अगाडि खाल्डो पछाडि धाप

शुक्रबार, २३ मंसिर, २०७९
डिजिटल संस्करण

आगे अन्यथा कुनै दैवी चमत्कार वा राजनीतिक भवितव्य नपरेमा नेपाली कांग्रेसका सभापति तथा गठबन्धनका प्रधानमन्त्री शेरबहादुर देउवा, आगामी केही दिनमा कुनै बिघ्नबाधाको सामना नगरी गणतन्त्र नेपालका प्रधानमन्त्री बन्नेछन् । यससँगै उनले छैटौँपटक प्रधानमन्त्री बनेको पगरी गुथ्नेछन् । यो उनको ‘पुरुषार्थ’ र ‘भाग्य’ दुवैको संयोग हो । नेपालको राजनीतिमा ‘भाग्य–जोग्य’को खेलको महत्व निकै बढी हुन्छ । त्यसो नहुँदो हो त शेरबहादुर ‘निरन्तर’ प्रधानमन्त्री भइरहने थिएनन् ।

 शेरबहादुर देउवा ‘पटक–पटक’ प्रधानमन्त्री हुने भविष्यवाणी ज्योतिष पण्डित अंगीरश न्यौपानेले गरेका हुन् । अंगीरश आफ्नो समयका लोकप्रिय राजनीतिक ज्योतिष थिए । तर, अंगीरशभन्दा ठूला ज्योतिष शेरबहादुर देउवा आफैँ थिए । उनले हिन्दू पद्धतिका भृगुसंहिता र रावणसंहिता पढेका थिए । ‘लाल किताब’ पनि उनको ज्योतिष ज्ञानको स्रोत थियो । पश्चिमी संसारका ज्योतिष हस्तरेखाविद् कीरो र चीना–टिप्पणी हेर्ने ज्योतिष लिन्डा गुडम्यानबाट उनी प्रभावित व्यक्ति हुन् । उनले आफैँले ज्योतिष पद्धतिअनुसार समयको गणना गरेर आफू सातपटक प्रधानमन्त्री हुने ठम्याएका हुन् । उनका सहयोगीहरूका अनुसार देउवा यो कुरामा विश्वस्त छन् । 

मृत्युपछि कुनै पनि मानिसको चरित्रको चर्चा गर्नु मानवीय मानिँदैन । तर, इतिहासको गर्भमा पुगेको तथ्यको खोजी नगर्ने हो भने देश कहिल्यै उँभो लाग्दैन । गिरिजाप्रसाद कोइराला एउटा त्यस्तै व्यक्तित्व थिए जो सधैँ जित्न चाहन्थे । उनले आफ्नो राजनीतिक जितका लागि संसदीय प्रजातन्त्र स्थापनापछिको पहिलो संसदीय चुनावमा नेपाली कांग्रेसका तत्कालीन सभापति तथा सन्त नेता कृष्णप्रसाद भट्टराईको पराजयका लागि काम गरे ।

०५६ सालको संसदीय चुनावका समयमा कांग्रेसको हालत सर्वाधिक दयनीय थियो । कांग्रेस सभापति रहेका कोइरालाले सन्त नेता भट्टराईसँग चुनावको नेतृत्व गरिदिन आग्रह र अनुनय–विनय गरे । राजनीतिबाट झन्डैझन्डै अलगथलग बसेका सन्त नेता भट्टराईको आत्मा कचल्टिएको थियो । जीवनभर जनताको अधिकारका लागि संघर्ष गरेका यी सन्त नेतामा एकपटक जनमतबाट अनुमोदित भएर संसद्मा प्रवेश गर्ने तृष्णा थियो ।

उनले चुनावको नेतृत्व आफ्नो हातमा लिए । कांग्रेसले उनकै नेतृत्वमा चुनाव लड्यो । भट्टराईको इच्छा पूरा भयो । उनी काठमाडौं र वीरगन्जबाट विजयी भए । कांग्रेसले बहुमत ल्यायो । र, उनकै नेतृत्वमा कांग्रेसले सरकार बनायो । निर्वाचित प्रधानमन्त्रीको लहरमा उनको नाम अमर भयो । यो नेपाली राजनीतिको अर्कै पाटो हो कि सभापति कोइरालाले उनलाई नौ महिना पनि सरकार चलाउन दिएनन् । त्यसपछिका घटनाक्रम यहाँ दोहोर्याइरहनु जरुरी छैन ।

