मनाङमा ७१ दशमलव ४७ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय मनाङका प्रमुख पुष्पराज शर्माका अनुसार जिल्लामा ६ हजार ७७९ मतदाता रहेकोमा अस्थायी मतदातासहित ४ हजार ८ सय ४५ मत खसेको छ। जसमध्ये महिला २ हजार ४ सय ९१ र पुरुष २ हजार ४ सय ५८ जनाले मतदान गरेका छन्।
मनाङका चार गाउँपालिकामा २९ वटा मतदान केन्द्र कायम गरिएको थियो। मनाङमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए। जिल्लाको नार्पाभुमीबाट सदरमुकामसम्म मतपेटीका आउन समय लाग्ने भएकाले सोमबारबाट मात्र मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
एक प्रतिनिधिसभा र दुई प्रदेश सभा रहेको मनाङमा प्रतिनिधीसभातर्फ कांग्रेसका टेकबहादुर गुरुङ, एमालेका पोल्देन छोपाङ गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया गुरुङ चुनावी प्रतिस्पर्धामा छन्।
यस्तै प्रदेश सभा (क)तर्फ कांग्रेसका मुनिन्द्रजंग गुरुङ, एमालेका राजन गुरुङ र राप्रपाका मिफेल धिन्दु लामा प्रतिस्पर्धामा छन्। प्रदेश सभा (ख)तर्फ राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध निर्वाचित भइसकेका छन्। उनलाई निर्वाचन कार्यालयले निर्वाचित घोषित गर्न मात्र बाँकी रहेको छ।