चीनमा बिस्तारै हट्नेछ जिरो कोभिड नीति

जिरो कोभिडबाट चीन रातारात मुक्त हुनेछैन, बरु चीनको आर्थिक सुधार र खुलापनझैँ जिरो कोभिड नीति क्रमिक एवं नियन्त्रित ढंगले बिस्तारै हट्नेछ

बिहिबार, १५ मंसिर, २०७९
डिजिटल संस्करण

चीनको सिन्जियाङ प्रान्तको एक आवासीय संरचनामा भएको घातक आगलागीको प्रतिक्रियामा चिनियाँ प्रदर्शनकारी सडकमा उत्रेका छन् । धेरै आगलागी कोभिड–१९ लकडाउनका कारण भएको ठान्छन् । प्रदर्शनकारी कठोर लकडाउन अन्त्यको माग गरिरहेका छन् । समयतालिका निश्चित नभए पनि राष्ट्रपति सी जिनपिङ प्रशासनले विरोध प्रदर्शनअघि नै खर्चिलो जिरो कोभिड (शून्य कोभिड) नीतिलाई उल्ट्याउने तयारी गरिरहेको थियो । तर, यो प्रक्रिया सोचेजस्तो सजिलो छैन ।

जिरो कोभिडलाई चीनले त्याग्दा जनस्वास्थ्य जोखिम बढ्नेछ । त्यसमाथि विशेषतः वृद्ध कोभिड खोपदर निकै कम भएको अवस्थामा जोखिम बढ्नेछ । जिरो कोभिड उल्ट्याउने प्रक्रियामा कसरी परिचालन एवं बन्दोबस्ती गर्ने भन्नेमा ध्यान नपुगेको अवस्थाले चुनौती बढ्नेछ ।

घना जनसंख्या भएको स्थानमा संक्रमणको लहरले चिकित्सा स्रोतको मागमा अकस्मात् अत्यधिक बढोत्तरी हुन सक्छ, जसले जनस्वास्थ्य प्रणालीलाई पंगु बनाउन सक्छ । यसअघि चीनले हङकङको दुर्भाग्यपूर्ण अनुभवबाट पाठ सिकेको छ । सरकारले लकडाउन खुकुलो बनाएपछिको अवस्थामा यदि स्वास्थ्य आवश्यकता तुरुन्तै पूर्ति गर्न सक्दैन भने मृत्युदर विशेषतः वृद्धमाझ बढ्न सक्छ ।

सम्भवतः यस्तो सम्भावित विपत्तिबाट जोगिन विभिन्न राष्ट्रले महामारी–नियन्त्रण उपायलाई बिस्तारै खुकुलो बनाएका थिए । यस सन्दर्भमा बलियो केन्द्रीकृत नियन्त्रण भएको चीनका लागि अस्थायी मात्र नभई भौगोलिक रूपमा पनि बिस्तारै महामारी नियन्त्रणका उपाय अवलम्बन गर्न सहज छ ।

विगत ४० वर्षमा भएको चीनको आर्थिक सुधार र खुलापनबाट पाठ सिक्न सकिन्छ । अकस्मात सम्पूर्ण अर्थतन्त्रलाई वैदेशिक व्यापारका लागि खोल्नुको सट्टा चीनले आफ्ना चार मुख्य सहरमा विशेष आर्थिक क्षेत्र स्थापना गर्यो । लगत्तै १४ अन्य तटीय सहर पहुँचयोग्य भए । त्यसपछि यसले बिस्तारै देशका बाँकी भागमा अहिले–प्रमाणित पद्धति लागू गर्यो ।
व्यावहारिक हिसाबले यो प्रगतिशील दृष्टिकोणले स्पष्ट फाइदा गरेको छ । केन्द्र सरकार व्यवस्थापन गर्न पनि सफल भयो । त्यसबाहेक प्रयोग गर्न, ज्ञान हासिल गर्न र तथ्यांक संकलन गर्न सक्षम पनि भयो, जसले आत्मविश्वास बढायो र परिवर्तनलाई निर्देशित गर्यो । यससँगै चीन आफ्ना प्रयासलाई सहयोग गर्न देशभरबाट प्रतिभा उत्पादन गर्न पनि सक्षम भयो । 

जिरो कोभिडबाट बाहिर निस्किँदा चीनले उल्लिखित दृष्टिकोण अपनाउन सक्छ, अर्थात् उच्च जोखिममा एवं राम्रो स्रोत भएका गुआन्झाउजस्ता सहरमा ‘विशेष स्वास्थ्य क्षेत्र’ निर्माण गर्न सक्छ । त्यस्ता क्षेत्रका जनताले महामारी प्रतिबन्धमा राहत पाउनेछन् तर अन्य सहर र क्षेत्रमा हुने आवागमनमा केही सीमितता भने सामना गर्नुपर्नेछ ।

