टर्की र कुर्दबीचको शताब्दी लामो संघर्षको कथा

आइतबार, १८ मंसिर, २०७९
डिजिटल संस्करण

प्रथम विश्वयुद्धको अन्त्यमा मित्रशक्तिले कुर्दहरूको सघन बसोवास रहेको क्षेत्रलाई अलग देश बनाउने वाचा गरेका थिए, जसलाई टर्कीले रोक्यो

टर्की र कुर्द विद्रोही समूहबीचको द्वन्द्व बारम्बार बल्झिरहन्छ । दुई पक्षबीचको संघर्षको झन्डै एक सय वर्ष लामो इतिहास छ । पछिल्लो समय टर्की सरकारले सिरियाली कुर्दमाथि हवाई आक्रमण तीव्र बनाएसँगै यो द्वन्द्व पुनः चर्किने डर बढेको छ । पछिल्ला घटनाक्रमले त्यही संकेत गर्छ । 

घटना १ : रुसले युक्रेनमाथि आक्रमण गरेपछि नर्वे र स्विडेनले छिमेकी रुसबाट असुरक्षित महसुस गरेको भन्दै यसै वर्षको मेमा नेटो सदस्यताको लागि आवेदन दिए । नेटोे सदस्य हुनका लागि संगठनका सबै तीस सदस्य देशको समर्थन हासिल हुनुपर्छ । तर, नेटोको सदस्य टर्कीले ती दुई देशको सदस्यताको समर्थन नगर्ने घोषणा गर्यो । टर्कीले ती दुई नोर्डिक मुलुकले कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके)का सदस्यलाई आश्रय दिने भएकाले तिनको सदस्यता समर्थन गर्न नसकिने बतायो । जुनको अन्तिममा म्याड्रिडमा नेटोको समन्वयमा टर्की र स्विडेन तथा फिनल्यान्डबीच लामो वार्ता भयो । वार्तापछि नोर्डिक मुलुकले शंकास्पद लडाकुको सुपुर्दगी तीव्र बनाउने सहमति जनाएपछि टर्कीले ती मुलुकको सदस्यताको विरोध फिर्ता लियो । 

घटना २ : नोभेम्बर १३ मा टर्कीको राजधानीस्थित व्यस्त इस्तिकलाल बजारमा शक्तिशाली बम विस्फोट भयो । विस्फोटमा ६ जनाको ज्यान गयो, दर्जनौँ घाइते भए । विस्फोटका लागि टर्किस सरकारले कुर्दिस सशस्त्र लडाकुलाई दोष दिएको छ । प्रहरीले बम राखेको आशंकामा एक सिरियाली कुर्द महिलालाई पक्राउ गरेको छ । देशका गृहमन्त्री सुलेमान सोयलुले विस्फोटका लागि कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) र सिरियाली कुर्दिस समूह वाइपिजी जिम्मेवार रहेको आरोप लगाए । तर, राज्यको यस आरोपलाई पिकेके र कुर्द नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्स (एसडिएफ) ले खण्डन गरेका छन् । हालसम्म यस विस्फोटको जिम्मा कसैले लिएका छैनन् । 

घटना ३ : टर्कीले अघिल्लो साताभर सिरिया र इराकका विभिन्न स्थानमा हवाई आक्रमण गर्यो । टर्कीका रक्षामन्त्री हुलुसी अकरले आफ्नो देशको सेनाले कुर्द विद्रोहीका ४७१ स्थानमा निसाना बनाएको र २५४ लडाकुलाई ‘निस्तेज’ बनाइएको दाबी गरे । टर्कीले विगतमा पनि सिरियामा ठुल्ठूला सैन्य अभियान सञ्चालन गरिसकेको छ । टर्कीले आफ्नो देशको विद्रोही समूह पिकेकेसँग नजिक रहेको वाइपिजीको बढ्दो प्रभाव कम गर्न यी आक्रमण गरेको बताएको छ । र, यी आक्रमण नोभेम्बर १३ को बम आक्रमणविरुद्धको प्रतिक्रिया भएको बताएको छ । 

विश्वको सबैभन्दा ठूलो राज्यविहीन सम्प्रदायका रूपमा हेरिने कुर्द टर्की, इरान, इराक र सिरियाको सिमानावरपर बसोवास गर्छन् । यी चार देशमा मूल रूपमा बस्ने करिब साढे तीन करोड संख्याका कुर्दहरू एक दिन एकीकृत स्वतन्त्र कुर्दिस्तानमा बन्ने सपना बुनेका छन् ।

यी तीनै घटनामा एक कुरा साझा छन्, पिकेके । आखिर पिकेके के हो र टर्कीको सुरक्षा धारणा किन पिकेके वरपर केन्द्रित हुने गर्छ ? यहाँ त्यसैको चर्चा गरिएको छ । यसको सुरुवात कुर्दबाट सुरु गर्न उपयुक्त हुन्छ :  

