समानुपातिक सूचीमा पाँच दलको त्रुटि, कसको नाम काटिन्छ ?

सोमबार, २६ मंसिर, २०७९
डिजिटल संस्करण

कांग्रेस, एमाले, माओवादी, जसपा र नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभाको बन्दसूचीबाट नाम छनोटमा त्रुटि गरेका छन् । ती दललाई नाम सच्याएर पेस गर्न आयोगले पत्र लेखेको छ ।

पाँच दलले समानुपातिक प्रणालीतर्फ बन्दसूचीबाट नाम छनोटमा त्रुटि गरेका छन् । ती दललाई नाम सच्याएर पेस गर्न आयोगले आइतबार पत्र लेखेको छ । आयोगको तथ्यांकअनुसार कांग्रेस, एमाले, माओवादी, जसपा र नागरिक उन्मुक्ति पार्टीले नाम छनोटमा त्रुटि गरेका हुन् । यी दलले दुई सय २० सदस्यीय प्रदेश सभाको नाम छनोटमा क्लस्टर नमिलाएको, प्राथमिकता क्रम मिचेकोलगायत त्रुटि भेटिएको समानुपातिक निर्वाचनतर्फका प्रवक्ता गुरु वाग्लेले बताए । दलहरूलाई त्रुटि सच्याउने समय सोमबार अपराह्न ४ बजेसम्म छ । 

एक सय १० सिट भएको प्रतिनिधिसभामा भने दलहरूले छनोट गरेर बुझाएको नामावली पूर्ण रूपमा मिलेकाले सच्याउन नपर्ने आयोगले जनाएको छ । समानुपातिकतर्फ पाएको मतका आधारमा निर्धारण भएको सिट संख्यामा उम्मेदवार निर्वाचित गर्न आयोगले शनिबारसम्म समय दिएर दलहरूबाट प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि नामावली मागेको थियो । अन्य दलले समयभित्रै नाम पठाए पनि कांग्रेसले आइतबार बिहान सवा १ बजे मात्रै बुझाएको थियो । 

कुन दलको के त्रुटि ?

कांग्रेस

कांग्रेसले मधेस प्रदेश सभामा न्यूनतम दुईजना अल्पसंख्यक समुदायको प्रतिनिधित्व गराउनुपर्नेमा चारजनाको गराउन खोजेको र यसका लागि क्लस्टरसमेत मिचेको आयोगले जनाएको छ । ‘अल्पसंख्यक समूहबाट न्यूनतम दुईजनाको नाम सिफारिस हुनुपर्नेमा दलित र मधेसी समूहको क्रमबमोजिम सिफारिस भएका उम्मेदवारबाट नै दुईजनाभन्दा बढी अल्पसंख्यक समूहको प्रतिनिधित्व भइसकेको अवस्थामा मधेसी समूहबाट प्राथमिकता क्रमबमोजिम उम्मेदवार सिफारिस नगरी तल्लो क्रमको उम्मेदवार सिफारिस गरेको देखिएकाले मधेसी समूहको प्राथमिकता क्रम नम्बरबमोजिम माथिल्लो क्रमको उम्मेदवारको नाम सिफारिस हुनुपर्ने,’ आयोगले भनेको छ ।

आयोगका अनुसार कांग्रेसबाट दलिततर्फ नीलमकुमारी रजक (धोबी), मधेसीतर्फ इन्दुकुमारी साह (सुढी) र अञ्जना पण्डित (कम्हार) समावेशी समूह र क्रमअनुसार स्वतः अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गरिसकेका छन् । तर, कांग्रेसले मधेसी पुरुषको दोस्रो क्रम संख्यामा रहेका राकेशकुमार सिंह (राजपुत)लाई अल्पसंख्यक भन्दै प्राथमिकता क्रम मिचेर सूचीमा समावेश गरेको छ । समावेशी समूह र क्रमअनुसार नै अल्पसंख्यक प्रतिनिधित्व भइसकेकाले कांग्रेसले राकेश कुमारको नाम हटाएर मधेसी पुरुषतर्फ एक नम्बरमा रहेका कुमरकान्त झाको नाम समावेश गर्नुपर्छ । 

