प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा नेकपा माओवादी केन्द्रका रामकुमार राई पासाङले एमाले नेता विशाल भट्टराईलाई निरन्तर पछाडि पार्दै आएका छन्।
पछिल्लो मत परिणामअनुसार पासाङले ८२४ मतान्तरले अग्रता कायम गरेका छन्। हालसम्म २५,९१० मतगणना भइसकेको छ। माओवादी उम्मेदवार पासाङले १२ हजार १२५ मत प्राप्त गरेका छन्। एमालेका भट्टराईले ११ हजार ३०१ मत प्राप्त गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार कृष्णकुमार राईले ६९९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सर्जु श्रेष्ठले २८२, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेतले ४८, मंगोल नेसनल अर्गनाइजेसनका दीपक मगरले ८९, आमुल परिवर्तन मसिहा पार्टीका चन्द्रमणि राईले ४५ र स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईले १३५ मत प्राप्त गरेका छन्।
प्रतिनिधिसभा सदस्यका लागि ६७ हजार ३७३ मत खसेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश सुभाषबाबु पुरीले जानकारी दिए। खसेको मतमध्ये हालसम्म एक हजार १८६ मत बदर भएको जनाइएको छ।
प्रदेश सभा (क) मा भने एमालेका पाँचकर्ण राई ‘पिके’ ले पछिल्लो समय अग्रता लिएका छन्। २६ हजार ७९२ मतगणना हुँदा पिकेले दश हजार ५१३ मत प्राप्त गरेका छन् नेकपा (एकीकृत समाजवादी) का वीरलकाजीले ९ हजार ४१८ मत प्राप्त गरेका छन्।
एमाले उम्मेदवार पिके एक हजार ९५ मतले अगाडि छन्। प्रदेश सभा (क) को अन्तिम नतिजा आज राति अबेरसम्ममा आउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रदेश सभा (क) मा ३३ हजार ८९३ मत खसेको छ। खसेको मतमध्ये हालसम्म एक हजार ३११ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रदेश सभा (ख) मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका भूपेन्द्र राईले फराकिलो मतान्तर बनाएका छन्। एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दंगाललाई एक हजार १७६ मतले पछि पारेका छन्।
२८ हजार ६१९ मतगणना हुँदा गठबन्धनका उम्मेदवार राईले १३ हजार ७५५ मत प्राप्त गरेका छन्। एमालेका दंगालले १२ हजार ५७९ मत प्राप्त गरेका छन्। यस्तै, जनता समाजवादी पार्टी (जसपा)का प्रेमकुमार राईले ८३९, मंगोल नेसनल अर्गनाइजेसन पार्टीका विमला राईले ९८, नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले ९८, खम्बुवान राष्ट्रिय मोर्चा नेपालका सुवास राईले २८६ मत प्राप्त गरेका छन्।
प्रदेश (ख)मा बराहपोखरी गाउँपालिकाको मात्रै गणना गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। राति अबेरसम्ममा यहाँ पनि अन्तिम नतिजा आउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रदेश सभा (ख)मा ३३ हजार ४८० मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। खसेको मतमध्ये हालसम्म ९६४ मत बदर भएको जनाइएको छ। एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा ६७ हजार ३७३ मत मत खसेको छ।