजेको प्रतिस्पर्धात्मक बजार हो । यसले बजारलाई थप बलियो बनाउँछ ।’

यस्तो अभ्यास अन्तर्राष्ट्रिय पुँजी बजारमा हुँदै आएको छ । भारतमा एसियाकै पुरानो बम्बे स्टक एक्सचेन्ज (बिएससी)को सन् २०१७ मा करिब आठ सय पाँच भारतीय रुपैयाँदेखि आठ सय ६ रुपैयाँ प्रतिकित्ताका दरले एक करोड सात लाख ९९ हजार कित्ता सेयर जारी गरेको थियो । नयाँ सेयर जारी गर्नेभन्दा पनि भएकै सञ्चालकहरूको सेयर बिक्री गरेका थिए । त्यहाँको नियामक भारतीय प्रत्याभूति और विनिमय बोर्ड (सेबी)ले एक्सचेन्जहरूले आफ्नो सेयर आफ्नै प्लेटफर्ममा कारोबार गर्न नपाउने व्यवस्था गरेको छ । 

पछिल्लो समय नेपाल स्टक एक्सचेन्जको आम्दानी वृद्धि भइरहेको छ । गत आवको नाफाबाट मात्रै नेप्सेले एक सय ६६ प्रतिशत लाभांश वितरण गरेको छ । नेप्सेले ६६ दशलमव ६ प्रतिशत बोनस र बाँकी नगद लाभांश दिएको थियो ।

See More On

सुझावित समाचार