जाजरकोटमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। छेडागाड नगरपालिका– ५ मा आज दिउँसो भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको हो।
मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका– २ दैलेख घर भएका चालक मानबहादुर रावत, भगवतीमाई–३ का सुरेन्द्र केसी, अम्मरबहादुर खड्का छन्। यस्तै, जाजरकोटको छेडागाड– ५ का जयकुमार बुढा, नैनसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मरबहादुर अधिकारी, २ वर्षीया बालिका निशा अधिकारी छन्।
अम्मर र निशाको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। छेडागाड– ६ का वीरबहादुर खत्री, रामबहादुर बुढाको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
छेडागाड– ४ का वडाध्यक्ष गणेशबहादुर थापाले कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जिप भिरपाटीमा दुर्घटनामा परेको जानकारी दिएका छन्।
विवाह भोजमा सहभागी एक जन्ती बिरामी भएपछि उपचारका लागि स्थानीय थलह बजार लैजाँदै गर्दा जिप दुर्घटनामा परेको थियो।
जिप मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।