आन्तरिक तथा बाह्य कारणहरूले देशको अर्थतन्त्र संकटतर्फ धकेलिन थालेपछि उद्योग तथा व्यवसाय क्षेत्रमा चरम मन्दी छाएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)मा कतिपय उद्योग–व्यवसायको बजार माग ७८ प्रतिशत र कारोबार रकम ७१ प्रतिशतसम्मले गिरावट आएको छ ।
पछिल्लो समय देशको औद्योगिक तथा व्यावसायिक क्षेत्र गम्भीर मोडमा पुगेको नेपाल उद्योग परिसंघ (सिएनआई)को सर्वेक्षणले देखाएको हो । सर्वेक्षण नतिजाले देशभित्र सञ्चालित सबै क्षेत्रका उद्योग–व्यवसायहरूको समग्र माग औसतमा २८.२६ प्रतिशतले घटेको छ । बजारमा माग स्वात्तै घटेपछि उद्योग–व्यवसायको कारोबार रकम पनि औसतमा २४.९४ प्रतिशतले घटेको छ ।
परिसंघले आफ्ना सदस्यहरूमध्ये एक सय आठ उद्योग तथा व्यवसायमा सर्वेक्षण गरेको थियो । यही वेला औसतमा कच्चा पदार्थको लागत २२.७७ प्रतिशत र कर्जाको ब्याजदर १३.६२ प्रतिशतले बढ्दा उद्योग–व्यवसाय धान्नै नसक्ने अवस्थामा पुगेको सिएनआईको जिकिर छ । उक्त अवधिमा नयाँ लगानी थप्ने होइन, भएकै उद्योग सञ्चालन गर्न कठिन हुने अध्ययन रिपोर्टले देखाउँछ ।
पछिल्लो समय नयाँ लगानीका उद्योग दर्ता र वैदेशिक लगानीको प्रस्तावसमेत घटेको उद्योग विभागले जनाएको छ । लामो समयसम्म कोभिड महामारीले थलिएको उद्योग–व्यवसाय राम्ररी तंग्रिन नपाउँदै तरलता संकट, चर्को ब्याजदर, महँगी, मागमा आएको संकुचन, बजारबाट नगद प्राप्तिमा भएको कठिनाइ, बढ्दो उत्पादन लागतलगायत समस्या निम्तिँदा गम्भीर संकट देखा परेको निजी क्षेत्रको भनाइ छ ।
पछिल्लो समय बैंकको ब्याजदर चर्को भएपछि देशैभरका निजी क्षेत्रका संघ–संगठन आन्दोलनमा उत्रिएका छन् । सञ्चालनमै भएका उद्योग–व्यवसाय समस्यामा परेपछि उद्योगी–व्यवसायीहरूले नयाँ लगानीका योजनाहरू पनि रोकेको परिसंघको अध्ययनले देखाएको छ । यसअघि पूर्वी नेपालका व्यावसायिक संगठन मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र परिसंघको प्रदेश १ च्याप्टरले संयुक्त रूपमा गरेको अध्ययनले पनि बजार माग ७५ प्रतिशतसम्म घटेको देखाएको थियो ।
परिसंघको अध्ययनले पहिलो त्रैमासमा अटोमोबाइल, सिमेन्ट, डन्डी, प्लास्टिकजन्य निर्माण सामग्री, फुटवेयर, रियल इस्टेट, इन्जिनियरिङ तथा निर्माण कम्पनीको माग र कारोबार सबैभन्दा धेरै घटेको देखाएको छ । अटोमोबाइल क्षेत्रको माग ७८.१ प्रतिशतले घटेको छ भने यस क्षेत्रको कारोबार रकम ७१.१ प्रतिशतले घटेको छ ।
सरकारले आठ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने निजी सवारीसाधन र एक सय ५० सिसीभन्दा माथिका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाउँदा अटोमोबाइल क्षेत्र धराशायी हुने अवस्थामा पुगेको नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष ध्रुव थापाले बताए । राष्ट्र बैंकले अटोकर्जामा गरेको कडाइ र चर्को ब्याजदरका कारण अटो व्यवसाय थप संकटतर्फ धकेलिएको भन्दै देशभरका अटो व्यवसायीहरू अहिले आन्दोलित छन् ।
