ओटिसी (ओभर द काउन्टर) कारोबारलाई अब अनलाइन प्रणालीमा ल्याउने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अनलाइन सिस्टममार्फत ओटिसी कारोबारलाई व्यवस्थित बनाउन नयाँ सिस्टममा लैजान लागेको हो । नेप्सेमा सूचीकृत नभएका कम्पनीहरूको सेयर किनबेच हुने ठाउँ नै ओटिसी बजार हो । सामान्यतया, यस्तो बजारमा नेप्सेमा सूचीकरण हुन नसकेका, सूचीकरणबाट हटाइएका तथा योग्य हुन नसकेका कम्पनीहरूको कारोबार हुन्छ । यस्ता कम्पनीहरूको संख्या करिब एक सय ७५–८० वटा रहेका नेपाल स्टक एक्सचेन्जका कार्यकारी प्रमुख कृष्णवहादुर कार्कीले जानकारी दिए ।
हालसम्म यस किसिमको कारोबार कागजी आधारमा मात्रै हुँदै आएको छ । कागजी आधारमा र भौतिक उपस्थिति हुनुपर्ने भएपछि यसमा लगानीकर्ताको उत्साहजनक सहभागिता देखिएको छैन । नेप्सेले लगानीकर्ताको सहभागितालाई बढाउन प्रविधिमा जोड दिएको कार्कीले जानकारी दिए ।
अनलाइन सिस्टमलाई कार्यान्वयनमा ल्याउनका लागि कारोबार प्रणाली बनाउने (सफ्टवयर) उत्पादकसँग सम्झौता गर्ने तयारी भएको नेप्सेका कार्यकारी कार्कीले बताए । उनले भने, ‘यसलाई प्राविधिक रूपमा बलियो बनाएर, टिमएमएस प्रणालीमा जस्तै कारोबार गर्न सकिने गरी सिस्टम ल्याउने प्रयासमा छौँ, त्यसका लागि प्रक्रिया अघि बढेको हो ।’ ओटिसी कारोबार दलालविना नै शुक्रबार र सार्वजनिक बिदाका दिनबाहेक बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म नेप्सेमा हुँदै आएको छ ।
यस्तो व्यवस्था सूचीकरण खारेजी भएका कम्पनीको सेयर किनबेच हुने अवस्था नभइरहेको समयमा नेप्सेले पहिलोपटक ०६५ जेठमा ‘ओटिसी बजार नियमावली, २०६५’ ल्याएको हो । उक्त विनियमावलीअनुसार नेप्सेले स्वचालित कारोबारबाहेक छुट्टै काउन्टर खोली खरिदकर्ता र बिक्रीकर्ताको सीधै सम्पर्कबाट कारोबार हुने गर्छ ।
कसरी हुन्छ कारोबार ?
धितोपत्र विक्रेताले बिक्री गर्न चाहेको कम्पनीको धितोपत्र सम्बन्धित कम्पनीबाट प्रमाणित गरी आवश्यक कागजपत्रसहित बिक्री आदेश दिन सक्छन् । प्राप्त आदेशलाई नेप्सेले क्रमअनुसार दर्ता गर्छ । धितोपत्र खरिदकर्ताले खरिद गर्न चाहेको कम्पनीको आदेश भरी दर्ता गराउनुपर्छ ।
१० प्रतिशत रकम धितोपत्र बजारलाई पेस्कीस्वरूप बुझाउनुपर्ने हुन्छ । प्राप्त आदेशलाई उल्लेखित कम्पनीको नाम तथा धितोपत्र लगानीकर्ताको जानकारीका लागि मूल्य अंकित पार्टी (प्राइस कोटिङ बोर्ड)मा उल्लेख गरिन्छ । धितोपत्र बजारले प्राप्त खरिदबिक्री आदेशका आधारमा दर्ताक्रम तथा मूल्यका आधारमा दर्ताक्रम तथा मूल्यलाई आधारमानी मूल्य तथा संख्या घटबढ गर्नुपर्ने हुन्छ । उल्लेखित प्रकियाअनुसार मूल्य तथा संख्या मिलेमा कारोबार हुन्छ ।
राफसाफका लागि धितोपत्र विक्रेताले धितोपत्रको प्रमाणपत्र तीन कार्यदिनभित्र तोकिएको शाखामा पेस गर्नुपर्छ । खरिदकर्ताले खरिद गरेको धितोपत्रको रकम, नामसारी दस्तुर त्यति नै दिनभित्र नेप्सेले तोकेको बैंकमा दाखिला गरी सम्बन्धित शाखामा पेस गर्नुपर्छ ।