०६६ सालमा भक्तपुर गट्ठाघरको विद्यादायिनी स्कुलबाट एसएलसी उत्तीर्ण गरेकी सोवितालाई सानोमा डाक्टर बन्ने इच्छा थियो । तर, सीधा र प्रस्ट बोली–व्यवहारका कारण उनलाई धेरैले कानुन विषय पढ्न सुझाए । उनले एसएलसपछि त्रिभुवन विश्वविद्यालय नेसनल ल कलेजबाट पाँचवर्षे बिए एलएलबी कोर्स पूरा गरिन् । त्यसयता उनी कानुन व्यवसायीका रूपमा काम गर्दै आइरहेकी थिइन् । सोवितासँग यसबाहेक पाँच वर्ष नेपाल टेलिभिजनमा स्वास्थ्य सरोकार कार्यक्रम चलाएको अनुभव छ । उनले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सहायक कानुनी सल्लाहकारका रूपमा पनि काम गरेकी छिन् । दोलखाको तामाकोसी गाउँपालिका जामुनेमा ०५२ मा जन्मिएकी गौतम भक्तपुरको गट्ठाघरमा हुर्किएर काठमाडौंमै पढाइ र संघर्ष सुरु गरेकी थिइन् ।
विद्यार्थीकालमा पढाइसँगसँगै अन्य कार्यमा पनि सोविता सहभागी हुन्थिन् । कलेज पढ्दाकै दौरान उनी समाजसेवासँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ–संस्थामा जोडिएर युवाको क्षेत्रमा काम गर्दै आइरहेकी थिइन् । ‘म सानैदेखि नै लगनशील थिएँ । यो वेला यस ठाउँमा आइपुग्छु भन्ने सोचेकी थिइनँ । तर पढाइ, अभियान र कामको दौरानमा मैले यहाँको राजनीतिलाई नजिकबाट नियाल्न पाएँ,’ उनले सुनाइन्, ‘सधैँ एउटै व्यक्ति वा पार्टी सत्तामा पुगिरहने राजनीति उनीहरूकै फाइदामा घुमिरहेकोबारे हामी युवाहरूबीच छलफल हुन्थ्यो ।’ उनले त्यो ठाउँ युवा पुस्ताले ओगट्नुपर्छ भन्ने सल्लाहपछि चुनावमा अघि सारेको र युवाको मनसायलाई काठमाडौंवासीले बुझेकाले खुसी व्यक्त गरिन् ।
काठमाडौं उपत्यकाका प्रतिनिधिसभातर्फका १५ सिटमध्ये १२ सिटको नतिजा सार्वजनिक भएको छ । भक्तपुरका २ सिट र ललितपुरको १ सिटको नतिजा आउन बाँकी छ । यस्तै, प्रदेश सभातर्फको ३० सिटमध्ये ६ सिटको नतिजा आएको छैन ।
गत वैैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नयाँ अनुहारलाई अनुमोदन गरेका काठमाडौंका मतदाताले प्रतिनिधिसभा निर्वाचनमा पनि नयाँलाई रोजेका छन् । यसपटकको निर्वाचनमा काठमाडौं २ ले हालसम्मकै कम उमेरकी सांसद पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी २७ वर्षीया सोविता गौतमले १५ हजार दुई सय २९ मतसहित यस क्षेत्रबाट प्रमुख दलका उम्मेदवारलाई पराजित गरेकी हुन् । हालसम्मको निर्वाचनमा परिणामअनुसार उनी हालसम्मकै सम्भवतः कान्छीसमेत हुन् ।
सोविताको जितले नेपालको राजनीति बुढापाकामै सीमित छ भन्ने भनाइलाई तोडेका छ । साथै सम्भावना बोकेका नयाँ पुस्तालाई मतदाताले स्थान दिन्छन् भन्ने ज्वलन्त उदाहरण पनि उनको जित बनेको छ । सो क्षेत्रमा उनी प्रमुख दलमा ‘हेभिवेट’सँग भिडेकी थिइन् । यस क्षेत्रबाट सत्तागठबन्धनबाट पूर्वसभामुख एवं माओवादी नेतृ ओनसरी घर्तीमगर, एमालेका मणिराम फुँयाल, राप्रपाकी कुन्ती पोखरेलले उम्मेदवारी दिएका थिए । ओनसरीले नौ हजार चार सय ४८, मणिरामले ११ हजार पाँच सय ५५, कुन्तीदेवीले ११ हजार चार सय १४ मत पाएका थिए ।
भक्तपुर १ र २ मा क्रमशः सुवाल र थापाको अग्रता
भक्तपुर १ मा नेपाल मजदुर किसान पार्ठी (नेमकिपा)का प्रेम सुवालले अग्रता लिएका छन् । उनले १५ हजार ६ सय ५२ मतसहित अग्रता लिएका हुन् । भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन् । उनले २२ हजार दुई सय ४८ मत प्राप्त गरेका छन् । एमालेका महेश बस्नेतले २१ हजार ६ सय ४३ मतसहित थापालाई पछ्याइरहेका छन् ।