एमाले

एमालेले बुझाएको नामावलीमा दुई प्रदेशमा त्रुटि पाइएको छ । प्रदेश १ मा एमालेले तीन अल्संख्यक उम्मेदवार छनोटमा त्रुटि गरेको हो । तीनैजना अल्पसंख्यक आदिवासी जनजाति समूहबाट छनोट गरेको एमालेले रोल क्रम मिचेको छ । आदिवासीबाट पुरुषतर्फ अल्पसंख्यकको पहिलो नम्बरमै रहेको नम्बरलाल धिमालको नाम सिफारिस गरेको एमालेले महिलातर्फ भने दोस्रोलाई पन्छाएर तेस्रो उम्मेदवार राखेपछि आयोगले सच्याउन भनेको हो । 

एमालेले आदिवासी महिलातर्फ अल्पसंख्यकको पहिलो नम्बरमा रहेकी सिर्जना दनुवारको नाम राखेको छ । तर, २ नम्बरमा रहेकी यशोदा कायस्थको ठाउँमा तीन नम्बरमा रहेकी लहरूमाया जिसी (याक्खा)को नाम समानुपातिक सांसदमा सिफारिस गरेको छ । आयोगका अनुसार प्राथमिकता क्रम मिचेर त्रुटि गरेकाले एमालेले जिसीको नाम हटाएर बन्दसूचीको माथिल्लो क्रममा रहेकी कायस्थको राख्नुपर्नेछ । 

आयोगका अनुसार मधेस प्रदेशमा एमालेले अल्पसंख्यक कोटा र क्लस्टर प्राथमिकता क्रम मिचेको छ । मधेसमा समानुपातिकबाट एमालेले दुई अल्पसंख्यकको नाम सिफारिस गर्नुपर्छ । आयोगमा बुझाएको बन्दसूचीअनुसार एमालेले मधेसीतर्फ अल्पसंख्यकमा विनादेवी शर्मा (मारवाडी)को नाम मात्र सिफारिस गरेको छ । साथै, शर्माभन्दा तल रहेकी शिला यादवको नाम सिफारिस गरेको छ । मधेसी प्राथमिकता क्रमअनुसार शिलाको नाम मिले पनि अल्पसंख्यक दुईजना पु¥याउन एमालेले मधेसी महिलाको अल्पसंख्यकको दोस्रो नम्बरमा रहेकी राजपतीदेवी जैसवाल (मारवाडी)को नाम सिफारिस गर्नुपर्छ । 

अर्थात् आठ सिटमा एक दलित छान्नुपर्ने एमालेले अहिले महिला छानेको पलेटीदेवी महराको ठाउँमा अल्पसंख्यकसमेत रहेका दलित पुरुष हरिन्दर हजरा दुसादलाई सिफारिस गर्नुपर्छ । यसो गर्दा अर्काे क्लस्टरबाट एकजना महिला थप्नुपर्छ । 

मधेस प्रदेशमै एमालेले मुस्लिम क्लस्टरमा प्राथमिकता क्रम मिचेको छ । मुस्लिम महिलाको एक नम्बरमा रहेकी जैनव खातुनको नाम काटेर दुई नम्बरमा रहेकी नजिमा खातुनको नाम राखेको छ । जैनवलाई एमालेको शनिबार बसेको केन्द्रीय समितिले चुनावमा अन्तर्घात गरेको भन्दै अनुशासनको कारबाही गरी पार्टीबाट निष्कासनसमेत गरिसकेको छ । प्रभु साहनिकट जैनवलाई कारबाही गरेर बन्दसूचीबाट दोस्रो नम्बरको नाजिमालाई पठाए पनि निर्वाचन कानुनअनुसार निर्वाचन परिणाम नआएसम्म बन्दसूची हेरफेर गर्न पाइँदैन । त्यसैले आयोगले जैनवकै नाम सिफारिस गर्न एमालेलाई भनेको हो । बन्दसूचीअनुसार जैनव समानुपातिक सांसद निर्वाचित भइसकेपछि एमालेले सांसद पद खोस्न सक्छ । त्यसपछि मात्रै रोल क्रममा दोस्रो नम्बरमा रहेकी नाजिमाको पालो आउनेछ । 