को हुन् कुर्द ?
विश्वको सबैभन्दा ठूलो राज्यविहीन सम्प्रदाय(राष्ट्र)का रूपमा हेरिने कुर्द टर्की, इरान, इराक र सिरियाको सिमानावरपर बसोवास गर्छन् । यी चार देशमा मूल रूपमा बस्ने २.५ करोडदेखि ३.५ करोड संख्याका कुर्दहरूमा एक दिन एकीकृत स्वतन्त्र कुर्दिस्तानमा रहने सपना राख्छन् । तर, लामो समय कुनै निश्चित राष्ट्रभित्र रहेकाले पछिल्लो समय आफू रहेको राष्ट्रभित्र थप अधिकार र स्वायत्तताको मागमा बढी मुखरित हुन थालेको छ । तथापि एउटा मुलुकको स्वयत्तता आन्दोलनले छेउको अर्को देशको कुर्द आन्दोलनलाई प्रेरित गर्छ । 

प्रथम विश्वयुद्धको अन्त्यमा मित्रशक्तिले कुर्दहरूको सघन बसोवास रहेको क्षेत्रलाई जोडेर एक अलग मुलुक बनाउने वाचा गरेका थिए । तर, यो लक्ष्यमा ओटोमन साम्राज्यको खरानीबाट उठेको नयाँ मुलुक टर्की मुख्य तगारो बन्यो । टर्कीले कुर्दलाई राज्य दिने खाका कोरिएको सेभ्रेस सन्धि उल्टाइदियो र त्यसविरुद्ध कुर्दहरू प्रतिरोधमा उत्रिए । सन् १९२३ मा टर्कीको स्थापना भएदेखि सन् १९३८ सम्म टर्कीले सामना गरेको १८ विद्रोहमध्ये १६ मा कुर्दले नेतृत्व गरेका थिए । 

सन् १९३८ देखि सन् १९८४ बीचमा टर्कीको कुर्दबहुल क्षेत्रमा तुलनात्मक शान्ति छायो । कुर्दिस विद्रोह नभएको यस अवधिमा टर्कीले आफ्नो सिमानाभित्रका कुर्दहरूलाई आत्मसात्, सम्मिलन, फटाउ तथा हत्याउ नीतिमार्फत कुर्द राष्ट्रवादी भावनालाई मत्थर पार्ने योजनालाई तीव्रता दियो । आफ्नो सिमानामा ऊ सफल भए पनि सिमानाबाहिर कुर्दहरूमा त्यस्तो गर्न सकेन ।

पिकेकेको उदय 
वामपन्थी विचारधाराबाट प्रेरित भएर सन् १९७८ मा स्थापना भएको कुर्दिस्तान वर्कर्स पार्टी(पिकेके)ले सन् १९८४ मा विद्रोह सुरु गरेपछि समग्र कुर्द बहुल क्षेत्र तरंगित भयो । पिकेकेले कुर्द बहुल क्षेत्र समेटेर स्वतन्त्र राज्य स्थापनाको माग गर्दै सशस्त्र संघर्ष गरिरहेको छ । यसले भन्ने गरेको ‘संघर्ष’ले महिला अधिकार, मानव अधिकार, वातावरणवाद, साम्प्रदायिकता र लोकतान्त्रिक स्वायत्ततालाई समेट्छ । यस आधारमा रुढिवादी विचारबाट प्रेरित मध्य–पूर्वको शासन तथा विद्रोहमा पिकेके अलग देखिन्छ । 

दशकौँ लामो संघर्षमा ४० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने लाखौँ विस्थापित भएका छन् । पिकेकेलाई टर्की, युरोपेली संघ र संयुक्त राज्य अमेरिकाले आतंकवादी संगठन मान्छ । तर, पिकेकेले भने आफूलाई विश्वको सबैभन्दा ठूलो राज्यविमुख सम्प्रदाय कुर्दहरूको लागि लडिरहेको बताउने गर्छ । 

टर्कीको कारागारमा रहेका पिकेकेका सर्वोच्च नेता अब्दुल्ला ओकालानप्रति सबै क्षेत्रका कुर्दमाझ ईश्वर–समान सम्मान व्याप्त छ । पिकेकेको प्रभाव उल्लेख्य हुनुमा यो एक सशस्त्र आन्दोलनभन्दा बढी सामाजिक र राजनीतिक आन्दोलनका रूपमा अघि बढेर पनि हो । पिकेकेको चार देशमा बाँडिएका कुर्द बहुल क्षेत्रमा आबद्ध दल तथा सशस्त्र शाखा छन् । साथै कुर्दिस डायस्पोरामा पनि यसको बलियो उपस्थिति छ । पिकेकेले एक दशकअघिबाट स्वतन्त्र कुर्दिस राज्यको आह्वान त्याग्दै बृहत्तर सांस्कृतिक, भाषिक र राजनीतिक अधिकार माग गर्न थालेको छ ।

