निर्वाचनपछिको नेपाल–भारत सम्बन्ध

नेपाली जनताको निर्णय भएकाले आगामी दिनमा नेपालमा जुनसुकै पार्टीको सरकार बने पनि भारतलाई फरक पर्दैन

बिहिबार, २२ मंसिर, २०७९
डिजिटल संस्करण

नेपालमा पछिल्लो निर्वाचनपछि नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । नेपाली कांग्रेसको पहिले भारतीय कंग्रेससँग भाइचाराको सम्बन्ध रहँदै आएको थियो, तर अहिले बदलिएको छ । अहिले कांग्रेस र भाजपाको सम्बन्ध यति मजबुत भएको छ कि प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणाले भाजपा नेता विजय चौथाइवालेलाई राखी बाँधिदिने अवस्था सिर्जना भएको छ । यो निकै महत्वपूर्ण पनि हो । यो सांस्कृतिक सांकेतिक विषय मात्रै होइन, यो मोदी सरकार र कांग्रेस नेतृत्वको गठबन्धन सरकारबीचको सम्बन्धको प्रतीक पनि हो । र, नेतृत्वमा रहेको कांग्रेससँग भारतीय नेतृत्वको सम्बन्धको प्रतीक हो । 

मोदी सरकार नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भन्नेमा विश्वास गर्छ । तर, गठबन्धनले हिन्दू राष्ट्रलाई पक्षपोषण गरिरहेको छैन । माओवादी पनि गठबन्धनमा छ । जसका कारण नेपाल हिन्दूबाट सेक्युलर स्टेट बनेको छ । यसलाई हटाउन जनमतसंग्रहबाट मात्रै सम्भव छ र यो नेपालको संविधानमा रहेको परिवर्तनीय पक्षमध्ये एउटा हो । सेक्युलरलाई हटाएर हिन्दू राष्ट्र बनाउनुपर्छ भने पनि तत्काल यो सम्भव छ जस्तो लाग्दैन । संविधान परिवर्तनका लागि दुईतिहाइ मत चाहिन्छ । यस सन्दर्भमा भारतले हस्तक्षेप गर्न सक्दैन । 

२०७२ मा नेपालले संविधान लेखिरहँदाको हस्तक्षेपकारी अनुभव भारतका लागि प्रिय छैन । नेपालको पहाडी सेन्टिमेन्टविरुद्ध भारतले जसरी तराईको नाकाबन्दीलाई सहयोग गर्यो, यसले सम्बन्धमा उत्पन्न गराएको दरारलाई भारत सरकारले बिर्सेको छ जस्तो लाग्दैन । 

ओलीको समयमा नयाँ नक्सा जारी भयो । देउवाको समयमा अग्निपथको अन्योल आएको छ । यसले सम्बन्धमा के होला भन्ने प्रश्न छ । ओली सोच्छन् कि राष्ट्रवाद एउटा ‘ट्रम कार्ड’ हो नेपाली राजनीतिको । ओली गलत नहुन पनि सक्छन् यस सन्दर्भमा । कहिले अशोक चक्र, कहिले राम मन्दिर, कहिले सीमाको विषय त कहिले सत्यमेव जयतेलाई सिंहमेव जायते भन्दै भारतविरोधी उभार ल्याउन ओलीले जेसुकै गरे पनि उनीसँग सहकार्यबाहेक त्यसवेला भारतसँग विकल्प थिएन । ओलीले जेजस्तो बोल्दा पनि भारतले संसद्मा दुईतिहाइनिकट अंकगणित रहेको ओली सरकारसँग सहकार्य गर्यो, जब कि नक्सा र अग्निपथमा नेपालको अन्योल दुवै सुविधाजनक अवस्था होइन, भारतका लागि । ओलीले नक्सा विस्तार गरे, तर सम्बन्ध पछिल्लो समय उनीसँग राम्रो भयो । कालापानीको विषय छँदै थियो । 