महामारी प्रतिबन्धलाई खुलाउनुअघि चिनियाँ सरकारले यी क्षेत्रमा प्रतिबन्ध खुकुलो बनाउँदा पर्ने प्रभावका तथ्यांकबारे जानकारी लिन सकिन्छ । यदि ‘विशेष स्वास्थ्य क्षेत्र’मध्ये कुनै एकमा पनि स्वास्थ्य संकट निम्तिन्छ भने यसलाई नियन्त्रण गर्न सकिनेछ, किनभने जिरो कोभिड नीति लागू भएका क्षेत्रबाट महत्वपूर्ण चिकित्सा आपूर्ति र कर्मचारी आपूर्ति गर्न सकिनेछ । चीनसँग यस प्रकारको स्रोत संकलनको अनुभव छ । वर्षको सुरुवातमा सांघाईको लकडाउनका समयमा १५ विभिन्न चिनियाँ प्रान्तबाट ३८ हजारभन्दा बढी स्वास्थ्यकर्मी सहयोगका लागि सहरमा भित्रिएका थिए । यद्यपि, शून्य–कोभिडबाट उम्कनका लागि गम्भीर अग्रिम योजनासाथ स्रोत संकलन धेरै ठूलो मात्रामा सञ्चालन गर्न आवश्यक छ ।

स्रोतलाई उप–राष्ट्रियस्तरमा जम्मा गरिनुपर्छ । एउटा क्षेत्रमा भएको अपुग मागका अवस्थालाई छिमेकी क्षेत्रबाट आपूर्ति गर्नुपर्छ । यो उपायले यातायातलाई छिटो र सस्तो बनाउँदै तुलनात्मक रूपमा छोटो दूरीमा स्रोत पु¥याउन सजिलो हुनेछ ।
तर, यो उपायमा उल्लेखनीय सीमितता छन् । ‘विशेष स्वास्थ्य क्षेत्र’नजिकका क्षेत्र आर्थिक रूपले बलियो छ र पर्याप्त मात्रा र संख्यामा चिकित्सकीय सामग्री र पर्याप्त जनशक्ति छ भने यो उपाय सफल नै रहला, तर यदि यसो हुँदैन भने आपूर्ति गर्ने छिमेकी क्षेत्रमै अभाव निम्तिने खतरा हुन सक्छ । 

यसको विकल्पमा क्षेत्रीय स्रोत संकलनको योजना ल्याउन सकिन्छ, जसलाई राष्ट्रियस्तरको स्रोत संकलनले भने सहयोग गर्नुपर्छ । यसो गर्दा लामो दूरीमा पनि चिकित्सकीय सामग्री र पर्याप्त जनशक्ति पठाउन सकिन्छ ।

यो बृहत् कार्यका लागि केन्द्र सरकार र सबै तहका उपराष्ट्रिय सरकारले योजना निर्माण र समन्वय गर्न आवश्यक छ । स्थानीय सरकारले ‘अनावश्यक’ चिकित्सा स्रोत पहिचान गरी स्रोत ‘संकलन’मा योगदान गर्छ भने पनि स्थानीय सेवाको गुणस्तरमा खासै गिरावट आउनेछैन । केन्द्र सरकारले विभिन्न क्षेत्रका स्रोत निर्बाध रूपमा सहयोग गर्न सुनिश्चित गर्न मानकीय परिचालन प्रक्रिया निर्माण गर्नुपर्छ ।

त्यसैगरी केन्द्र सरकारले क्षेत्रीय केन्द्रमा ढुवानीका लागि चिकित्सा स्रोत राख्न एक वा धेरै केन्द्रीकृत वितरण केन्द्र सिर्जना गर्न सक्छ । केन्द्र सरकारले मागअनुसार विशेष स्वास्थ्यकर्मीको टोलीलाई विशेष स्वास्थ्य क्षेत्रमा खटाउन पनि सक्छ । सौभाग्यवश चीनको उच्च केन्द्रीकृत राजनीतिक प्रणाली यस्ता ठूला र जटिल प्रयास अनुकूल छ ।

विरोध प्रदर्शन चर्किंदै गए पनि जिरो कोभिडबाट चीन रातारात मुक्त हुनेछैन, बरु चीनको आर्थिक सुधार र खुलापनझैँ जिरो कोभिड नीति क्रमिक एवं नियन्त्रित ढंगले बिस्तारै हट्दै जानेछ । तर, यसका लागि चीनका नेता चार दशकअघिको तुलनामा तीव्र ढंगले अघि बढ्नुपर्छ । चीनसँग सावधानीपूर्वक तयार गरिएको परिचालन रणनीतिका साथ जिरो कोभिड नीतिलाई हटाउन सक्ने राम्रो मौका छ ।

(याङ लन्डन बिजनेस स्कुलका सह–प्राध्यापक हुन्, झाङ युनिभर्सिटी अफ हङकङमा कानुनकी सह–प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट
 

सुझावित समाचार