रोबर्ट लेवान्डोस्कीले विश्वकप फुटबल प्रतियोगितामा एक दशक लगाए । विश्वकपमा एक गोल गर्दा पनि इतिहास बन्छ । अझ कुनै खेलाडीले ह्याट्रिक गरेको अवस्थामा थुप्रै रेकर्ड नै बन्छन् । विश्वकपमा एक गोल गर्नु खेलाडीको सपना हुन्छ । सन् १९९४ को विश्वकपमा रसियाका ओलेग सालेन्कोले यस्तो रेकर्ड बनाए, जुन अहिलेसम्म पनि अजेय रहेको छ । सो विश्वकपमा रसियाले क्यामरुनविरुद्ध ६–१ को सानदार जित निकालेको थियो । सो खेलमा ओलेग सालेन्को चम्किएका थिए ।
विश्वकप इतिहासमै रसियाले फराकिलो अन्तरले जित निकाल्दा सालेन्कोले पाँच गोल एक्लैले गरेका थिए । खेलको १५औँ मिनेटमा क्यामरुनको कमजोर डिफेन्सको फाइदा उठाउँदै उनले पहिलो गोल गरे । सालेन्कोले मध्यान्तरअघि नै ह्याट्रिक पूरा गरिसकेका थिए । खेलको ४४औँ मिनेटमा उनले डिबक्सभित्र सहजै गोल गरी प्रतियोगितामा पहिलो ह्याट्रिक गर्न सफल भए ।
सालेन्को यतिमै रोकिएनन् । उनले खेलको ७२औँ र ७५औँ मिनेटमा थप दुई गोल गरे । खेलमा उनी नै म्यान अफ दी म्याच भए । क्यामरुनबाट कीर्तिमानी रूपमा रोजर मिलाले खेलको ४६औँ मिनेटमा एक गोल फर्काएका थिए । सालेन्कोले रसिया टोलीबाट आठ अन्तर्राष्ट्रिय खेलमा ६ गोल गरेका छन् । यसअघि उनी युक्रेनी टोलीमा थिए । युक्रेनबाट सन् १९९२ मा एकपटक अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका सालेन्कोले करिअर रसियन क्लबमै बिताए । क्लबस्तरीयमा उनले दुई सय ४८ खेलमा ८६ गोल गरेका छन् ।