मेयरको निर्देशनमा दाङका व्यवसायीमाथि हातपात

सोमबार, २६ मंसिर, २०७९
डिजिटल संस्करण

तुलसीपुरमा जारी महोत्सवको विरोधमा उत्रिएका व्यवसायीमाथि हातपात भएको छ। तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मीनराज भण्डारीमाथि उपमहानगरपालिकाका जनप्रतिनिधिले हातपात गरेका हुन्।

बिहान १० बजेतिर उपमहानगरपालिकाको गेटमा पुगेका व्यापारी र जनप्रतिनिधिबीच जम्काभेट हुँदा हातपातको अवस्था सिर्जना भएको हो। वार्ताका लागि बोलाइएका अगुवा व्यवसायीमाथि तुलसीपुरका मेयर टीकाराम खड्काले गेटमा तैनाथ प्रहरीलाई लाठी ठोक्न निर्देशन दिएपछि उनीहरूमाथि हातपात भएको हो। 
  
तुलसीपुर– १८ का वडाध्यक्ष माधव वलीले छातीमा समातेर लड्न आएको हो भनेर भनेपछि स्थिति तनावपूर्ण बन्न पुग्यो । तुलसीपुर– ११ का वडाध्यक्ष मानबहादुर रावतले पनि त्यसैगरी भिड्ने हिम्मत छ भन्दै केटाहरू ल्याएर आउन चेतावनी दिए।
 
यो विषयमा तुलसीपुर उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। साथै दोषीमाथि कारबाहीको मागसमेत गरेको छ। 

माफी नमाग्दासम्म आन्दोलन फिर्ता नलिने संघका महासचिव विनिल केसीले विज्ञप्तिमार्फत जनाएका छन्। त्यस अवसरमा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विवाद समाधान गर्न पहल थालेको बताए। 

१५ मंसिरमा स्थानीय सरकार, प्रहरी–प्रशासनसहित व्यवसायीबीच मेला सञ्चालन गर्दा त्यहाँ राखिने स्टल वा सामान वाणिज्य संघ र च्याम्बर अफ कमर्सको सिफारिसमा मात्रै राखिने भन्ने कुरा सहमति भएको थियो । तर, सहमति कार्यान्वयन नगरेको भन्दै संघले विरोध जनाएको छ। आइतबारदेखि तुलसीपुरमा महोत्सव जारी छ। 
 

सुझावित समाचार