फिन इलेक्ट्रो टेक– २०२२ सुरु, ऊर्जामा ढुक्क भएर लगानी गर्नुस् : अर्थमन्त्री

शुक्रबार, २३ मंसिर, २०७९
डिजिटल संस्करण

नेपाल सरकारका अर्थमन्त्री जर्नादन शर्माले ऊर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । काठमाडौंमा सुरु भएको फिन इलेक्ट्रो टेक– २०२२ मेलालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले ऊर्जा क्षेत्रमा समस्या समाधान गर्न सरकार सकारात्मक भएको बताएका हुन् । 

यस्तै, लामो समयदेखि रोकिएको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) खुलाउन पहल गर्ने प्रतिबद्धता पनि उनले गरे । ‘मन्त्रिपरिषद्बाट निश्चित कोटामा पिपिए खुलाउने निर्णय भइसकेको हो । तर, बिजुली बिक्री हुँदैन भनेर नेपाल विद्युत् प्राधिकरणले पिपिए रोक्नु गलत छ,’ उनले भने, ‘नेपाललाई बिजुली पुगेकै छैन । पिपिए किन रोक्नुप¥यो ? म तत्काल पिपिए खुलाउन सम्बन्धित निकायलाई अनुरोध गर्दछु ।’

यस्तै, व्यवसायीहरू सडकमा नभएर व्यवसायमा लाग्नुपर्ने उनको भनाइ छ । पछिल्लोपटक ब्याजदर, आयात प्रतिबन्धलगायतका विषयमा व्यवसायहरूले गरेको आन्दोलनलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन् । ‘हामी निजी क्षेत्रका समस्याहरू समाधान गर्न सकारात्मक छौँ । केही माग त सम्बोधन पनि भइसकेका छन्,’ उनले भने, ‘तसर्थ, व्यवसायीहरू सडकमा आउन आवश्यक छैन । तपाईंहरू व्यवसायमै लाग्नुस् र उत्पादन बढाउन अग्रसर हुनुस् । निजी क्षेत्रको माग र अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार अग्रसर भइसकेको छ । निराशा जगाउने खालका गतिविधि नगर्नुस् ।’ 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले तत्काल पिपिए खुलाउनुपर्ने बताए । पिपिए बन्द हुँदा निजी क्षेत्रको खर्बाैँ लगानी अलपत्र परेको उनको भनाइ थियो । ‘बाहिर सुन्नमा आएअनुसार मन्त्रिपरिषद्ले पहिले नै १५ सय मेगावाटको पिपिए खुलाउने निर्णय गरेको थियो रे ! तर, नेपाल विद्युत् प्राधिकरणले अहिलेसम्म पिपिए खुलाएको छैन,’ उनले भने, ‘सरकारले अझै विद्युत् क्षेत्रलाई प्राथमिकतामा राखेको देखिएन । निरुत्साहित नै गरेको देखियो । अझै पनि पिपिए नखुलाउने हो भने विगतमा जस्तो लोडसेडिङको समस्या आउन सक्छ । तसर्थ, तत्काल पिपिए खुलाउन सम्बन्धित निकायलाई अनुरोध गर्दछु ।’

नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको दसौँ सस्करणको यो मेला २५ मंसिरसम्म चल्नेछ । ‘नेपालको समृद्धि ऊर्जा खपतमा अभिवृद्धि’ भन्ने नारासहित आयोजना गरिएको मेलामा झन्डै ६० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ । 
ऊर्जा उत्पादन यन्त्र, ट्रान्समिसन तथा डिस्ट्रब्युसन सामग्री, हाउस वायरिङ सामग्री, वायर, लाइटिङ, इलेक्ट्रोनिक उपकरणलगायतका सामग्रीहरू प्रदर्शनमा छन् । प्रदर्शनीमा ७५ वटा प्याभिलियन स्टलहरू राखिएको छ । विद्युत् तथा विद्युतीय सामग्रीको व्यवसाय विकाससँगै यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धनका लागि मेला आयोजना गरेको महासंघका अध्यक्ष सुदर्शनप्रसाद पौड्यालले बताए । 

 पहिलो दिन झन्डै ११ हजारले गरे अवलोकन 
मेलाको प्रदर्शनीको पहिलो दिनमा १० हजार सात सय ७० जनाले अवलोकन गरेका छन् । चार दिनसम्म चल्ने प्रदर्शनीमा करिब ६० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलाको टाइटल स्पोन्सर राठी स्विच एन्ड केबल (अन्नपूर्ण ग्लोबल इम्पेक्स प्रालि) रहेको छ । प्लाटिनियम स्पोन्सरमा महालक्ष्मी केबल, डायमन्ड स्पोन्सरमा ग्रेटह्वाइट, गोल्ड स्पोन्सरमा इलेक्ट्रा इलेक्ट्रिक, जानकी केबल, लिसा स्विच र ट्रान्सवेल्ड ट्रान्सफर्मर रहेका छन् ।

सुझावित समाचार