टाइब्रेकरमा स्पेनलाई स्तब्ध पार्दै मोरक्को क्वार्टरफाइनलमा

बुधबार, २१ मंसिर, २०७९
डिजिटल संस्करण

अफ्रिकन राष्ट्र मोरक्कोले मंगलबार राति पूर्वविजेता स्पेनलाई टाइब्रेकरमा ३–० ले स्तब्ध पार्दै कतार विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल स्थान पक्का गरेको छ । अफ्रिकन राष्ट्र मोरक्को विश्वकपको अन्तिम आठमा पहिलोपटक प्रवेश गरेको हो । 

विश्वकप इतिहासमा चार अफ्रिकन राष्ट्रले मात्र क्वार्टरफाइनल स्थान सुरक्षित गरेका छन् । सन् १९९० मा क्यामरुन, सन् २००२ मा सेनेगल तथा सन् २०१० मा घानाले अन्तिम आठको स्थान पक्का पारेका थिए । यद्यपि, अहिलेसम्म अफ्रिकन राष्ट्रहरू सेमिफाइनल पुगेका छैनन् । विश्वकप इतिहासमै क्वार्टरफाइनल पुग्ने चौथो अफ्रिकन राष्ट्र मोरक्कोले अब पोर्चुगल र स्विट्जरल्यान्डबीचको विजेताविरुद्ध सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । 

निर्धारित ९० मिनेटमा तथा अतिरिक्त ३० मिनेटमा स्पेन र मोरक्कोले गोलरहित बराबरी खेलेका थिए । चालू विश्वकपमा ब्याक टु ब्याक नकआउट चरणको छिनोफनो टाइब्रेकरबाट भयो । सोमबार राति क्रोएसिया र जापानबीचको नतिजा पनि टाइब्रेकरबाटै आएको थियो । सन् २०१० को विजेता स्पेनविरुद्ध मोरक्कोका गोलरक्षक बोनोले उत्कृष्ट प्रदर्शन गरेका थिए । टाइब्रेकरमा खेल पुग्दा स्पेनिस खेलाडी ‘नर्भस’ देखिन्थे । मोरक्कोका गोलरक्षक बोनो र खेलाडी आत्मविश्वासका साथ टाइब्रेकरमा उत्रिए । 

स्पेनका खेलाडीले टाइब्रेकरको तनाव सामना गर्न सकेनन् । युरोपियन लिगमा आबद्ध स्पेनिस खेलाडी साराबिया, सोलेर तथा सर्जियो बुस्केट्सले पेनाल्टी मिस गरे । जसमध्ये मोरक्कोका गोलरक्षक बोनोले दुई पेनाल्टी छेके । टाइब्रेकरमा मोरक्कोका अब्देल हामिद साबिरी, हाकिम जियाच र अकरफ हाकिमीले गोल गरे । बदर बनोउनेलेको पेनाल्टी प्रहारलाई स्पेनिस गोलरक्षकले छेकेका थिए । 

स्पेनका कुनै पनि खेलाडीले टाइब्रेकरमा गोल गर्न सकेनन् । पाब्लो साराबियाको सुरुवाती प्रहार पोस्टमा लाग्यो । कार्लाेस सोलेर र सर्जियो बुस्केट्सको पेनाल्टीलाई मोरक्कोका बोनोले उत्कृष्ट ढंगले बचाएका थिए । मोरक्कोका खेलाडी हाकिमी चौथो पेनाल्टी प्रहार गर्न आएका थिए । उनले सहजै गोल गरी मोरक्कोलाई ऐतिहासिक रूपमा अन्तिम आठको स्थान सुरक्षित गराए । 

टाइब्रेकरमा स्तब्ध नतिजा बेहोरेको स्पेनिस खेलाडी र प्रशिक्षक एन्रिक निराश देखिए । त्यहीँ नै विजयी टोली मोरक्कोका खेलाडीले गोलरक्षक बोनोसँग जितको खुसी मनाए ।

सुझावित समाचार