यसमा कुनै आशंका छैन :  शेरबहादुर देउवा नेपालमा प्रजातन्त्रको लडाइँ लड्ने हजारौँ महासेनानीमध्येका एक हुन् । प्रजातन्त्रको लय नै बस्न नसकेको सुदूरपश्चिमको डडेल्धुरामा जन्मिएका देउवाले देशमा प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गरेका छन् । प्रजातन्त्रका नाममा यातना भोगेका छन् । जेल गएका छन् । आफूलाई राजनीतिमा स्थापित गर्ने क्रममा आफूले प्रतिद्वन्द्वी ठानेका साथी, सहकर्मी र सहयोगीलाई क्रमबद्ध ढंगले राजनीतिबाट पन्छाएका छन् ।

गठबन्धनका नेताहरूको अगाडि डरलाग्दो खाल्डो छ भने पछाडि धाप छ । जान त जाने । तर, कता जाने ? देशमा डरलाग्दो अन्योल सुरु भएको छ ।
 

कुनै वेला डिल्लीबजारको ओरालोमा रहेको किम्ची रेष्टुराँमा सँगै साँझको खाजा खाने उनका साथीहरू थिए विपिन कोइराला र शिवबहादुर खड्का । तीलगायत आफ्ना कतिपय समकालीन साथीलाई किनारामा पन्छाएर कांग्रेस राजनीतिमा अगाडि बढेका हुन् अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा । कुनै वेला नेपाली कांग्रेसकी युवा नेतृ शैलजा आचार्यको आदर्श र प्रजातन्त्रप्रतिको समर्पण भावसँग जोडिएका थिए शेरबहादुर देउवा । रामचन्द्र पौडेल, शैलजा आचार्य र शेरबहादुर देउवाको एउटा अनौपचारिक गुट नै खुलेको थियो– ‘रासस’ । यो गुटको लक्ष्य थियो कांग्रेसमा पुरानो नेतृत्वको विस्थापन र नयाँ नेतृत्वको स्थापना । 

तर, यो गुटको प्रेरणापुञ्जकी रूपमा रहेकी शैलजा आचार्यको शेरबहादुर देउवाकै अगाडि जति भयंकर अपमान भयो त्यो कांग्रेसको इतिहासमा लागेको नराम्रो कलंक थियो । शैलजाको प्रतिष्ठा जोगाउन ‘रासस’का अर्का नेता रामचन्द्र पौडेलले पनि हस्तक्षेप गरेनन् । पौडेल अहिलेसम्म आफू प्रधानमन्त्री नभएकाले देशको विकास नभएको लल्लरी गाउँदै छन् । रासस गुटका कान्छा नेता शेरबहादुर देउवा अब छैटौँपटक प्रधानमन्त्री हुँदै छन् । अबको समयमा राजनीतिक रूपले चतुर र विभिन्न जुक्ति जान्ने किस्मति व्यक्तित्वका रूपमा उनलाई चिनिनेछ ।

शेरबहादुर देउवाको भाग्यदीप यसपटक फेरि चम्किएको छ । यसमा कुनै शंका छैन । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले चुनावमा गतिलै परिणाम ल्याएको हल्ला चलेको छ । तर, यो संख्या कांग्रेस पार्टीको राजनीतिक हैसियतअनुसारको छैन । यो कुरा स्पष्ट भइसकेको छ : गठबन्धनका सबै सदस्य दलहरूले परस्परमा अन्तर्घात गरेका छन् । कांग्रेस पार्टीभित्र विरोध भए पनि चुनाव परिणामले देउवाको अपरिहार्यता साबित गरेको छ । प्रधानमन्त्री देउवाको विरोध गर्नासाथ रातारात नायक बनिने भ्रम पालेका कांग्रेसीहरूको स्वतन्त्र पार्टीका संगठकहरूसँग गोप्य ढंगले भएको ‘राष्ट्रिय मेलमिलाप’ कांग्रेसभित्र भएको अन्तर्घातको नमुना हो । 

