सरकार गठनको कसरत : सत्तागठबन्धन र बाहिरका दलसँग समानान्तर छलफलमा कांग्रेस

शुक्रबार, १६ मंसिर, २०७९
डिजिटल संस्करण

सिके राउत कांग्रेससँग सहकार्य गर्न तयार, प्रचण्डसँग गठबन्धन कायम गरेर सरकार बनाउन छलफल

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको तयारीलाई तीव्र बनाएको छ । गठबन्धनभित्रका दलबाट मात्रै बहुमत नपुग्ने अवस्थाका कारण कांग्रेसले गठबन्धनलाई कायम राख्दै संसद्मा प्रतिनिधित्व गर्ने इतरका दलसँग पनि समानान्तर रूपमा छलफल थालेको छ । 

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले बिहीबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँगको भेटमा सरकारमा सहकार्यका लागि औपचारिक प्रस्ताव गरे । राउतले कांग्रेससँग संघ र प्रदेशमा सरकार गठनमा सहकार्य गर्न तयार रहेको बताएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । 

‘उहाँ (सिके राउत)ले आफू डेमोक्रेसीमा विश्वास राख्ने भएकाले कांग्रेससँग सहकार्य गरेर जान तयार रहेको बताउनुभयो । शिक्षा, स्वास्थ्य, रोजगार, नागरिकता विधेयकलगायत आफ्ना एजेन्डाबारे कुरा राख्नुभयो । थप छलफल गरेर अगाडि बढ्ने सहमति भएको छ,’ खड्काले भने, ‘हामी पार्टी र गठबन्धनभित्र छलफल गर्छौँ । उहाँहरू पनि छलफल गर्नुहुन्छ । थप छलफल गरेर टुंगोमा पुगिन्छ ।’

गठबन्धनबाहेकका दलका नेतासँग देउवाले गरेको भेट राउतसँगै नै पहिलो हो । अन्य दलसँग भने उपसभापति खड्कालगायत निकटस्थ नेताहरूमार्फत संवाद गरिरहेका छन् । जनमत पार्टीका महासचिव चन्दन सिंहले प्रधानमन्त्री देउवाले बोलाएर सहकार्यका लागि प्रस्ताव गरेको जानकारी दिए । ‘हामी प्रजातान्त्रिक पार्टीसँग सहकार्यका लागि सकारात्मक छौँ । किसान आन्दोलन, नागरिकतालगायत मधेसमा मुद्दामा तपाईंहरूको धारणा के हो जानकारी गराउनुहोस्, त्यसपछि थप छलफल गरेर सहकार्यबारे टुंगोमा पुगौँला,’ राउतको भनाइ उद्धृत गर्दै सिंहले नयाँ पत्रिकासँग भने । भेटमा राउतले मधेसका माग र मुद्दाबारे देउवाको धारणा मागेका थिए । जवाफमा देउवाले गठबन्धनसँग छलफल गर्ने जवाफ फर्काएका थिए । ‘छलफल सकारात्मक रूपमा अगाडि बढेको छ । निर्वाचनपछि पहिलोपटक हामीले छलफल गरेका हौँ । अरू पार्टीसँग पनि छलफल हुन सक्छ,’ सिंहले भने । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा अपराह्न दुई नेताबीच भेट भएको थियो । राउतलाई देउवासँग भेटको संयोजन कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिले गरेका थिए । भेटमा सहभागी निधिले छलफल सकारात्मक र परिणाममूलक भएको प्रतिक्रिया दिएका छन् । गठबन्धन र कांग्रेससँग संघ र प्रदेश दुवै सरकारमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको उनको दाबी छ । ‘दुई नेताबीच सकारात्मक र परिणाममूलक वार्ता भएको छ । गठबन्धन र कांग्रेससँग संघ र प्रदेशका दुवै सरकारमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ,’ निधिले भने । तर, कुनै लिखित सहमति भने भएको छैन । 

जनमत पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सिट जितेको छ भने समानुपातिकतर्फ हालसम्म प्राप्त मतलाई आधार मान्दा चार सिट पाउने देखिन्छ । एक सय ६५ मध्ये एक सय ६२ सिटको अन्तिम नतिजा आउँदा कांग्रेसले ५५ स्थानमा जित निकालेको छ । बाँकी तीन सिटमध्ये गणना भइरहेका दुई सिटमा कांग्रेसकै अग्रता छ । हालसम्म प्राप्त मतलाई आधार मान्दा उसले समानुपातिकमा ३२ सिट पाउने सम्भावना छ ।

त्यस्तै, माओवादीले १७ सिट जितेको छ भने १४ समानुपातिक सिट पाउने सम्भावना छ । गठबन्धनबाट माओवादी उम्मेदवार रहेको एक क्षेत्रमा परिणाम आउन बाँकी छ । एकीकृत समाजवादीले १० सिट जितेको छ । समानुपातिकमा थ्रेसहोल्ड कटाउने सम्भावना न्यून छ । लोसपाले चार सिट र राष्ट्रिय जनमोर्चाले एक सिट जितेका छन् । दुवै पार्टी राष्ट्रिय दल नबने निश्चित छ । यस आधारमा परिणाम आउन बाँकी तीनवटै स्थानमा गठबन्धनले जित निकाल्दा पनि एक सय ३३ सिट मात्र पुग्छ । तर, बहुमतका लागि एक सय ३८ सांसद चाहिन्छ । बहुमत नपुग्ने अवस्थामा जनमतको मत गठबन्धनका लागि सरकार गठनमा महत्वपूर्ण हुन्छ । 

