गुरुकुलमा आफ्नो शिक्षा पूरा गरिसकेपछि एक शिष्य गुरुसित बिदा लिन गए । उनले भने– गुरुदेव, मेरो शिक्षा पूरा भयो । अब म हजुरको आश्रमबाट बिदा हुँदै छु । मलाई बिदा दिनुहोस् । गुरुले भने– बाबु, तिमीले शास्त्रको त ज्ञान हासिल गरेका छौ । तर, केही उपयोगी शिक्षा बाँकी नै छ । यसका लागि तिमी मसँगै एकछिन आश्रमबाट बाहिर हिँड ।
शिष्य गुरुसँगै आश्रमबाट बाहिर निस्किए । गुरुकुलबाट केही पर पुगेपछि त्यहाँ एउटा खेत भेटियो । खेतमा एक किसान काममा लागेका थिए । गुरु–शिष्य दुवैले किसानलाई देखे । उनीहरू एकैछिन त्यहाँ रोकिएर किसानलाई हेर्न थाले । तर, किसानले उनीहरूतिर हेर्दा पनि हेरेन । उनीहरू त्यहाँ त्यसरी उभिएको उसलाई थाहा भएकोजस्तो पनि देखिएन ।
उनीहरू त्यहाँबाट अघि बढे । बाटामा एक लोहारको आरन भेटियो । उनी आरनमा कोइला हालेर फलाम रातो हुन्जेल तताएर त्यसलाई पिटीपिटी नयाँ–नयाँ आकृतिका हतियार तयार गरिरहेका थिए । उनी आफ्नो काममा यति तल्लीन थिए कि उनलाई गुरु र शिष्यले आफूलाई हेरिरहेको कुनै पत्तो थिएन ।
गुरुले शिष्यलाई अघि बढ्ने संकेत गरेपछि दुवै अघि बढे । थोरै अगाडि गएपछि बाटाको छेवैमा एक व्यक्ति जुत्ता सिलाइरहेका थिए । छाला काट्ने, मिलाउने र सिलाउने काममा उनी निकै तल्लीन देखिन्थे । तर, उनले पनि गुरु र शिष्यले आफूनिकट उभिएर आफूलाई हेरिरहेको पत्तो पाएनन् । एकछिन उनलाई हेरेपछि गुरुले शिष्यलाई फर्किने संकेत गरे ।
दुवै आश्रमतिर फर्किए । बाटामा गुरुले भने– तिमीले मेरो साथमा रहेर शास्त्रको अध्ययन त ग¥यौ । तर, व्यावहारिक ज्ञानको शिक्षा बाँकी नै थियो ।
तिमीले यी तिनैलाई देख्यौ । यिनीहरू आआफ्नो काममा अत्यन्त तल्लीन थिए । हरेक मानिसले यस्तै तल्लीनतासाथ काम गर्नुपर्छ । तब मात्र उसलाई सफलता प्राप्त हुन्छ ।