बुधबार ६५ वर्ष पुग्ने निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सोही दिनदेखि उमेरहदका कारण स्वतः अवकाशमा जाँदै छन् । महाभियोगका कारण पछिल्लो १० महिनादेखि सर्वोच्च प्रवेश नपाए पनि प्रधानन्यायाधीशकै हैसियतमा रहेका उनले न्यायसेवामा २६ वर्षभन्दा बढी समय बिताएका छन् । न्यायमूर्तिका रूपमा न्यायालय प्रवेशसँगै विवादले पछ्याएको उनलाई प्रधानन्यायाधीशमा नियुक्तिदेखि बहिर्गमनसम्मै छाडेन ।
उनी नेपालको इतिहासमा महाभियोग लागेकै अवस्थामा अवकाश पाउने दोस्रो प्रधानन्यायाधीश बन्दै छन् । यसअघि तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायविरुद्ध पनि महाभियोग लागेको थियो । महाभियोग प्रस्तावमाथि छलफल नहुँदै उनले सेवाबाट अवकाश पाएका थिए ।
१ असोज ०५२ मा महाभियोग प्रस्ताव दर्ता भएकोमा ९ असोजमा उनी सेवानिवृत्त भएका थिए । यद्यपि, उनीउपर राजनीतिक प्रतिशोधका आधारमा महाभियोग दर्ता भएको पूर्वन्यायाधीश दाबी गर्छन् । जबरामाथि भने १ फागुन ०७८ मा प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएको हो । २१ गम्भीर अभियोग लगाउँदै तत्कालीन प्रतिनिधिसभाका ९८ सदस्यले महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।
महाभियोग प्रस्तावमा जबरामाथि विविध आरोप छन् । नियुक्ति हुँदाका बखत सार्वभौम संसद्मा गरेका प्रतिबद्धताविपरीत न्यायाधीशको पदपूर्ति र मुद्दाको फस्र्योट नगरेको, संवैधानिक परिषद् सदस्यका हैसियतमा राज्यका निकायमा भागबन्डा मागेकोजस्ता गम्भीर आरोप उनीमाथि लगाउँदै महाभियोग प्रस्ताव दर्ता भएको थियो । उनका फैसला तथा उनले भिœयाएको विसंगतिविरुद्ध नेपाल बार एसोसिएसनले समेत सय दिनभन्दा लामो आन्दोलन गर्यो ।
०७८ कात्तिकदेखि उनीविरुद्ध विभिन्न चरणका आन्दोलनमा वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल पनि सहभागी थिए । जबराविरुद्धको आन्दोलन लामो समयको असन्तुष्टिको उपज भएको उनको भनाइ छ । जबराविरुद्ध पूर्वन्यायाधीश फोरमले राजीनामा माग्दै विज्ञप्ति निकालेको थियो भने सर्वोच्चका बहालवाला न्यायाधीशहरूले पनि उनलाई बहिर्गमनका लागि आग्रह गरेका थिए ।
न्यायमूर्तिका रूपमा प्रवेश नै विवादास्पद
जबराको नियुक्ति नै विवादास्पद थियो । २८ मंसिर ०१४ मा जन्मिएका जबरा ३ वैशाख ०५३ मा पुनरावेदन अदालत जनकपुरका अतिरिक्त न्यायाधीशमा नियुक्त भएका हुन् । त्यसवेला प्रधानन्यायाधीशको रोलक्रममा थिए सुरेन्द्रप्रसाद सिंह र सिंहपछि जबराका आफ्नै काका त्रिलोकप्रताप राणा थिए ।