ओलीको पालामा लिम्पियाधुरासम्मको नक्सा जारी भयो र संविधान संशोधन पनि । तर, भारत सरकारले ओली सरकारसँग मिलेरै काम ग¥यो । किनभने, ‘रअ’ प्रमुखको भ्रमण त्यसपछि भयो, अनि भारतीय सेनाध्यक्षको पनि नेपाल भ्रमण भयो । समिा विवाद त्यहाँ कुनै नयाँ होइन । नक्सा र संविधान संशोधन मात्रै नयाँ इस्यु हो । नेपालले यति गर्दैमा भारत सरकारको ‘पोजिसन’ केही परिवर्तन भएको छैन । नेपाल सरकारको आन्तरिक निर्णय हो यो । पाकिस्तान र चीनले भारतको ३७० धारा खारेज गर्ने निर्णय मानेका छैनन् । यसले भारत र चीनबीच संवादमा कहाँ कमी आएको छ र ?

त्यसवेला नेपालमा संविधान संशोधनको प्रयास सफल नहोस् भनेर भारत सरकारले धेरै प्रयास ग¥यो, तर सफल भएन । मलाई यसको कथा पूरै थाहा छ । तर, ओलीले सुनेनन् । ओली यसैका कारण नेपालमा ‘हिरो’ भए । उनी प्रधानमन्त्री थिए । संविधान संशोधन र नक्सा नेपाल सरकारको एकतर्फी कदम हो र यसलाई भारत सरकारले स्वीकार गरेको छैन र गर्दा पनि गर्दैन । तर, नेपालसँग भारत सरकारले सहकार्य गर्दैन भन्नेचाहिँ होइन ।

नेपालमा भारतविरोधी भावना घटाउन भारतले गर्दै आएको कोसिस जारी राख्नुपर्छ । अब जोसुकैको नेतृत्वमा आगामी सरकार गठन भए पनि भारतले ऊसँग सहकार्य गर्नैपर्छ । ऊसँग यसको विकल्प छैन ।
 

नेपालमा जुनसुकै पार्टीको सरकार बन्यो भने पनि भारतलाई फरक पर्दैन । भर्खरै राजनीतिमा उदाएका रवि लामीछाने प्रधानमन्त्री बन्ने अवस्था आयो भने भारतले उनलाई पनि मान्छ । किनभने यो नेपाली जनताको निर्णय हो । उनले भारतको विरोधमा के अपराध गरेका छन् र उनलाई भारतले स्वीकार नगरोस् ? जसरी श्रीलंकाको परिस्थितिलाई भारतले स्वीकार ग¥यो र भन्यो कि त्यहाँ जनताको निर्णयलाई हामी स्वीकार गर्छौँ । 

जब कि श्रीलंकामा महाअभियोगबाहेकको अवस्थामा राष्ट्रपति हटाउन सक्ने अवस्था छैन, तर असंवैधानिक रूपमा राष्ट्रपति हट्ने अवस्था आयो । भारतले जनताको चाहना भन्दै स्वीकार गर्यो र ऊसँग सहकार्य गरिरहेको छ । भारतका विदेश सचिव विनयमोहन क्वात्रा, आर्मी चिफ म्यानमार भ्रमणमा गएर कुराकानी गरिरहेका छन्, जब कि म्यानमारलाई भारत सरकारले आधिकारिक मान्यता दिएकै छैन । कूटनीतिमा संवाद र सम्पर्क हुन्छ, आफ्नो हितमा सहकार्य पनि हुन्छ । नेपालसँग यस्तो जटिल परिस्थिति छैन । 

अग्निपथ चुनावी एजेन्डा बनेन यसपालि । कसैले पनि यो कुरा उठाएनन् । कुनै पनि पार्टीले कुनै विषय उठाएनन् यसबारे । यो विषयको राजनीतीकरण भएन, राम्रो भयो । नेपाल–भारत सम्बन्धका विषयहरूको राजनीतीकरण नहुनु स्वागतयोग्य हो । भारतमा विदेश नीतिलाई चुनावी विषय बनाइँदैन । सार्क चलेको छैन, भारतको छिमेक नीति काम लागेन भन्नेमा चुनावी चर्चा भएकोजस्तो लाग्दैन । किनकि, भोट हाल्ने मानिसलाई यसको मतलब छैन । ग्रामीण ‘भोटर’लाई डोक्लाममा के भयो, विगतमा पाकिस्तानसँग सर्जिकल स्ट्राइकमा के भयो, गलवान उपत्यकामा के भयो ? एयर स्ट्राइकमा के भयो भन्ने विषयमा खास मतलब छैन । 