कांग्रेसभित्र प्रधानमन्त्रीका आकांक्षी वरिष्ठतम नेता रामचन्द्र पौडेल, कोइराला कुलका सदस्यहरू शेखर कोइराला र शशांक कोइराला, युवावर्गका ‘आइकन’ गगन थापा र अन्य कतिपय प्रतिभाशाली प्रत्याशी नभएका होइनन् । तर, गठबन्धनका सदस्य दलका नेताहरूको शेरबहादुर देउवासँग नाइटो जोडिएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादीका माधव नेपाल देउवासँग काम गर्न सहज मान्छन् । देउवा गठबन्धनका लागि सजिला छन् । उनलाई सरकार चलाउनु छ । अरू केही गर्न सक्ने त अवस्था नै छैन । बाँकी जे–जति चलाउनुपर्ने काम हुन्छन् ती त सरकारले चलाइहाल्छ गठबन्धनका नेताहरूलाई यो कुराको स्पष्ट ज्ञान छ : गठबन्धनको काम कांग्रेसलाई सबल बनाउने होइन । यो कुरा प्रधानमन्त्री देउवाले राम्ररी बुझेका छन् । तर, कांग्रेसीहरू गठबन्धनको निर्माण नै कांग्रेस बलियो बनाउन भएको भ्रममा छन् ।

सत्य त यही हो कि गठबन्धनमा सामेल भएका सबै दलका नेताले कांग्रेसको नेतृत्वमा सबल गठबन्धन बनाएर आ–आफ्नो पार्टीलाई अघि बढाउने रणनीति बनाएका छन् । प्रधानमन्त्री देउवा समीकरणको राजनीतिमा पोख्त छन् । तर, उनको पटक–पटकको शासनकाल विवादास्पद रहेको छ । ०५२ मा गठबन्धन निर्माणका लागि अपरिहार्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको चित्त बुझाएर सरकार चलाउन उनले गरेको ‘रोचक’ प्रयोग र ‘रोमाञ्चक’ घटनाहरूको सम्झना धेरैको मनमा अझै रहेको होला । 

०५८ सालमा उनले गिरिजाप्रसाद कोइरालाको हातबाट शासनसत्ता आफ्नो हातमा लिएका थिए । राजा ज्ञानेन्द्रले अक्षम भनेर प्रधानमन्त्रीबाट निकालेका देउवामाथि ०६१ सालमा एकपटक फेरि राजाको नजर प¥यो । उनी प्रधानमन्त्री भए । राजा ज्ञानेन्द्रले न्याय दिएकोमा उनीप्रति कृतकृत्य भए । तर, ०६१–६२ पछिको समय देउवाको राजनीतिमा निकै कठिन थियो । त्यो समयको सम्झना नगर्दा बेस हुनेछ । 

यस तथ्यको ज्ञान सबैलाई छ, देउवाको स्वास्थ्य–अवस्था ठीक छैन । उनलाई बिर्सिने रोग लागेको छ । उनी देशका अग्रणी स्नायु विशेषज्ञको उपचारमा छन् । देशको अवस्था उनको भन्दा खराब छ । खराब मात्र होइन, दारुण छ । गठबन्धनका नेताहरूको अगाडि डरलाग्दो खाल्डो छ भने पछाडि धाप छ । जान त जाने । तर, कता जाने ? देशमा डरलाग्दो अन्योल सुरु भएको छ । देउवाले सत्तासमीकरण मिलाउने हुन् कि देशको शासन–व्यवस्था चलाउने हुन् ? परीक्षणको घडी सुरु हुनै लागेको छ । 

यो समस्याको सामना देउवा प्रधानमन्त्री भएको खण्डमा उनले मात्रै गर्नुपर्ने होइन । अहिलेको राजनीतिक वातावरणमा प्रचण्ड, माधव, महन्थ वा गठबन्धनका अरू जोसुकै नेता प्रधानमन्त्री भए पनि समस्या उही हो । सरकार जोसुकैको नेतृत्वमा बनोस् त्यो नेता खतरनाक अवस्थामा हुन्छ । उसको अगाडि छ खाडल (खाइ), पछाडि छ धाप (दलदल) । निर्वाचनको निर्देश नै यस्तो छ । 

See More On

सुझावित समाचार