ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित रामहरि खतिवडालाई सोही क्षेत्रमा उम्मेदवार रहेर पराजित भएका एमालेका यज्ञराज सुनुवारले बधाई दिएका छन् । मतपरिणाम घोषणापछि खतिवडालाई सफल कार्यकालको कामना गर्दै सुनुवारले खादामाला लगाएर पहिलो बधाई दिएका हुन् ।
चुनावी अभियानमा एक अर्काको कटाक्ष गर्ने नेताहरु परिणाम आएपछि हार्दिकताका साथ बधाई लेनदेन गरेका छन् । खतिवडालाई शुभकामना दिँदै सुनुवारले भने, ‘ओखलढुंगे जनताको अभिमतले राष्ट्रघात गर्ने लाइसेन्स बन्नुभएन । कमाउ गर्ने पेशा बनाउनुभएन । शिर उँचो राख्नेगरि जसरी मैले जनताको शिर उँचो राखेँ, तपाईलाई पनि सफलता मिलोस् हार्दिक शुभकामना । हामी एमालेका उम्मेदवारहरु पराजय व्यहोरेपनि जिल्लाको विकास र जनताको सेवामा रहन्छौं’ सुनुवारले बधाई दिदै गर्दा सुझाव दिएको स्मरण गर्दै खतिवडाले भने, ‘म हिँजो एउटा पाटीको चुनाव चिन्हबाट गठबन्धनको उम्मेदवार थिएँ । अब ५ वर्ष सबै जनताको प्रतिनिधि भएर काम गर्नेछु ।’

०७४ मा सुनुवार विजयी हुँदा खतिवडाले पनि बधाई दिँदै भनेका थिए–‘मैले हारेपनि जिल्लाले नहारोस् विकासले नहारोस् ।’ यो निर्वाचनमा खतिवडाले सोही शुभकामनाका शब्दहरु स्मरण गर्दै आफुले हार्दा विकासले हारेको भन्ने एजेण्डा बनाएका थिए ।
नेकपा एमाले ओखलढुंगाले जिल्लाबाट निर्वाचित तीनैजना सांसदलाई कार्यालयमै खादामाला लगाएर बधाई दिएको हो । ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा निवर्तमान सांसद यज्ञराज सुनुवारलाई ६,८१८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
खतिवडाले ३३,५५६ र सुनुवारले २६,७३८ मत ल्याएका छन् । २०७४ को निर्वाचनमा खतिवडालाई ५,२५३ मतले पराजित गर्दै सुनुवार विजयी भएका थिए । ओखलढुंगाका २ वटै प्रदेशसभामा समेत कांग्रेस–माओवादीका साझा उम्मेदवार विजयी भएका छन् । प्रदेश (क) मा कांग्रेसका प्रदीप सुनुवार र (ख) मा माओवादीका बाबुराम गौतमले चुनाव जितेका छन्।