गाडीमा बम्पर गार्ड राख्न नपाइने

शुक्रबार, ९ मंसिर, २०७९
डिजिटल संस्करण

दुर्घटनामा क्षति बढाएको भन्दै ट्राफिक प्रहरीले सवारीसाधनमा बम्पर गार्ड राख्न रोक लगाउने भएको छ । गाडी निर्माणकै क्रममा राखिएकाबाहेक बम्पर राखेमा कारबाही गर्ने ट्राफिक प्रहरीको तयारी छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आगामी सातादेखि यससम्बन्धी कारबाही सुरु गर्दै छ । सुरुमा यसबारे सूचना दिएर हटाउन लगाउने र नहटाए कारबाही गरिने ट्राफिक कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए । सवारीसाधन ‘मोडिफाई’ गरेको कसुरमा कारबाही गर्ने ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागको तयारी छ । ‘बम्परका कारण दुर्घटनामा क्षति बढेको हाम्रो निष्कर्ष छ,’ एसएसपी भट्टले भने, ‘एकातर्फ बम्परका कारण गाडीको ठक्करबाट बढी क्षति हुने जोखिम हुन्छ भने अर्काेतर्फ एयरब्याग नखुल्ने र यसबाट सम्बन्धित गाडीधनीलाई पनि बढी क्षति पुग्न सक्छ ।’ 

गाडी ठोक्किँदा कम क्षति होस् भन्ने उद्देश्यले धेरैले धातु वा रबरको बम्पर गार्ड राख्ने प्रवृत्ति छ । धातुको बम्परले ठक्कर दिँदा पैदलयात्रु बढी घाइते हुने र अर्काे सवारीमा पनि बढी क्षति पुग्ने सम्भावना हुन्छ । सोही आधारमा कारखानामै गाडी बनाउने क्रममा राखिएका बम्परबाहेक पछि थपिएको बम्पर गार्ड हटाउने अभियान सुरु गर्न लागिएको हो । केही दिन जानकारी दिने र १५ मंसिरदेखि कारबाही थाल्ने ट्राफिक प्रहरीको तयारी छ । 

यातायात व्यवस्था विभागसँग समन्वय गरेर ट्राफिकले यसमा कारबाही गर्ने निर्णय गरेको हो । विभागका महानिर्देशक डा.टोकराज पाण्डे पछि थपिने बम्पर गार्ड नियमविपरीत भएको बताउँछन् । बम्परका कारण गाडीको सेन्सरले समेत राम्रोसँग काम नगर्ने भएकाले यसबाट दुर्घटनाको बढी जोखिम हुने उनी बताउँछन् । 

ठूलो आवाज भएका मोटरसाइकल नियन्त्रणमा 
ठूलो आवाज भएका मोटरसाइकललाई बस्ती क्षेत्रमा चलाउन ट्राफिक प्रहरीले रोक लगाएको छ । त्यस्ता केही मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ । यस्ता मोटरसाइकलले ध्वनि प्रदूषण गरेकाले कारबाही थालिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । केही महँगा ‘स्पोर्टस्’ मोटरसाइकलको आवाज ठूलो हुने गरेको छ । त्यस्ता मोटरसाइकललाई बस्ती क्षेत्रमा रोक लगाउन लागिएको हो । 

सुझावित समाचार