ट्राफिक चेकिङका क्रममा ५४२ चालक कारबाहीमा

शुक्रबार, २३ मंसिर, २०७९
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा बिहीबार गरिएको विशेष चेकिङका क्रममा पाँच सय ४२ जना सवारीचालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।  सडकमा पानी चुहाएर ट्यांकर चलाउँदै गरेका चारजना, कागजपत्र साथमा नराखी सवारी चलाउने नाैजना र अन्य ट्राफिक नियम उल्लंघन गर्ने १४ जना गरी २६ जना पानीट्यांकरका चालक कारबाहीमा परेका छन् ।

यसको साथै बम्पर गार्ड नहटाउने २१ जना र अन्य कसुरमा चार सय ९५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । चेकिङकै क्रममा ठूलो आवाज निकाल्ने तीनवटा र कागजपत्र साथमा नभएका १० वटा गरी १३ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।    

काठमाडौं उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण गर्न र सहज तथा सुरक्षित तवरले सवारी आवागमन गराउन ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए ।

सुझावित समाचार