निर्माणको सिजनमै सरकारी र निजी क्षेत्रबाट हुने विकास निर्माणका कामहरू ठप्प हुँदा निर्माण सामग्रीको माग पनि ठप्प छ । चालू आवको पहिलो त्रैमासमा सिमेन्टको माग ४०.२ प्रतिशतले घटेको र सिमेन्ट उद्योग र डिलरको कारोबार रकम ३९ प्रतिशतले घटेको परिसंघको अध्ययनले देखाएको छ । फलामे डन्डी तथा वायरको माग ६१.१ प्रतिशत र कारोबार ५३ प्रतिशतले घटेको छ । बजारमा माग नभएपछि भैरहवामा रहेको देशकै पुरानोमध्येको पञ्चकन्या स्टिल उद्योग अनिश्चितकालीन बन्द भएको छ । अहिले सञ्चालनमा रहेका डन्डी उद्योगहरू पनि निकै कम क्षमतामा मात्र चलिरहेका सम्बन्धित उद्योगीको भनाइ छ ।
निर्माणका कामहरू ठप्प हुँदा इन्जिनियरिङ तथा निर्माण कम्पनीहरूको माग ४३.४ प्रतिशत र कारोबार ४३.७ प्रतिशतले घटेको देखिएको छ । यस्तै, फुटवेयर (जुत्ता–चप्पल)को माग ४५.३ प्रतिशत तथा कारोबार रकम ५१ प्रतिशत, प्लास्टिक सामग्रीको माग ३८.२ प्रतिशत तथा कारोबार रकम ३१.२ प्रतिशत, कृषि क्षेत्रको माग ३०.७१ प्रतिशत तथा कारोबार रकम ३१.५७ प्रतिशतले घटेको परिसंघको अध्ययन रिपोर्टमा उल्लेख छ ।
अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान रहेको साना तथा मझौला उद्योगको माग ३३.७ प्रतिशतले घटेपछि कारोबार पनि ३६.३ प्रतिशतले घटेको देखिन्छ । पछिल्लो समय सबैभन्दा धेरै प्रभावित भएको क्षेत्रमा रियल इस्टेट पनि पर्छ । पहिलो त्रैमासमा रियल इस्टेट क्षेत्रको माग ५२.८ प्रतिशत र कारोबार रकम ४० प्रतिशतले घटेको अध्ययनले देखाएको छ । तरलता अभाव, कर्जा प्रवाहमा कडाइ, चर्को ब्याजदर, महँगीलगायत कारणले रियल इस्टेट खुम्चिएको हो ।
घरजग्गा कारोबार ठप्प हुँदा ठूला व्यवसायीहरू समस्यामा पर्न थालिसकेका छन् भने टुक्रा जग्गाको मूल्य पनि स्थिर रहेको छ । यही अवस्था अझै लम्बिँदै गएमा रियल इस्टेट क्षेत्र गम्भीर संकटतर्फ धकेलिने सम्बन्धित क्षेत्रका व्यवसायीको अनुमान छ । कुनै महिनामा देशभरि ८७ हजारभन्दा बढी घरजग्गा कारोबार हुने गरेकोमा पछिल्ला महिनामा २०–२५ हजारमा झरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।
पहिलो त्रैमासमा औषधिको माग १८.८ प्रतिशतले घटेको छ भने कारोबार रकम १८.३ प्रतिशतले घटेको छ । खाना पकाउने एलपी ग्यासको माग पनि १२ प्रतिशत र कारोबार रकम ४.७ प्रतिशतले घटेको छ । अन्य उत्पादन क्षेत्रको बजार माग २९.४ प्रतिशत र कारोबार रकम ३७.९ प्रतिशतले घटेको देखिएको छ । अध्ययनमा समेटिएका अधिकांश उद्योग–व्यवसायको मागसँगै कारोबार पनि घटेको रिपोर्टमा उल्लेख छ ।
अर्थमन्त्रीसँग निजी क्षेत्रको माग
अर्थमन्त्री जनार्दन शर्मालाई संकटमा रहेको अर्थतन्त्र जोगाउन सहकार्यका लागि निजी क्षेत्रले आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले आइतबार अर्थमन्त्री शर्मालाई भेटेर मुलुकको अर्थतन्त्र जोगाउन सहकार्य एवं समन्वयका लागि आग्रह गरेको हो ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले चालू आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ ध्यानाकर्षण गराएका छन् । अर्थमन्त्रीसँगको भेटवार्ताका क्रममा महासंघका अध्यक्ष गोल्छाले राजस्वले साधारण खर्चसमेत धान्न नसक्ने अवस्था आएको भन्दै मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र निजी क्षेत्र संकुचित हुँदै गएको बताए ।