नेपालमा अब बन्ने नयाँ सरकारले अग्निपथ स्वीकार गर्ने कि नगर्ने भन्ने विषयमा चाँडै निर्णय गर्नुपर्नेछ । यसपटक काठमाडौं र पोखरा बसाइका क्रममा गोर्खाहरूको भूमिमा नेपाल सरकारको भूमिकाप्रति उनीहरू सन्तुष्ट नभएको पाएँ । भारतमा भर्ती खुलेको अवस्थामा उनीहरू व्यक्तिगत रूपमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । नेपालले अग्निपथ स्किमलाई स्वीकार गर्छ भन्ने भारत सरकारले अपेक्षा गरेको छ । तर, भारत सरकारले नेपाल सरकारलाई चार वर्षपछि अवकाश प्राप्त गर्ने युवाहरू कुनै अवाञ्छित क्रियाकलापमा लाग्नेछैनन् भन्ने सुनिश्चित गराउन सक्नुपर्छ ।

उनीहरूलाई भारतमा थप रोजगारी सुनिश्चित गरिनुपर्छ । किनभने, अग्निपथमा भाग लिएका युवाले १८ लाख नेपाली रुपैयाँ पाउनेछन् र उनीहरूले भारतका अन्य सुरक्षा निकायमा सहभागी हुने समान अवसर पाउनेछन् भन्ने सुनिश्चित गरिनुपर्छ । तर, म योभन्दा अझ अघि बढेर भन्छु– अग्निपथ योजनामा नेपाली युवालाई संलग्न गराउनु हुँदैन । यो १२ सयजनाको मात्रै विषय होइन । नेपाल अर्कै देश हो । हामीले नेपाली गोर्खालाई १९४७ मा त्रिपक्षीय सन्धिमार्फत गोर्खा भर्तीमा लिन थालेका हौँ । त्यसकारण, भारतले गोर्खाहरूको हकमा यथास्थितिमा परिवर्तन गर्नुहुँदैन भन्ने मलाई लाग्छ । भारत सरकारले यो निर्णय गर्नुपर्छ । जमिन फर्काउने, इपिजीको प्रतिवेदन बुझ्नेजस्ता विषयभन्दा अग्निपथको विषय महत्वपूर्ण हो ।

भारतले भन्दै आएको छ कि नेपालमा जुनसुकै पार्टी वा व्यक्ति सरकारमा आए पनि नेपाल भारतका लागि महत्वपूर्ण छ । भारतको छिमेकी प्रथम नीतिमा नेपालको महत्व झन् बढ्दै गएको छ । किनभने भारत अहिलेको क्षेत्रीय शक्ति मात्र होइन, यो क्षेत्रको ‘नेट सेक्युरिटी प्रोभाइडर’ पनि हो । दक्षिण एसियामा भारतको जुन ‘डोमिनेन्ट पोजिसन’ छ, त्यसलाई भारतले छाड्न सक्दैन ।

भारतका लागि भूरणनीतिक हिसाबले छिमेकी देशमध्ये सबैभन्दा महत्वपूर्ण नेपाल नै हो । कारण, यसको उत्तरमा तिब्बत चीन छ । यस क्षेत्रमा चीनका कारण उत्पन्न भएको सुरक्षालगायत बहुआयामिक चुनौतीको सामना भारतले गर्नुपर्ने हुन्छ । यसका लागि भारतले छिमेकीसँग सहकार्य गर्ने र विश्वासको वातावरण निर्माण गर्ने काम गर्दै आएको छ । नेपालकै सन्दर्भमा पनि नेपालमा भारतविरोधी भावना घटाउन भारतले गर्दै आएको कोसिस जारी राख्नुपर्छ । त्यसका लागि नेपालमा जोसुकैको नेतृत्वमा सरकार गठन भए पनि भारतले सहकार्य गर्नेछ । भारतसँग यसको विकल्प पनि छैन ।