ललितपुर ३ मा तोसिमाको अग्रता कायमै
ललितपुर ३ मा डा. तोसिमा कार्कीले प्रतिस्पर्धामा रहेका दुई उम्मेदवारको कुल मतभन्दा पनि बढी मत प्राप्त गरेकी छिन् । ३८ हजार चार सय २० मत गणना हुँदा कार्कीले १९ हजार चार सय ४१ मत प्राप्त गरेकी छिन् । उनका प्रतिस्पर्धी एमालेका अमृत खड्काले नौ हजार चार सय २२ मतसहित दोस्रो र गठबन्धनकी पम्फा भुसाल ६ हजार चार सय ६२ मत प्राप्त गरी तेस्रो स्थानमा छिन् । ललितपुरमा ६१ हजार सात सय ७६ मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालय, ललितपुरका अनुसार १६ वटा मतदान केन्द्रको मत गणना जारी छ । बिहीबार बिहानसम्म जिल्लाको सबै मतगणना सकिने निर्वाचन कार्यालयले जनाएको छ । तीनवटा क्षेत्र रहेको ललितपुरमा १ मा सत्तागठबन्धनबाट कांग्रेसका उदयशमशेर जबरा र क्षेत्र नम्बर १ मा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् ।
काठमाडौंमा कहाँ कसको जित ?

काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ६, ७, ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । क्षेत्र नम्बर ६ मा निर्वाचित खनालले प्राप्त गरेको मत १४ हजार दुई सय चार छ । उनका निकटतम प्रतिस्पर्धी एमालेका सर्वेन्द्र खनालले आठ हजार नौ सय ११ र कांग्रेसका भीमसेनदास प्रधानले आठ हजार आठ सय पाँच मत प्राप्त गरेका थिए ।
क्षेत्र नम्बर ७ मा निर्वाचित पराजुलीले आठ हजार सात सय ४३ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका श्यामकुमार घिमिरेले ६ हजार आठ सय मत पाएका थिए । माओवादीकी उम्मेदवार अस्मिता मानुषी यमीले ६ हजार ६३ मत प्राप्त गरेकी थिइन् । काठमाडौं ८ मा निर्वाचित श्रेष्ठले १० हजार एक सय पाँच मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले पाँच हजार आठ सय ८९ मत ल्याएका थिए ।
काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल, १ मा प्रकाशमान सिंह, ४ मा गगन थापा, ३ मा सन्तोष चालिसे निर्वाचित भएका छन् । काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ र १० मा कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित भएका छन् ।
प्रदेश सभातर्फ कहाँ कसको विजय ?
काठमाडौं :
कांग्रेस : काठमाडौं १ (क) मा दिपेन्द्र श्रेष्ठ, (ख)मा सुरजचन्द्र लामिछाने, काठमाडौं ३ (क) मा छिरिङ दोर्जे लामा, (ख) मा मिलन ठकुरी, काठमाडौं ४ (क) मा श्रीराम लामिछाने निर्वाचित छन् । त्यस्तै काठमाडौं ६ (क) मा हरिप्रभा खड्गी, काठमाडौं १० (क) मा पुकार महर्जन विजयी भएका छन् ।
एमाले : काडमाडौं ४ (ख) मा जयराम थापा, काठमाडौं ६ (ख) मा अमनकुमार मास्के, काठमाडौं ७ (ख) मा प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।
एकीकृत समाजवादी : काठमाडौं ७ (क) मा वसन्तप्रसाद मानन्धर, काठमाडौं १० (ख) रमा आले विजयी ।
राप्रपा : काठमाडौं ९ मा (क) नुरज बज्राचार्य, काठमाडौं २ (क) मा सुनील केसी र (ख) मा राजु विष्ट निर्वाचित भएका छन् ।
ललितपुर :
एमाले : ललितपुर १ (क)मा मधुसुदन पौडेल, ललितपुर २ (क) मा रामेश्वर श्रेष्ठ निर्वाचित भएका छन् ।
कांग्रेस : ललितपुर १ (ख) मीनकृष्ण महर्जन, ललितपुर २ (ख)मा रामकृष्ण चित्रकार निर्वाचित ।
भक्तपुर :
कांग्रेस : भक्तपुर १ (क) सुरेश श्रेष्ठ