नेपाल–भारत सीमानाका बन्द

शुक्रबार, १ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा तथा प्रदेश सभाको ४ मंसिरमा हुने निर्वाचनका लागि आज मध्यराति १२ बजेदेखि मौन अवधि कार्यान्वयन गराउन नेपाल भारत सीमानाका बन्द गरिएको छ । 

निर्वाचन आयोगको निर्देशनमा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायमार्फत भारतसँग समन्वय गरी नाकाहरू बन्द गरिएको हो । मतदान नसकिएसम्म नाकाहरू बन्द हुनेछन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदानको तीन घन्टाअघिदेखि मतदान समाप्त नभएसम्म मतदान केन्द्रमा खटिएका व्यक्ति वा कर्मचारीलाई बाधा हुने गरी कुनै काम गर्न नपाइने बताए ।  ‘मतदान केन्द्र रहेको घर, भवन वा सो स्थलवरिपरि असर पर्ने गरी शान्ति भंग गर्ने वा भय, त्रास पैदा हुने गरी निर्वाचन वातावरण बिथोल्न पाइँदैन । मतदानस्थलवरिपरि साउन्ड सिस्टम राख्ने, ठूलो स्वरले बजाउन पाइँदैन । बाजागाजा बजाउने, नाचगान, भोजभतेर गर्ने, जुलुस प्रदर्शन, जुनसुकै किसिमको सभा, समारोह गर्न, हुलहुज्जत, होहल्ला गर्न पाइँदैन,’ उनले भने । आचारसंहिताविपरीतका यी गतिविधि गरेमा निर्वाचन कसुर सजाय ऐनअनुसार कारबाही हुनेछ । 

चुनावको वेला नाका बन्द गर्न भारतीय पक्षलाई आग्रह भइसकेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । निर्वाचनको ७२ घन्टाअघि नाका बन्द हुने, तर अत्यावश्यक अवस्थामा भने आवातजावत गर्न पाइनेछ । 

त्यस्तै, निर्वाचनका लागि सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मतदानको दिन ४ मंसिर र भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय भएको हो । मतदानको दिन कर्मचारी अबेरसम्म खटिनुपर्ने र भोलिपल्टै कार्यालय गएर काम गर्न कठिन हुने भएकाले ५ गते पनि बिदा दिने निर्णय गरिएको उनले बताए ।

निर्वाचनको अघिल्लो दिन ३ मंसिरमा शनिबार परेकाले सार्वजनिक बिदा छ । मतदानस्थल रहेका विद्यालयमा भने २ देखि ५ मंसिरसम्म बिदा दिने निर्णय गरिएको छ । अधिकांश मतदानस्थल विद्यालयमा छन् । गत ३० वैशाखको स्थानीय निर्वाचनमा मतदानको दिन मात्र सार्वजनिक बिदा दिइएको थियो । 

सुझावित समाचार