बिहेघरका बिरामी लिएर स्वास्थ्यचौकी गएको जिप दुर्घटना : एकैघरका पाँचसहित सबै १२ यात्रुको ज्यान गयो

मंगलबार, २७ मंसिर, २०७९
डिजिटल संस्करण

बिहेघरका बिरामी लिएर स्वास्थ्यचौकी जाँदै गरेको जिप जाजरकोटमा दुर्घटना हुँदा एकैघरका पाँचसहित जिपमा रहेका सबै १२ जनाको मृत्यु भएको छ । जाजरकोटको छेडागाड नगरपालिका– ५ भिरपाटीमा सोमबार दिउँसो जिप दुर्घटना भएको हो । 

कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जिप मध्यपहाडी सडकखण्डअन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका ४ र ५ को बीचमा पर्ने भिरपाटीबाट अनियन्त्रित भई दुई सय मिटर तल खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव श्रेष्ठले बताए । घटनास्थलमै नौ र उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा तीनजनाको ज्यान गएको हो । 

छेडागाड नगरपालिकाका सूचना अधिकारी देवबहादुर बुढाका अनुसार मृत्यु भएका पाँचजना एकै परिवारका हुन् । छेडागाड– ५ का जयलाल अधिकारी, साहिँलो भाइ दीपक, दीपककी श्रीमती नैसरा, उनीहरूकी दुई वर्षकी छोरी निशा र जयलालका कान्छा भाइ अम्मरबहादुर छन् । यस्तै, छेडागाड– ५ कै देवीसरा बुढा र जयकुमार बुढा तथा छेडागाड– ६ का वीरबहादुर खत्री र रामबहादुर बुढाको मृत्यु भएको छ । दुर्घटनामादैलेखको भगवतीमाई गाउँपालिका– २ घर भएका सवारीचालक मानबहादुर रावत, भगवतीमाई– ३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्काको पनि ज्यान गएको छ । 

जिप आइतबार दैलेखबाट जन्ती लिएर छेडागाड गएको थियो । विवाह घरमै रहेको जिप दिउँसो एक्कासि बिरामी परेका एकजना लिएर छेडागाड– ६ स्थित स्वास्थ्यचौकीतर्फ गएको थियो । केही तल पुगेपछि बिहे भतेर खाएर फर्किएका नौजना सोही जिपमा चढेका थिए । त्यहाँबाट अघि बढेको जिप करिब तीन सय मिटर अघि मध्यपहाडी लोकमार्गमा पुगेपछि एक्कासि सडकबाट तल खसेको थियो । 

सुझावित समाचार