गुह्येश्वरीमा रातभर तान्त्रिक पूजा

शुक्रबार, २ मंसिर, २०७९
डिजिटल संस्करण

पशुपति क्षेत्रको गुह्येश्वरीमा मनाइने दुईदिने गुह्येश्वरी जात्राका क्रममा बिहीबार रातभर गुह्येश्वरी मन्दिरमा बलिसहित तान्त्रिक र गुप्ती पूजा गरिएको छ । बिहीबार बेलुकी हनुमानढोका दरबारबाट तलेजु भवानीलाई गुह्येश्वरी लगेर मन्दिरमा रातभर बलिसहित तान्त्रिक र गुप्ती पूजा गरिएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण पक्ष नवमी र दशमी तिथिमा पशुपति क्षेत्रको गुह्येश्वरीमा गरिने गुह्येश्वरी जात्राको पहिलो दिन बिहीबार मन्दिर क्षेत्रमा लिंगो उठाइएको थियो । गुह्येश्वरी जात्राका लागि हनुमानढोकाबाट तलेजु भवानीको मूर्तिलाई गुह्येश्वरी लैजाने जिम्मा पशुपति सिर्जनशील युवा क्लबलाई दिइएको कार्यालय प्रमुख सुशीला शर्माले  जानकारी  दिइन् । जात्राका लागि तलेजु भवानीलाई दुई दिनसम्म गुह्येश्वरीमा राखिन्छ । 
 
जात्राका क्रममा आज बिहान गुह्येश्वरी र तलेजु भवानीको विशेष पूजापछि पशुपति क्षेत्रका विभिन्न स्थानमा गुह्येश्वरीको खट जात्रा गरिन्छ । जात्रा सकी आज राति मूर्ति तलेजु मन्दिरमै फर्काइने कार्यक्रम रहेको छ । नवमीदेखि दुई दिनसम्म पशुपति क्षेत्रमा गुह्येश्वरी जात्रा सञ्चालन गरिन्छ । यो जात्रामा गुठी संस्थान र गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा समेबजीलगायत तान्त्रिक विधिले पूजा गर्दा चढाइने चिजबिजसहित पूजा–आराधना गर्ने परम्परा छ ।

गुह्येश्वरी र तलेजुलाई दिदी–बहिनीका रूपमा पुजिने भएकाले दुवै मूर्ति उस्तै रहेको छ । गुह्येश्वरीलाई दिदी र तलेजुलाई बहिनीका रूपमा पुजिने गुह्येश्वरी मन्दिरका पुजारी जैन कर्माचार्यले बताए । मूर्ति तलेजु भवानीको मन्दिरबाट गुह्येश्वरी लैजाने सबै विधि तान्त्रिक प्रक्रियाबाट नै पूरा गरिन्छ ।  

गुह्येश्वरी मन्दिर क्षेत्रमा तलेजु भवानीलाई लैजानुअघि नै त्यहाँ ३२ हातको लिंगो पनि बिहीबार नै ठड्याइएको छ । जात्राका लागि लिंगो पशुपति क्षेत्रस्थित भण्डारखालबाट सालको रूख काट्ने गरिन्छ । यसका लागि गत वर्ष नै रूख काटिसकिएको जनाइएको छ ।

तान्त्रिक विधिपूर्वक पूजा सकेपछि जात्राका लागि ल्याइएको तलेजु भवानीको मूर्ति पशुपति सिर्जनशील युवा क्लबले नै फिर्ता गर्ने जिम्मा दिएको छ । क्लबले गुह्येश्वरीको खटलाई पशुपति मन्दिर परिक्रमा गराई पशुपतिनाथका मूलभट्टबाट विधिपूर्वक पूजा गराउने परम्परा छ । 

सुझावित समाचार