अपेक्षित नतिजा नआए पनि सत्तागठबन्धनको पक्षमा जनादेश, अहिलेकै गठबन्धनको निरन्तरता आवश्यक

बुधबार, १४ मंसिर, २०७९
डिजिटल संस्करण

एकीकृत समाजवादीको निर्वाचन समीक्षा

एकीकृत समाजवादीले अपेक्षित नतिजा नआए पनि गठबन्धनको पक्षमा जनादेश प्राप्त भएको र वर्तमान सत्तागठबन्धनलाई नै निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको प्रारम्भिक समीक्षा गर्दै उसले सत्तारूढ गठबन्धनको निरन्तरता आवश्यक रहेको औँल्याएको हो ।

सत्तारूढ दलमध्ये एकीकृत समाजवादीले पहिलोपटक गठबन्धनबारे संस्थागत धारणा सार्वजनिक गरेको हो । मंगलबार बसेको सचिवालय बैठकले केही कमजोरीका बाबजुद गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ । अन्य दल पनि चाँडै बैठक बसेर निर्वाचनको समीक्षा गर्ने तयारीमा छन् । 

अध्यक्ष माधव नेपालका अनुसार निर्वाचनको सबै परिणाम आएपछि विस्तृतमा समीक्षा हुनेछ । ‘देश कतै दक्षिणपन्थी दिशातर्फ त जाँदैन भन्ने कुरालाई गम्भीरताका साथ लिनुपर्ने र सतर्क हुनुपर्ने आवश्यकता महसुस गर्‍यौँ । यस हिसाबमा गठबन्धन दलहरूसँगको सहकार्यलाई अगाडि बढाएर लानुपर्छ । राजनीतिक घटनाक्रमका विकास सँगसँगै थप नीति तय गर्छौँ,’ बैठकपछि नेपालले भने । वाम गठबन्धनबाट सरकार बनाउने सम्भावना नदेखिएको नेपालले स्पष्ट गरे । वाम गठबन्धनबाट सरकार बन्ने सम्भावना छ भन्ने प्रश्नमा नेपालले भने, ‘अहिले त्यस्तो सम्भावना छैन ।’

इलामको परिणाम अस्वीकार
बैठकमा देशभरबाट प्राप्त परिणामबारे छलफल भएको थियो । बैठकको अधिकांश समय इलाम र उदयपुरबारे छलफल भएको सचिवालयका एक नेताले बताए । इलाममा धाँधली र गठबन्धनमा अन्तर्घात भएको र उदयपुरमा कांग्रेसका बागीका कारण परिणाम नकारात्मक आएको निष्कर्ष समाजवादीको छ । एकीकृत समाजवादीले इलाममा पुनः मतदानको माग गरेको छ । इलाममा अनेकौँ खालका विसंगति भएको भन्दै समाजवादीले कानुनी उपचार खोज्ने भएको छ । 

बैठकमा सम्मानित नेता झलनाथ खनालले इलाममा भएको धाँधली, गठबन्धन दल कांग्रेसका केही कार्यकर्ताले गरेको अन्तर्घातको विषय उठाएका थिए । उनले समस्या समाधानका लागि पार्टीले कानुनी उपचार खोज्नुपर्नेमा जोड दिएका थिए ।

अहिलेकै गठबन्धन रहन्छ, अर्को गठबन्धनको धरातल छैन : खनाल

सत्तारूढ गठबन्धन दलमध्ये सबैभन्दा पहिला एकीकृत समाजवादीले संस्थागत समीक्षा गर्‍यो । निष्कर्ष के निकाल्नुभयो ?
हामीले सचिवालय बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा गर्‍यौँ । कतिपय क्षेत्रमा गठबन्धनले पूरै काम गरेको छ । कतिपय क्षेत्रमा केही प्रतिशतले काम गरेको छ । केही क्षेत्रको कमी–कमजोरीबाहेक गठबन्धन सफल भएको प्रारम्भिक निष्कर्ष निकालेका छौँ । विस्तृत समीक्षा निर्वाचनको सबै परिणाम आइसकेपछि हुनेछ । 

बैठक इलाम र उदयपुरको समीक्षामा केन्द्रित भएछ । तपाईंले के विषय उठाउनुभयो ?
२५ वटा मतपेटिका गनेर त्यसको मतपरिणाम निकाल्दा खसेको मतभन्दा चार सय ३७ मत कम आयो । मतगणना गर्दा चार सय ३७ मत गायब भएका छन् । यो मत कसले, किन, कहाँ गायब गरेको हो ? यसले षड्यन्त्रमा गणना गरिएको स्पष्ट देखिन्छ । जनताले दिएको मतमाथि कसैले पनि कुठाराघात गर्न पाइँदैन । जनतालाई निर्वाचन आयोगले जवाफ दिनुपर्छ । यी मत कहाँ गए भनेर स्पष्ट रूपमा जवाफ दिए हार तथा जित स्विकार्छु । जनताले दिएको मत सम्मानपूर्वक स्पष्ट रूपमा गणना हुनुपर्छ । 

निर्वाचन आयोगले अहिलेसम्म जवाफ दिएको छैन ?
प्रमुख निर्वाचन आयुक्तसँग पनि कुराकानी गरेँ । उहाँले जिम्मेवारीपूर्ण जवाफ दिनुभएन । मतपेटिकामा जति मत खसेका छन् त्यसलाई कायम गर्ने बताउनुभयो । र, मतगणना जारी गर्नुभयो । उसो भए चार सय ३७ मत कहाँ गयो त ? व्यापक धाँधली भएको पाइयो । पटक–पटक गल्ती हुँदा पनि निर्वाचन अधिकृतले वास्ता गरेनन् । निर्वाचन परिणाम पारदर्शी हुनुपर्छ, म हार स्वीकार गर्न तयार छु । 

गठबन्धनमा पावर सेयरिङ कसरी मिल्छ त ?
हामी अहिलेसम्म पावर सेयरिङको विषयमा प्रवेश गरेका छैनौँ । निर्वाचनको सबै नतिजा आउन बाँकी नै छ । पार्टीहरूले आन्तरिक समीक्षा गर्न पनि बाँकी छ । गठबन्धनको बैठक बसेकै छैन । अब, पार्टीहरूले समीक्षा गर्छन् । गठबन्धनले समीक्षा गर्छ । त्यसपछि पावर सेयरिङको कुरा स्वाभाविक रूपमा हुन्छ । 

वाम गठबन्धनको विषय पनि विभिन्न रूपमा उठेको देखिन्छ । गठबन्धन यही रहन्छ कि विकल्प खोज्नुहुन्छ ?
स्थिरता, विकास र समृद्धिको नारा लिएर सत्तारूढ गठबन्धन निर्वाचनमा गएको हो । अपेक्षित नतिजा नआए पनि गठबन्धनको पक्षमा जनादेश प्राप्त भएको छ । त्यसकारण अब पनि गठबन्धन यही रहन्छ । अर्को गठबन्धनको धरातल बनेको छैन ।

सुझावित समाचार