प्रचण्ड, नेपाल र भट्टराईले कारागारमै पुगेर नागरिक उन्मुक्ति पार्टीका नेता चौधरीलाई भेटे

सत्तागठबन्धनले सुविधानजक बहुमतका लागि जसपा, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदतिर पनि नजर लगाएको छ । गठबन्धनमा तान्ने लक्ष्यसहित नै माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले डिल्लीबजार कारागारमै पुगेर नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसँग भेट गरिसकेका छन् । प्रचण्डले सोमबार तथा नेपाल र भट्टराईले मंगलबार भेटेका हुन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ तीन सिट जितेको नागरिक उन्मुक्ति पार्टीले समानुपातिमा भने थ्रेसहोल्ड कटाउने सम्भावना देखिँदैन ।

गठबन्धनका नेताहरूले जेलमै भेटेर तथा टेलिफोनमार्फत सरकारमा सहकार्यको प्रस्ताव गरेको नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले बताए । तर, सो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग भने कुनै भेटघाट नभएको उनको भनाइ छ । श्रेष्ठ काठमाडौंमै छिन् । ‘हाम्रो पहिलो प्राथमिकता सरकार होइन, हाम्रा माग मुद्दा सम्बोधन हुने अवस्थामा जान पनि सकिन्छ । तर, हामीले अहिले केही सोचेका छैनौँ,’ उनले भने, ‘गठबन्धनका नेताहरूले जेलमा गएर भेटेको जानकारी छ । यसबाहेक नेताहरूले अध्यक्ष र पार्टीका अन्य नेताहरूसँग भेटेर छलफल गरेका छैनन् ।’

त्यस्तै, दुई सिट रहेको प्रभु साह समूह र अमरेशकुमार सिंहसँग पनि गठबन्धनका नेता सम्पर्कमा छन् । यसबाहेक देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग समेत टेलिफोन सम्पर्क गरेर सरकारमा सहकार्यका लागि प्रस्ताव गरेको उनीनिकट स्रोतले बतायो । जसपा र राष्ट्रिय स्वतन्त्र पाटीसँग भने कांग्रेसले औपचारिक सहकार्यको लागि प्रस्ताव गरेको छैन । 

प्रचण्ड र खड्काबीच भेटवार्ता

माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । उपसभापति खड्काले भेटमा चुनावी समीक्षासहित गठबन्धन कायम गरेर सरकार निर्माणका लागि छलफल भएको जानकारी दिए । ‘प्रचण्डसँगको छलफलमा चुनावी समीक्षा भयो । सत्तागठबन्धनलाई निरन्तर राखेर अरू दललाई पनि जोडेर सरकार निर्माण गर्नेबारे छलफल भयो,’ खड्काले भने । 

सिके राउत कांग्रेससँग सहकार्य गर्न तयार हुनुहुन्छ : पूर्णबहादुर खड्का, उपसभापति, कांग्रेस 

कांग्रेसले गठबन्धनबाहेकका दलसँग पनि सरकार गठनबारे औपचारिक छलफल सुरु गरेको छ । सिके राउतसँगको भेटमा के भयो ? 
हामीले गठबन्धनलाई कायम राख्दै गठबन्धनबाहेकका दललाई पनि समेटेर कांग्रेस नेतृत्वमा सरकार गठनका लागि छलफल गरिरहेका छौँ । त्यसैक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतबीच सौहार्दपूर्ण रूपमा छलफल भयो । प्रधानमन्त्री र राउतबीच एक–अर्कामा बधाई साटासाट भयो । उहाँ (सिके राउत)ले आफू डेमोक्रेसीमा विश्वास राख्ने भएकाले कांग्रेससँग सहकार्य गरेर जान तयार रहेको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, रोजगार, नागरिकता विधेयकलगायत आफ्ना एजेन्डाबारे कुरा राख्नुभयो । थप छलफल गरेर अगाडि बढ्ने सहमति भएको छ । 

लिखित रूपमै कुनै सहमति भएको हो र ? 
कुनै लिखित सहमति भएको छैन । थप छलफल गरेर अगाडि बढ्नेबारे दुवै पक्ष सकारात्मक छौँ । पार्टी र गठबन्धनभित्र छलफल गरेर निष्कर्षमा पुग्छौँ । कहाँ, के, कति भन्ने छलफल सुरु भइसकेको छैन । 

राउतलाई देउवाले के प्रस्ताव गर्नुभयो ? 
सभापतिज्यूले तपाईंहरूलाई सरकारमा सहकार्यका लागि स्वागत छ, हामी गठबन्धनमा छलफल गर्छौँ, तपाईंहरू पनि छलफल गर्नुहोला, छलफलबाट टुंगोमा पुगौँला, सहकार्य गरेरै अगाडि बढौँला भनेर प्रस्ताव गर्नुभएको छ । उहाँ पनि यसमा सकारात्मक हुनुहुन्छ । 

बुधबार नै सत्तासाझेदार दल माओवादी अध्यक्ष प्रचण्डसँग पनि भेट गर्नुभयो, के छलफल भयो ? 
मैले प्रचण्डलाई पनि भेटेँ । हामीबीचको छलफलमा चुनावी समीक्षा भयो । सरकार निर्माणमा कसरी जाने भन्नेबारे कुराकानी भयो । सत्तागठबन्धनलाई निरन्तर राखेर अरू दललाई पनि समेटेर लैजाने विषयमा छलफल भयो । 

सुझावित समाचार