वास्तवमा एउटा दृष्टान्त हामीले के भुल्नु हुँदैन भने झन्डै दुईतिहाइ बलियो मत, भारतविरोधी राष्ट्रवादी एजेन्डासहित प्रधानमन्त्री बनेका केपी ओलीको हातबाट देउवाको हातमा सत्ता पुगेपछि दुई देशको सम्बन्ध सहज भएको छ । मैले देउवालाई पछिल्लो समयका आकस्मिक प्रधानमन्त्री (एक्सिडेन्टल प्राइम मिनिस्टर) भनेको छु । किनभने डेढ वर्षअघि उनी माओवादी र एकीकृत समाजवादीको बलबुतामा प्रधानमन्त्री बनेका हुन् । ओलीजीले त्यो परिस्थिति निर्माण गरिदिएका हुन् । 

नेपाल र भारतबीच खुला सीमा छ । हाम्रा जनताबीचको बहुआयामिक सम्बन्ध छ । यही कारण हामी भन्दै आएका छौँ कि एक अर्को देश सुरक्षित नभएसम्म दुवै देश सुरक्षित हुन सम्भव छैन । यो नेपाल र भारतले सदैव मनन गर्नुपर्ने विषय हो । नेपालको नयाँ सरकारले पनि यो यथार्थलाई हृदयंगम गर्ने नै छ । नयाँ सरकारले नै नेपाल र भारतबीचको सीमा विवादका विषयमा कुराकानी गर्नुपर्नेछ । भारतलाई थाहा छ, नेपालको आगामी सरकारले ओली सरकारद्वारा विस्तार गरिएको चुच्चे नक्सामा तलमाथि गर्न सक्दैन । किनभने, संविधान संशोधनका लागि आवश्यक संख्या नयाँ सरकारसँग पनि हुनेछैन । 

नयाँ परिस्थितिमा नेपालमा सम्भवतः कांग्रेसले नै सरकारको नेतृत्व गर्नेछ । यसअघि पाँचपटक प्रधानमन्त्री बनिसकेका देउवाले नै सरकारको नेतृत्व गर्लान् कि अरू कसैले गर्लान्, यसको निक्र्योल कांग्रेसका सांसदले गर्नेछन् । देउवा नेतृत्वको सरकारको विगत १८ महिना उल्लेखनीय यस अर्थमा रहेको छ कि उनले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएको छ । सबैको विश्वास र सहयोग लिएर यो कार्य सम्पन्न भएको छ ।

देउवाकै नेतृत्वमा रहेको गठबन्धनमा रहेर निर्वाचनमा कांग्रेस पहिलो पार्टी बनेको छ । यसबीच देउवा सरकार र मोदी सरकारबीच उल्लेखनीय सहकार्य भएको छ । देउवाको भारत भ्रमण र मोदीको पछिल्लो लुम्बिनी भ्रमणले सम्बन्धको अपरिहार्यता फेरि पनि पुष्टि गरिदिएको छ । देउवा नेपाल भारत सम्बन्धमा पाँचपटक एकप्रकारले सफल परीक्षण भइसकेका प्रधानमन्त्री हुन् । त्यसकारण विगतमा उनलाई भारतको पूर्ण साथ रह्यो र अब पनि पार्टीको आन्तरिक शक्ति सन्तुलन मिलाएर उनी प्रधानमन्त्री भएमा देउवासँग भारतको सहकार्य हार्दिक हुनेमा दुई मत छैन । किनभने भारतसँग देउवाको सम्बन्ध खुला छ र सहज छ । 

(मेहता भारतीय सेनाका अवकाश प्राप्त मेजर जनरल हुन्)

सुझावित समाचार