ग्वार्काे फ्लाई ओभरको निर्माण सुरु १४ महिनाभित्र सक्ने लक्ष्य

शनिबार, २४ मंसिर, २०७९
डिजिटल संस्करण
ग्वार्काे फ्लाई ओभरको निर्माण सुरु १४ महिनाभित्र सक्ने लक्ष्य

फ्लाई ओभर निर्माणका लागि गाडीहरू सर्भिस लेनबाट मात्र चलाउने व्यवस्था गर्दा भएको सवारी जाम । तस्बिर : संजित परियार/नयाँ पत्रिका

काठमाडौं उपत्यकाको भित्री चक्रपथको ग्वार्काे चोकमा फ्लाई ओभर (ओभर पास) बनाउन सुरु गरिएको छ । आयोजनाको ठेक्का प्राप्त आरसी, समानान्तर र रेलिग्रेले शुक्रबार साँझदेखि निर्माणको काम सुरु गरेका हुन् ।

पहिलो चरणमा निर्माण पूर्वतयारीको काम सुरु गरिएको हो । पूर्वतयारीको काम सम्पन्न गरेर एक महिनामा कोर फ्लाई ओभरको संरचना बनाउन सुरु गर्ने लक्ष्य लिइएको छ । सोहीअनुसार शुक्रबार ट्राफिक व्यवस्थापन तथा डाइभर्सन बनाउने काम सुरु भएको छ । आठ लेनको उक्त सडकखण्डमा बीचको चार लेन सडकमा फ्लाई ओभर बनाइनेछ । त्यसकारण निर्माण अवधिमा ग्वार्काे खण्डमा बीचको चार लेन पूर्ण रूपमा बन्द गर्नुपर्छ । त्यसका लागि त्यस क्षेत्रका सवारीसाधनले सर्भिस लेन प्रयोग गर्नुपर्नेछ ।  

सोहीअनुसार शुक्रबार ग्वार्काे खण्डमा मेन लेन र सर्भिस लेनबीचको १५–१५ मिटर (दुवैतर्फ) फुटपाथ भत्काइएको छ । योसँगै अब मेन लेनबाट सर्भिस लेनमा सवारी प्रवेश गर्न सक्ने छन् । साथै, ट्राफिक ड्राइभर्सनको सूचनासमेत टाँसिएको छ । योसँगै अब बीचको चार लेन सडक पूर्ण रूपमा बन्द हुनेछ । 

यस्तै, अब निर्माण क्षेत्रमा क्याम्प बनाउने, बार लगाउनेलगायतका पूर्वतयारीका काम गरिनेछ । त्यसपछि कोर फ्लाई ओभरको संरचना बनाउने काम सुरु हुनेछ । भौतिक निर्माणको काम सुरु गर्न झन्डै एक महिना समय लाग्ने सडक विभागका निर्देशक रवीन्द्रनाथ श्रेष्ठले बताए । निर्माण कार्य बालकुमारी साइटबाट सुरु भएको उनको भनाइ छ । ट्राफिक व्यवस्थापनलाई लक्षित गरेर तयारीको काम रातको समयमा गरिने उनले बताए । 

सडक विभागले ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यसहित चक्रपथको ग्वार्काे, एकान्तकुना र सातदोबाटो चोकमा फ्लाई ओभर बनाउने योजना अघि बढाएको थियो । त्यसैको पहिलो चरणका रूपमा ग्वार्काे चोकको फ्लाई ओभर निर्माण गर्न लागिएको हो । नेपालको सडक सञ्जालमा बन्न लागेको यो पहिलो फ्लाई ओभर पुल हो । यद्यपि, नागढुंगा सुरुङमार्गमा पनि एक फ्लाई ओभर निर्माण हुनेछ । तर, त्यसको अझै निर्माण सुरु भएको छैन ।

सडक विभागले निर्माण कम्पनीसँग दुई वर्षको अवधिसहित ठेक्का सम्झौता गरेको छ । त्यसमा डिजाइन बनाउँदा ९–१० महिना बितिसकेको छ । अब बाँकी रहेको १४ महिनामै निर्माण सम्पन गर्ने लक्ष्य लिइएको छ । 

यस्तो हुनेछ फ्लाई ओभर 
फ्लाई ओभरको कुल लम्बाइ चार सय ९० मिटर हुनेछ । त्यसमा बालकुमारी तर्फबाट दुई सय ८० मिटर लामो र्‍याम र सातदोबाटोतर्फबाट एक सय ७५ मिटर लम्बाइको र्‍याम बनाइनेछ ।  बीचको सुपर स्ट्रक्चरको लम्बाइ भने ३५ मिटर लामो हुनेछ । फ्लाई ओभरको उचाइ भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार ६ मिटर हुने बताइएको छ ।

हाल चक्रपथमा आठ लेनको सडक रहेको छ । त्यसमा बीचको चार लेनको सडकलाई फ्लाई ओभरमार्फत माथि उठाइनेछ, जसमा चक्रपथमै आवतजावत गर्ने सवारीसाधन चल्नेछन् । मंगलबजार–इमाडोल–मंगलबजार आवतजावत गर्ने सवारीसाधन भने फ्लाई ओभरमुनिबाट जानुपर्नेछ । 

१७ करोड ६ लाख लगानी
यो फ्लाई ओभर नेपाल सरकारकै लगानीमा बन्नेछ । त्यसमा १७ करोड ६ लाख रुपैयाँ लगानी लाग्नेछ । सोही रकममै निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको विभागको भनाइ छ । 

विभागले इपिसी (इन्जिनियरिङ प्रोक्युअमन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा उक्त आयोजना बनाउने गरी साउन ०७८ मा टेन्डर आह्वान गरेको थियो । त्यसपछि माघ ०७८ मा आरसी, समानान्तर र रेलिग्रे जेभी त्यसमा छनोट भएका थिए । त्यसलगत्तै ठेक्का सम्झौता गरेर निर्माण कम्पनीहरूले फागुन ०७८ देखि आयोजनाको डिजाइन बनाउन सुरु गरेका थिए ।

शुक्रबार दिनभर ट्राफिक जाम

निर्माण कार्य सुरु गर्ने भएपछि ट्राफिक प्रहरीले शुक्रबार बिहानैदेखि बीचको चार लेनमा सवारीसाधन प्रवेश गर्न निषेध गरेको थियो । फलस्वरूप शुक्रबार दिनभर नै ग्वार्काेमा ट्राफिक जाम भएको थियो । साथै, निर्माण अवधिभर ग्वार्काे र आसपासका क्षेत्रमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुने बताइएको छ । 

यसरी गरिँदै छ ट्राफिक व्यवस्थापन
फ्लाई ओभरको निर्माण अवधिभर कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपांग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपांग्रे सवारीसाधनलाई फास्ट ट्र्याकबाट चलाइनेछ । कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारीसाधनलाई भने ग्वार्काे चोकभन्दा ६ सय मिटरअगाडि र पछाडि सर्भिस लेनबाट सञ्चालन गरिनेछ । बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने सवारीसाधनलाई सर्भिस लेनमा र साना चारपांग्रे गाडीलाई फास्ट ट्र्याकबाट सञ्चालन गरिनेछ ।

सुझावित समाचार