हिन्दी भाषालाई देशव्यापी बनाउने प्रस्तावको विरोधमा आत्मदाह

सोमबार, १२ मंसिर, २०७९
डिजिटल संस्करण

हिन्दी भाषालाई देशव्यापी रूपमा प्रयोग गर्ने नयाँदिल्लीको प्रयासको विरोधमा दक्षिण भारतमा एक ८५ वर्षीयले आत्मदाह गरेको प्रहरीले आइतबार जनाएको छ । दक्षिणी राज्य तमिलनाडुका कृषक एमभी थंगावेलले पेट्रोल र मट्टीतेल खन्याएर आत्मदाह गरेका हुन् । 

आत्मदाह गर्दा उनले तमिल भाषाको “मोदी सरकार हिन्दी थोपर्न बन्द गर । हामीले साहित्यले भरिपूर्ण तमिलभन्दा हिन्दीलाई किन रोज्नुपर्यो ? यसले हाम्रा युवाहरूको भविष्यलाई असर गर्नेछ,” लेखिएको प्लेकार्ड बोकेका थिए ।

सयौँ भाषा बोलिने भारतमा भाषा निकै भावनात्मक मुद्दा हो । सन् २०११ को पछिल्लो जनगणनाअनुसार आधाभन्दा कम भारतीयले मात्रै हिन्दी बोल्न सक्छन् । तर, गत महिना भारतीय जनता पार्टीका नेता तथा गृहमन्त्री अमित शाहको नेतृत्वमा सांसदहरूको एक समूहले चिकित्सा र इन्जिनियरिङजस्ता प्राविधिक शिक्षालगायतमा हिन्दीलाई राष्ट्रिय आधिकारिक भाषा बनाउन सुझाव दिएको थियो । हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीले अंग्रेजीको सट्टा भारतीय भाषाको प्रयोगमा जोड दिँदै आएका छन् । 

यसले दक्षिण भारतमा विशेष आक्रोश उत्पन्न गरेको छ । थंगावेलले शनिबार तमिलनाडुको सत्तारूढ डिएमके पार्टीको सलेमस्थित कार्यालयबाहिर केन्द्र सरकारको उक्त प्रस्तावविरुद्ध प्रदर्शन गरेका थिए । यसअघि सन् १९६० को दशकमा पनि तत्कालीन सत्तारूढ कांग्र्रेस पार्टीले हिन्दीभाषालाई आधिकारिक राष्ट्रिय भाषा बनाउन खोजेपछि दक्षिण भारतमा आक्रोश उत्पन्न भएको थियो । 

सुझावित समाचार