तर, सिंहको जन्ममिति विवाद सर्वोच्चमा रिटका रूपमा प्रवेश गर्यो र जबराले वकालतनामा हाले । यो घटना ०५२ को मध्यतिर भएको थियो । तर, इजलासमा जबराले कानुन व्यवसायीको आचारसंहिताविपरीत सिंहकै पक्षमा बहस गरे । रिट तामेलीमा गयो । जबरामाथि आरोप लाग्छ– उनले न्यायाधीश पदका लागि ‘बार्गेनिङ’ गरे । सिंह नै प्रधानन्यायाधीश भएका बखत जबरा अतिरिक्त न्यायाधीशका रूपमा न्यायालयभित्र प्रवेश गरेका थिए ।
यसपछि उनले विशेष अदालतमा छँदा पनि भ्रष्टाचारका ठूला मुद्दामा सफाइ दिए । मुद्दाको तथ्यमै प्रवेश नगरी सफाइ दिएको भन्दै दुईपटक न्यायिक टिप्पणी व्यहोरेका जबराले सर्वोच्चमा प्रवेश पाउलान् र न्यायिक नेतृत्व सम्हाल्लान् भनेर कसैले कल्पना पनि गरेको थिएन । ‘उहाँबारे बार र न्यायाधीशसहित सिंगो न्यायक्षेत्र जानकार छ । उहाँबारे कसैले थप टिप्पणी गर्नैपर्दैन,’ पूर्वन्यायाधीश प्रकाश वस्ती भन्छन् ।
वरिष्ठ अधिवक्ता खरेलका अनुसार बारले यसअघि विश्वनाथ उपाध्यायमाथि लागेको महाभियोगका वेला नरम तरिकाले बचाउ गरेको थियो भने हाल बारले र न्यायाधीशले समेत प्रधानन्यायाधीश जबरालाई बहिष्कार गर्ने अवस्था भयो ।
जबराले कार्यकालको आत्मसमीक्षा गर्नुपर्छ
प्रकाश वस्ती, पूर्वन्यायाधीश
तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायमाथि महाभियोग लाग्दा कानुन व्यवसायीको ठूलो समूह उहाँको पक्षमा थियो । तर, जबराको मुद्दामा सिंगो बार उहाँको विपक्षमा उभियो, सय दिनभन्दा बढी आन्दोलन नै गर्यो । उहाँ आफैँले आफ्नो कार्यकाललाई फर्केर हेर्नुपर्छ, आत्मसमीक्षा गर्नुपर्छ । म कसरी न्यायाधीश भएँ, कसरी सर्वोच्च पुगेँ, के–कस्ता फैसला गरेँ, न्यायपालिकालाई कहाँ पुर्याएँ भनेर आफैँलाई प्रश्न गर्नुपर्छ ।
अवकाश पाए पनि जबराको छानबिन संसद्ले टुंग्याउनुपर्छ
टोपबहादुर सिंह, अध्यक्ष, पूर्वन्यायाधीश फोरम
जबरामाथि एउटा मात्र फैसलाका कारण महाभियोग लागेको होइन । २१ बुँदाका अभियोग छन् । तिनमा फैसला, आचारसंहिता उल्लंघन, न्यायपालिकाभित्रका भ्रष्टाचार, नैतिकता, सम्पत्ति शुद्धीकरण, अनियमितताबारे उल्लेख छ । त्यो दर्ता भएर उहाँ निलम्बनमा गएर, बयान सकिएर, समितिले महाभियोग लगाऊ भनेर सिफारिस गरेको हो । उहाँले अवकाश पाए पनि केही विषयमा छानबिन गर्न सम्बन्धित निकायमा सिफारिस भएको छ । यो विषय टुंग्याउने अब आउने संसद्को जिम्मा हो ।
जबरामा लड्छु, भिड्छु, तर छाड्दिनँ भन्ने अनौठो प्रवृत्ति देखियो
सतिशकृष्ण खरेल, वरिष्ठ अधिवक्ता
मान्छेले जुन हतियार प्रयोग गर्छ, त्यसैको चोट खान्छ । उहाँ (जबरा)को हकमा त्यही भएको हो । उहाँको नियुक्ति नै विवादास्पद छ । बढुवा पनि उत्तिकै शंकास्पद छ । तर, उहाँ कसरी–कसरी देशकै महत्वपूर्ण र न्यायालयको नेतृत्व गर्ने ठाउँमा पुग्नुभयो, यो अपवाद हो । उहाँ अझै पदमा रहे ज्युडिसियल सिस्टम नै करप्ट हुन्छ भन्ने बारलाई लागेको हो । जबरामा लड्छु, भिड्छु, तर छाड्दिनँ भन्ने अनौठो प्रवृत्ति देखियो ।