कोकाकोला फाउन्डेसनले हस्तान्तरण गर्‍यो शिक्षण अस्पतालको अक्सिजन प्लान्ट

बिहिबार, २२ मंसिर, २०७९
डिजिटल संस्करण

कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा क्रियसनले महाराजगन्जको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियो–थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं, शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्ले, मनमोहन अस्पतालका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठ, नेपाल र भुटानका लागि कोकाकोलाका कन्ट्री डाइरेक्टर आदर्श अवस्थी, भारत र दक्षिण पश्चिम एसियाका लागि सस्टेनिबिलिटी र सिएसआर निर्देशक राजेश अयापिल्ला, क्रियसनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्र र बोटलर्स नेपाल लिमिटेडका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा अक्सिजन प्लान्ट हस्तान्तरण भएको हो । 

एकपटकमा ५० जनासम्म बिरामीलाई सेवा दिन सकिने यस अक्सिजन प्लान्टबाट प्रतिसेकेन्ड दुई सय ४० लिटर अक्सिजन उत्पादन गर्न सकिने फाउन्डेसनले जनाएको छ । अक्सिजन प्लान्ट हस्तान्तरणपछि क्रियसन र कोकाकोला फाउन्डेसनलाई धन्यवाद दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव गुरागाईंले कोभिड महामारीले स्वास्थ्यजन्य विपत्बाट बच्न सदैव तयारी अवस्थामा रहनुपर्ने महसुस गराएको बताइन् । स्वास्थ्य सेवा क्षेत्रमा यस्तो सक्रिय संघ–संस्थाहरूकोे सहयोगले उत्साह थपिएको उनको भनाइ थियो । 

स्वास्थ्य सेवाको महत्वलाई आत्मसात् गर्दै सेवाविहीन समुदायलाई सहयोग प्रदान गर्ने उद्देश्यले अक्सिजन प्लान्ट स्थापना गरिएको कोकाकोला फाउन्डेसनले जनाएको छ । फाउन्डेसनको यो सहयोगले स्वास्थ्य क्षेत्रमा भएको संकटलाई सम्बोधन गरी पूर्वाधारलाई बलियो बनाउन ठूलो मद्दत गर्ने मनमोहन अस्पतालले जनाएको छ ।

क्रियसनका संस्थापक र अध्यक्ष आनन्द मिश्रले गम्भीर बिरामीका लागि उपयोगी हुने अक्सिजन प्लान्ट प्रदान गर्न पाउँदा अस्पतालमा भएको अक्सिजनको कमीलाई धेरै हदसम्म समाधान गर्ने आशा व्यक्त गरेका थिए । 

सुझावित समाचार