कुर्द आन्दोलन र इराकी कुर्दिस्तान क्षेत्रीय सरकार
पिकेकेको प्रभाव फैलिनुअघि इराकभित्र रहेका कुर्दहरू समग्र कुर्द राष्ट्रवादी आन्दोलनका निर्देशक शक्ति थिए । २०औँ शताब्दीको अधिकांश समय बग्दादस्थित सरकारसँग लडेर तिनले देशको उत्तरी भेगमा कुर्दिस्थान क्षेत्रीय सरकार नामक अर्ध–राज्य प्राप्त गरे । कुर्दिस्तान क्षेत्रीय सरकारका धेरै गुणहरू राज्यकै जस्तै भए पनि यसका संस्थानहरू भने विरासतमा आधारित दुई मुख्य दलबीच कायम तीव्र ध्रुवीकरणका कारण कमजोर छन् ।

इराकी कुर्द क्षेत्र कुर्दिस्तान डेमोक्रेटिक पार्टी(केडिपी) र प्याट्रोटिक युनियन अफ कुर्दिस्तान(पियुके)मा विभाजित छ । त्यहाँको राजनीति केडिपीमा पकड राख्ने बार्जानी परिवार र पियुकेमा पकड रहेको तालावानी परिवारबीचको प्रतिद्वन्द्वितामा रुमल्लिएको छ । यस प्रतिद्वन्द्वितामा केडिपीले टर्कीको समर्थन हासिल गर्ने प्रयास गर्छ भने पियुके यसमा पिकेके नजिक हुन्छ । यसले गर्दा कुर्दिस्तान क्षेत्रीय सरकार पनि टर्कीको प्रभाव क्षेत्रमा बदलिँदै गएको छ । 

सिरियाली कुर्दको उदय
टर्की, इरान, इराक र सिरियामा फैलिएको कुर्दमध्ये सिरियाली कुर्दहरू सबैभन्दा बढी अधिकारबाट वञ्चित रहँदै आएका छन् । ऐतिहासिक रूपमा यो क्षेत्र सबैभन्दा कम शान्त कुर्द क्षेत्रमा पनि रह्यो । सन् १९८० देखि १९९० को दशकको अन्त्यसम्म पिकेकेका कार्यकर्ता सिरियामा लुक्ने गर्थे । 

तिनलाई सिरियाली राष्ट्रपति हाफिज असद(वर्तमान राष्ट्रपति बसर अल–असदका पिता)ले आश्रय दिएको आरोप लाग्थ्यो । पछि टर्कीले आक्रमण गर्ने धम्की दिएपछि सिरियाले सन् १९९८ मा पिकेकेलाई उसको मुलुकमा गतिविधि गर्न रोक लगायो । सिरियाली गृहयुद्धपछि केन्द्र कमजोर भएको अवस्थामा २०११ पछि यस मुलुकको उत्तरी भेगमा सिरियाली कुर्दहरूको डेमोक्रेटिक युनियन पार्टी(पिवाइडी)को शक्ति बढ्दै गयो । 

सिरिया गृहयुद्धमा पिवाइडी र यसको सशस्त्र इकाई पिपुल्स डिफेन्स युनिट(वाइपिजी)ले न दमास्कासस्थित बसर अल असादलाई समर्थन जनाए, न सशस्त्र जिहादी समूहलाई नै । 

सिरियाली कुर्दहरूले सन् २०१२ सम्ममा कुर्दहरूको सघन बसोवास भएको टर्कीको सिमाना नजिकको सिरियामा एउटा स्वायत्त क्षेत्र बनाए । पहिले असदविरुद्ध रहेका सबै समूहलाई समर्थन गर्ने क्रममा र पछि आइएसविरुद्धको लडाइँमा अमेरिकाले पिवाइडी र यसको सशस्त्र शाखा वाइपिजीलाई समर्थन गर्दै आएको छ । 

पिवाइडी पिकेकेसँग आबद्ध छ । तर अनौठो तथ्य के भने अमेरिकाले पिकेकेलाई आतंकवादी संगठन मान्छ, तर ऊसँग आबद्ध पिवाइडी÷वाइपिजीलाई मान्दैन । टर्कीले दुवैलाई आतंकवादी संगठन मान्दछ । पिवाइडी र वासिंगटनबीचको सौहार्दपूर्ण सम्बन्धले वासिंगटन र अंकाराबीचको सम्बन्धमा भने तनाव निम्त्याएको छ । 

See More On

सुझावित समाचार