सधैँ व्यापार व्यवसायमा व्यस्त रहने उद्योगी व्यवसायीहरू आइतबार बिहानैदेखि आगामी पाँच वर्षका लागि जनप्रतिनिधि चयन गर्न निर्वाचन प्रक्रियामा सक्रिय सहभागी भएका छन्। आर्थिक विकास र समृद्धिका एजेन्डाहरू अगाडि सारेर देशको सुन्दर भविष्य कोर्न सक्ने उम्मेदवारलाई मतदान गरेर जिताउन उनीहरूको आह्वान छ।
अघिल्ला निर्वाचनहरूमा आफ्नो दायित्व र कर्तव्य बिर्सिएर विदेश भ्रमणमा निस्किने गरेका उद्योगी व्यवसायीहरू यसपटकको निर्वाचनमा भने मतदानमा सक्रिय सहभागी भएको देखिन्छ। देशलाई सही नेतृत्व चयन गर्ने बेलामा विदेश भ्रमणमा जाने, तर पछि ‘सरकारले राम्रो काम गरेन, सांसदहरूले असल भूमिका निभाएनन्’ भन्दै गाली गर्ने प्रवृत्ति निजी क्षेत्रमा थियो।
देशको भविष्य निर्माणका लागि निर्वाचनमार्फत सक्षम नेतृत्व चयन गरेर असल मतदाताको भूमिका निर्वाह गर्न नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले आह्वान गरेका छन्। उनले काठमाडौंको कुलेश्वस्थित जनमैत्री स्कुलबाट मतदान गर्न लागेको बताए। उनले भने, ‘देशको आर्थिक समृद्धि र विकास निर्माणलाई ध्यानमा राखेर सही नेतृत्व चयन गरौं, ताकि भोलि गलत प्रतिनिधि चयन गरिएछ भनेर पछुतो मान्न नपरोस्।’
काठमाडौं–८ को सितापाइला माविमा रहेको केन्द्रबाट मतदान गरेपछि ट्विट गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतदानमा सक्रिय सहभागी हुन सबैमा आह्वान गरेका छन्। निर्वाचनले लोकतन्त्र परिपक्व बनाउने बताउँदै उनले लेखेका छन्, ‘सामाजिक न्यायसहितको खुला अर्थतन्त्रमा सबैले फक्रिने अवसर पाउँछन्। आज हामी लोकतन्त्र, सम्मानित जीवन, सामाजिक न्याय र समान अवसरका लागि निर्वाचनमा सहभागी भएनौँ भने आगामी पाँच वर्षमा परिवर्तन सम्भव नहुन सक्छ। त्यसैले मतदानमा सहभागी बनौँ।’
देशको समृद्धि र सुशासनको पक्षमा काम गर्ने, देशमा समृद्धि ल्याउन सक्ने विश्वास बोकेका उम्मेदवारलाई जिताएर पठाउनुपर्ने अध्यक्ष गोल्छाको भनाइ छ। उनले थपे, ‘जसले यो देशलाई अघि बढाउन सक्छ, जसले देशमा समृद्धि ल्याउनसक्छ र जोसँग विश्वास छ, जसले यो देशलाई राम्रो दिशा दिन सक्छ, त्यसैलाई भोट दिऔँ । यो हाम्रो नैतिक जिम्मेवारी पनि हो। संविधानले दिएको अधिकारबाट कोही पनि वञ्चित हुनु हुँदैन।’
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासको एजेन्डालाई अघि सार्ने किसिमको नेतृत्व चयन गर्न आग्रह गरेका छन्। काठमाडौंको विशाल नगरमा रहेको मतदान केन्द्र पुगेर मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको आर्थिक विकासको एजेन्डालाई अघि सार्ने किसिमको नेतृत्व चुन्नुपर्ने बताएका हुन्।
निर्वाचन देशको भविष्य निर्माणको पहिलो पाइला भएको हुँदा सक्षम उम्मेदवार चयनमा नचुक्न वरिष्ठ उपाध्यक्ष ढकालले आग्रह गरेका छन्। उनले भने, ‘निर्वाचन देशको भविष्य निर्माणको पहिलो स्टेप हो। आफ्नो मताधिकारको प्रयोग गरेर देशको भविष्य निर्माण गर्नको लागि सही व्यक्ति निर्वाचित गरेर पठाउनुस् ।’
महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले मतदान गरेको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेका छन्, ‘भोट हालियो। आशा गरौँ कि यसपालिको भोटले देशमा आर्थिक क्रान्ति ल्याउला।’
यस्तै, डलर अर्बपति विनोद चौधरीले सम्पूर्ण मतदातालाई समयमै मतदान केन्द्रमा गएर मतदान गर्न अनुरोध गरेका छन्। नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका उनले निर्वाचनमा विवेकपूर्ण तरिकाले मतदान गर्न आग्रह गरेका हुन्। उनी नवलपरासी पश्चिमबाट उम्मेदवार बने पनि नवलपुर (बर्दघाट–सुस्ता) पूर्वका मतदाता हुन् ।
सिने व्यवसायी (गोपीकृष्ण मुभिज) उद्धव थापाले मोरङ क्षेत्र नं ४ को विराटनगर– १० स्थित भानु प्राविबाट मतदान गर्दै नेपाल र नेपालीको सर्वोत्तम हित चिताई इमानसाथ देश सेवा गर्ने प्रणसहित मतदान गरेको सामाजिक सञ्जालमा लेखेका छन।
महासंघका कार्यकारिणी सदस्य प्रबलजंग पाण्डेले फेसबुकमा लेखेका छन्, ‘मैले त आफ्नो मताधिकार प्रयोग गरेँ, यहाँले गर्नुभयो?’ उनले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम नगर्न आममतदातालाई सुझावसमेत दिएका छन्। उनले भनेका छन्, ‘असल नेतृत्व छानौँ, हाम्रो देशको भविष्य हामी नेपालीकै हातमा छ, आजैबाट देशको भविष्य ५ वर्षसम्म हामीले छानेको व्यक्तिको हातमा जाँदै छ ।’
यस्तै, नाडा अटोमोबाइल एसोसिएसनका पूर्वअध्यक्ष कृष्णप्रसाद दुलालले पनि काठमाडौं क्षेत्र नम्बर ८ ‘ख’बाट मतदान गरेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष जिवा लामिछानेले पनि मतदान गरेको फोटो फेसबुकमा पोस्ट गरेका छन्।