कांग्रेसको इतर समूह र युवा नेताको सार्वजनिक रूपमै विरोध

संस्थापन पक्षको आक्रोश– आफ्नै सरकारको निर्णयमा प्रतिपक्षभन्दा अगाडि पार्टीभित्रबाटै विरोध भयो

मंगलबार, २७ मंसिर, २०७९
डिजिटल संस्करण

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलगायतलाई आममाफी दिने गरी अध्यादेश ल्याएपछि कांग्रेसभित्रै सरकारको आलोचना भएको छ । संस्थापन इतरका नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र महामन्त्री विश्वप्रकाश शर्मा, युवा नेता प्रदीप पौडेललगायतले सार्वजनिक रूपमै विरोध जनाएका छन् ।  

नेता कोइरालाले अध्यादेशमार्फत अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासनको मर्मविपरीत हुने बताएका छन् । यसबाट गलत नजिर बस्ने उनको भनाइ छ । ‘अध्यादेशमार्फत कानुन संशोधन गरी अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफूअनुकूलको राजनीतिक सहजताका लागि कानुनलाई बंग्याउने छुट कसैलाई छैन । भोलि यसले गलत नजिर बस्न जान्छ ।’

महामन्त्री थापाले अध्यादेशबारे पार्टीभित्र कुनै छलफल र निर्णय नभएको भन्दै सरकारको गलत निर्णयको भारी पार्टीले नबोक्ने बताएका छन् । उनले  कामचलाउ सरकारले दूरगामी महत्वको निर्णय गर्न नमिल्ने उल्लेख गर्दै अध्यादेशको विषय र मनसायसमेत गलत रहेको टिप्पणी गरेका छन् । ‘अहिले पार्टीभित्र यो अध्यादेशबारे न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै भएको छ । त्यसैले विगतमा पार्टीको अडान जे थियो, आज पनि त्यही नै छ । अतः सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्न सक्दैन,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन मिल्दैन । यो राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखे नयाँ संसद्ले कानुन बनाएर प्रक्रिया अगाडि बढाउन सक्छ ।’

अर्का महामन्त्री शर्माले यस विषयमा आइतबार नै विरोध जनाएका थिए । दलहरूबीच र आफ्नै दलभित्र पनि छलफल नगरिनु गलत भएको उनले उल्लेख गरेका थिए । ‘संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनीभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रूपले गलत हो,’ शर्माले भनेका छन्, ‘यो कानुनी र राजनीतिक प्रश्न मात्र होइन, यो प्रकरणमा नैतिक प्रश्न पनि जोडिएको छ ।’ 

महामन्त्री थापाले शर्माको अभिव्यक्तिलाई समर्थन जनाउँदै दुई महामन्त्रीको धारणा पार्टीको धारणा भएको बताएका छन् । ‘यो मेरो वा विश्वप्रकाश शर्माको मात्र होइन, नेपाली कांग्रेस पार्टीकै धारणा हो, मान्यता हो,’ महामन्त्री थापाले भनेका छन्, ‘विगतमा पटक–पटक यसरी अध्यादेश ल्याउनु सम्पूर्ण रूपमा गलत हो भनेर पार्टीले निर्णय गरिसकेको छ । अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै भएको छ ।’

युवा नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले पनि अध्यादेश ल्याउने प्रवृत्ति गलत भएको बताएका छन् । हतारमा अध्यादेश ल्याउनुभन्दा नवनिर्वाचित संसद्बाट नै निकास निकाल्नुपर्ने उनको भनाइ छ । ‘अध्यादेश हिजो पनि गलत थियो, आज पनि । पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ ? सबै विषयको उचित हल हतारोमा अध्यादेशमार्फत होइन, नवनिर्वाचित संसद्मार्फत खोजौँ,’ पौडेलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

संस्थापन समूहनिकट केन्द्रीय सदस्य नैनसिंह महरले पनि घुमाउरो रूपमा अध्यादेश ल्याउनु गलत भएको प्रतिक्रिया दिएका छन् । ‘राज्य सञ्चालनका सन्दर्भमा शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप चल्नु नै उत्तम हो । संसद्, सरकार र अदालतका आ–आफ्नै सीमा छन् । हिजो हामीले नगर्ने प्रतिबद्धता गरेका विषयको पुनरावृत्ति हुनुहुँदैन,’ महरको प्रतिक्रिया छ ।

रुष्ट संस्थापन पक्षको आक्रोश– आफ्नै सरकारको निर्णयमा प्रतिपक्षभन्दा अगाडि पार्टीभित्रबाटै विरोध भयो दुई महामन्त्रीले दलभित्र छलफल नभएको भन्दै विरोध जनाएपछि कांग्रेस संस्थापन पक्ष रुष्ट बनेको छ । संस्थापन समूहले अध्यादेश ल्याउने विषय सरकारको अधिकार क्षेत्रभित्र पर्ने भन्दै पार्टीमा छलफलको आवश्यकता नरहेको जिकिर गरेको छ ।

सभापति शेरबहादुर देउवानिकट एक पदाधिकारीका अनुसार संस्थापन समूहमा प्रतिपक्षभन्दा अगाडि पार्टीभित्रबाटै विरोध गरेको भन्दै नेताहरू रुष्ट बनेका छन् । ‘अध्यादेशको निर्णय सरकारको कार्यकारी अधिकार हो । पार्टीमा छलफल आवश्यक छैन,’ ती पदाधिकारीले भने, ‘प्रक्रियागत रूपमा अध्यादेश संसद्मा नै पुग्छ, सके प्रक्रियागत रूपमा नै यसलाई गलत साबित गर्ने ठाउँ छ ।’ 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि पार्टीभित्रैबाट अध्यादेशको विरोध हुनुलाई व्यक्तिगत असन्तुष्टिको रूपमा व्याख्या गरे । सरकारले आवश्यकता र औचित्यताका आधारमा अध्यादेश ल्याएको उनको दाबी छ । असन्तुष्टि भए पनि सार्वजनिक रूपमा नभएर पार्टीभित्र बहसको विषय बनाइनुपर्ने महतको भनाइ छ । ‘हिजो हामीले अध्यादेशको विरोध गरेको परिस्थिति फरक थियो, आज फरक छ । सरकारले आवश्यकता र औचित्यताका आधारमा अध्यादेश ल्याएको हो ।

अध्यादेश ल्याउनु नै हुँदैन भन्ने होइन । आवश्यकता र औचित्यतालाई हेरेर सरकारले अध्यादेश ल्याउन सक्छ । नत्र किन संविधानमा अध्यादेशको व्यवस्था राखिन्थ्यो ?’ उनले भने, ‘अनावश्यक रूपमा अध्यादेश ल्याउनुहुँदैन । यसमा पार्टीभित्र कसैको असन्तुष्टि भए पनि बाहिर बहसको विषय बनाउनुभन्दा पार्टी नेतृत्व र संयन्त्रमार्फत कुरा राख्नुपर्छ ।’

सुझावित समाचार