फिन इलेक्ट्रो टेकमा ट्रान्सवेल्डको ट्रान्सफर्मर प्रदर्शनीमा

आइतबार, २५ मंसिर, २०७९
डिजिटल संस्करण

ट्रान्सवेल्डका २५ केभिएदेखि दुई हजार केभिए क्षमतासम्मको ट्रान्सफर्मर, गुणस्तरमा प्राथमिकता

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘फिन इलेक्ट्रोे टेक’ मेलामा ट्रान्सवेल्ड ट्रान्सफर्मर कम्पनीले पनि आफ्नो उत्पादन प्रदर्शनीमा रोखेको छ । गत २२ मंसिरबाट जारी मेलामा कम्पनीले विभिन्न क्षमताका ट्रान्सफर्मर प्रदर्शनीमा राखेको हो । 

विशेष गरी आफ्ना ग्राहकसँग प्रत्यक्ष कुराकानी गर्न, प्रडक्टबारे जानकारी दिनेलगायत उद्देश्यसहित ट्रान्सफर्मर प्रदर्शनीमा राखेको कम्पनीका प्रबन्ध निर्देशक अमुल श्रेष्ठले बताए । 

‘यसअघि विभिन्न माध्यमबाट ग्राहकले हाम्रो उत्पादन प्रयोग गरिरहेका थिए । तर, उनीहरूसँग हाम्रो प्रत्यक्ष कुराकानी गर्ने मौका मिलेको थिएन,’ उनले भने, ‘अहिले ग्राहकसँग प्रत्यक्ष कुराकानी गर्ने, उनीहरूको सल्लाह–सुझाव लिने वातावरण बनेको छ । सोही उद्देश्यसहित नै हामीले मेलामा स्टल राखेका हौँ । यहाँबाट हाम्रो उत्पादनको बिक्री–वितरण हुँदैन । विशुद्ध रूपमा हाम्रो उत्पादनबारे जानकारी दिने तथा ग्राहकका सुझाव सुन्ने काम गरेका छौँ ।’ मेला आइतबारसम्म चल्नेछ ।  

ट्रान्सवेल्ड स्वदेशी ट्रान्सफर्मर उद्योग हो । यसले भारतलगायतका देशबाट कच्चा पदार्थ आयात गरेर नेपालमै ट्रान्सफर्मर उत्पादन गर्दै आएको छ । १९९५ मा स्थापना भएको यस कम्पनीले हालसम्म १० हजारभन्दा बढी ट्रान्सफर्मर बनाइसकेको छ । 

यस कम्पनीले २५ केभिएदेखि दुई हजार केभिए क्षमतासम्मको ट्रान्सफर्मर  बनाउँछ । मूल्यका आधारमा दुई लाख ५० हजार रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मका ट्रान्सफर्मर यस कम्पनीमा रहेका छन् । नेपाली बजारमा सबैभन्दा बढी हिस्सा ओगट्नेमध्ये यो पनि एक ट्रान्सफर्मर कम्पनी हो । विद्युत् सेवा विस्तार हुने औद्योगिक क्षेत्र, जलविद्युत् आयोजना, लघु जलविद्युत् आयोजना, होटेल, हस्पिटल, विद्यालयलगायतका ठाउँमा यसको प्रयोग हुन्छ । 

कम्पनीका प्रबन्ध निर्देशक श्रेष्ठले आफूहरूले बनाउने गरेको ट्रान्सफर्मर गुणस्तरीय हुने बताए । ‘नेपालमा विदेशी मुलुकबाट पनि ट्रान्सफर्मर ल्याएर बिक्री–वितरण भइरहेका छन्, उनीहरू हाम्रो भन्दा सस्तो पनि छन्,’ उनले भने, ‘तर, गुणस्तरमा हामी नै अघि छौँ । तसर्थ, गुणस्तरीय ट्रान्सफर्मर प्रयोग गर्ने मामलामा मूल्यलाई आधार नबनाउन म आमग्राहकमा अनुरोध गर्दछु ।’ साथै, ग्राहकले नेपाली उत्पादन प्रयोग गरेर नेपाली उद्योगलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । 

सुझावित समाचार