यान्त्रिक अवस्था ठीक नभएका सुमो चल्छन् काठमाडौं–हेटौँडा रुटमा

मंगलबार, १३ मंसिर, २०७९
डिजिटल संस्करण
यान्त्रिक अवस्था ठीक नभएका सुमो चल्छन् काठमाडौं–हेटौँडा रुटमा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार कीर्तिपुरमा गरेको सवारीसाधनको विशेष चेकजाँच ।

काठमाडौं–हेटौँडा रुटमा जोखिमपूर्ण यान्त्रिक अवस्था रहेका सार्वजनिक सवारीसाधन चल्ने गरेको ट्राफिक प्रहरीको चेकजाँचका क्रममा फेला परेको छ । ह्यान्ड ब्रेक नभएका, लाइटसमेत नभएका तथा कालो धुँवा फाल्ने ३० वटा सवारीसाधनलाई ट्राफिक प्रहरीले सोमबार कारबाहीको दायरामा ल्याएको हो । 

२२ वटा सवारीसाधनलाई जरिवाना गरिएको र आठवटालाई थप यान्त्रिक परीक्षणका लागि नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी अवदेश विष्टले बताए । 

अवदेश विष्ट, एसपी, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय 
दक्ष तालिमप्राप्त प्राविधिकसहितको टोलीबाट विशेष चेकिङ गरेका थियौँ । यसक्रममा कतिपय सवारीसाधनको ह्यान्ड ब्रेक नभएको, लाइटहरू नभएको, कालो धुँवा फाल्ने र टायर धेरै घिस्रिएको अवस्था देखियो । उनीहरूलाई कसुरअनुसार जरिवाना गराएका छौँ ।

काठमाडौंको कीर्तिपुरमा सोमबार दिउँसो ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनको विशेष यान्त्रिक चेकिङ गरेको थियो । यस क्रममा अवस्था ठीक नभएका टाटा सुमो, फोर्स तथा पानीका ट्यांकरलगायत सवारीसाधनका चालकलाई कारबाही गरिएको थियो । ती सवारीसाधन हेटौँडाबाट काठमाडौं आउँदै गरेका थिए । खासगरी सुमो गाडीले यान्त्रिक अवस्था ठीक नराख्ने गरेको फेला परेको थियो । 

कालो धुँवा फाल्ने र ह्यान्ड ब्रेक ठीक नभएका आठवटा सवारीसाधनलाई थप यान्त्रिक परीक्षण गर्नुपर्ने भएकाले नियन्त्रणमा लिएको एसपी विष्टले बताए । ‘हामीले दक्ष तालिमप्राप्त प्राविधिकसहितको टोलीद्वारा सोमबार दिउँसो विशेष चेकिङ गरेका थियौँ,’ एसपी विष्टले भने, ‘यसक्रममा कतिपय सवारीसाधनको ह्यान्ड ब्रेक नभएको, लाइटहरू नभएको, कालो धुँवा फाल्ने र टायर धेरै घिस्रिएको अवस्था देखियो । उनीहरूलाई कसुरअनुसार जरिवाना गराएका छौँ ।’

अवस्था ठीक नभएको सवारीसाधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले सम्भावित जोखिम कम गर्न सवारीसाधनको अवस्था चेकजाँच गर्न थालिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  नायब उपरीक्षक (डिएसपी) दलराम टमाटाको कमान्डमा ट्राफिक प्रहरी टोलीले चेकजाँच गरेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अवस्था ठीक भएका सवारीसाधन मात्रै सञ्चालन गर्न यातायात व्यवसायी, सवारीधनी तथा चालकलाई अनुरोध गर्दै आएको छ । दसैँको मुखमा पनि यसैगरी चेकजाँच गर्दा धेरै सार्वजनिक यातायातको अवस्था ठीक नभएको फेला परेको थियो । कतिपय दुर्घटना सवारीसाधनको खराब अवस्थाका कारण हुने गरेका छन् । 

तीव्र गतिमा सवारीसाधन चलाउनेलाई पनि अब ट्राफिक कक्षा
तीव्र गतिमा सवारी चलाउनेमाथि उपत्यकामा ट्राफिक प्रहरीले अब थप कडा कारबाही गर्ने भएको छ । यस्तो ट्राफिक नियमसम्बन्धी कसुरमा समेत अब ट्राफिक शिक्षासम्बन्धी कक्षा लिनुपर्ने भएको छ । 

१५ मंसिरदेखि यो नियम लागू गर्न लागिएको उपत्यका ट्राफिक कार्यालयका एसपी अवदेश विष्टले बताए । तीव्र गति तथा नागबेली शैलीमा सवारीसाधन चलाउनेलाई एक हजार जरिवानाका साथै ट्राफिक कक्षा अनिवार्य गर्न लागिएको हो । धेरैजसो दुर्घटनाको मुख्य कारण तीव्र हुने गरेको छ । 

सुझावित समाचार