बालबाटिकामा विज्ञान प्रदर्शनी

शनिबार, २४ मंसिर, २०७९
डिजिटल संस्करण

पेप्सिकोलास्थित बालबाटिका स्कुलले विज्ञान प्रदर्शनी आयोजना गरेको छ। बिहान ११ बजेदेखि विद्यालय परिसरभित्र सुरु भएको प्रदर्शनी २ बजेसम्म चलेको थियो।

विद्यालयले विद्यार्थीहरूलाई विज्ञानसम्बन्धी गतिविधिमा सहभागी गराउन वार्षिक रूपमा प्रदर्शनी आयोजना गर्ने गरेको प्रधानाध्यापक रोशन सिंहले बताए। यसबाट विद्यार्थीलाई पढाइमा रुचि जाग्ने र अभिभावकले पनि बालबालिकाको सिकाइ नियाल्न पाउने भएकाले यस्ता गतिविधिलाई प्राथमिकता दिने गरिएको उनको भनाइ छ।

उनले भने, ‘कक्षाकोठा बाहिर पनि विद्यार्थीले थुप्रै सिक्छन्। कोठाभित्रै सीमित गराउनुभन्दा विज्ञानका विषय अभ्यास गराउँदा उनीहरूले बुझ्छन् भनेर हामीले यस्ता आयोजना गर्दै आएका छौँ।’ प्रदर्शनीमा कक्षा १ देखि १० सम्मका बालबालिका सहभागी थिए। बालबालिकाहरूले गरेको पेन्टिङ पनि प्रदर्शनीमा राखिएको थियो।

विद्यार्थीहरूले रंगको समिश्रणबाट बन्ने विभिन्न रंग, ब्रह्माण्डमा रहेका ग्रहहरू, ब्याट्रीबाट उत्पादित विद्युतको प्रयोग, प्रकाश र सिसाको प्रयोगले बनाइएको क्यामेरा आदि प्रदर्शनीमा राखेका थिए।

सुझावित समाचार