माओवादी

माओवादीले आयोगमा बुझाएको नाममा दुइटा प्रदेशमा त्रुटि देखिएको भन्दै आयोगले सच्याउन पत्राचार गरेको छ । बागमती प्रदेशमा माओवादीले अल्पसंख्यक उम्मेदवार वृद्धि गर्ने नाममा प्राथमिकता क्रम मिचेको छ । सिट बाँडफाँडअनुसार माओवादीले एकजना मात्र अल्पसंख्यक प्रतिनिधित्व गराउनुपर्छ । आदिवासी जनजाति क्लस्टरबाट तीनजना महिला छान्दा अल्पंख्यक सुष्पा भुजेल पनि सिफारिस भएकी छिन् । बन्दसूचीमा एक नम्बरमा उर्मिलाकुमारी लामा, दुई नम्बरमा भुवनकेशरी श्रेष्ठ र तीन नम्बरमा भुजेल छन् । तर, माओवादीले दुई नम्बरमा रहेकी भुवनकेशरीको ठाउँमा कोटा नै नभएको अल्पसंख्यक बढाउने भनेर सात नम्बरमा रहेकी डोल्मा थामीको नाम सिफारिस गरेको छ । आयोगका अनुसार माओवादीले थामीको ठाउँमा भुवनकेशरीको नाम सिफारिस गर्नुपर्छ । 

लुम्बिनी प्रदेशमा पनि माओवादीले प्राथमिकता क्रम मिचेको छ । खस–आर्यको एकजना पठाउनुपर्ने माओवादीले प्राथमिकता क्रमअनुसार पहिलो नम्बरको उम्मेदवार निमकान्त पाण्डेको नाम पठाउनुपर्नेमा दुई नम्बरमा रहेका भक्तिप्रसाद आचार्यको नाम पठाएको छ । अब माओवादीले आचार्यको ठाउँमा पाण्डेको नाम पठाउनुपर्नेछ । 

जसपा 

जनता समाजवादी पार्टीले मधेस प्रदेशमा प्राप्त गरेको सात सिटमा १० जना उम्मेदवारको नाम सिफारिस गरेको छ । तीनजनाको नाम बढी आएकाले आयोगले सच्याउन भनेको छ । 

दुई अल्पसंख्यकसमेत कम्तीमा ६ महिला प्रतिनिधित्व गराउनुपर्ने जसपाले आदिवासी जनजातिमा एक, दलितमा एक, मधेसी चार र मुस्लिम एकजना छनोट गर्नुपर्ने आयोगको हिसाब थियो । तर, जसपाले जनजातिबाट ममता मण्डल, दलितबाट चन्देश्वर सदा (पुरुष) र ललिता दास (महिला), मुस्लिममा मो. युसुफ अली (पुरुष), सायदा खातुन (महिला), मधेसीमा मनीष सुमन, विन्दुकुमारी यादव, किरणकुमारी साह, शोभादेवी र मञ्जिलाकुमारी यादवको नाम सिफारिस गरेको छ । 
यीमध्ये दुई पुरुष र एक महिलाको नाम जसपाले हटाउनुपर्नेछ । दुई अल्पसंख्यकसहित ६ महिला प्रतिनिधित्व हुने गरी सातजनाको नाम छानेर पठाउनुपर्नेछ ।

उन्मुक्ति पार्टी 

नागरिक उन्मुक्ति पार्टीले तीनवटा प्रदेशमा त्रुटि गरेको छ । मधेस प्रदेश सभामा महिला पठाउनुपर्नेमा पुरुष पठाएकाले आयोगले सच्याएर ल्याउन भनेको छ । मधेसी समूहको महिला एक नम्बरमा उर्मिलादेवी सिंहको नाम छ । तर, उन्मुक्ति पार्टीले पुरुषतर्फ एक नम्बरमा रहेका रामचन्द्र चौधरीको नाम सिफारिस गरेको छ । आयोगले चौधरीको ठाउँमा सिंहको नाम सिफारिस गर्न भनेको हो । 

लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले खस–आर्यबाट सिफारिस गर्नुपर्ने नाम थारू क्लस्टरबाट पठाएको छ । आयोगका अनुसार थारूबाट नोरीकुमारी चौधरीलाई सिफारिस गरेको छ । अब उसले खस–आर्यबाट एक नम्बरमा रहेकी नरमाया ढकाललाई सिफारिस गर्नुपर्छ । 

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले खस–आर्यबाट दुईजना महिलाको नाम पठाउनुपर्नेमा खस–आर्यबाट पुरुष दामोदर पण्डित र थारूबाट महिला सुनिता चौधरीको नाम सिफारिस गरेको छ । अब बन्दसूचीअनुसार खस–आर्यको शीर्ष स्थानमा रहेका दुई महिला टीका थापा र इन्दिरा गिरीको नाम पठाउनुपर्छ ।
 

सुझावित समाचार