निर्वाचन नजिकिँदै जाँदा काठमाडौं १ मा चुनावी रापताप बढिरहेको छ । यस निर्वाचन क्षेत्रबाट वाम–लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, एमालेका युवा नेता किरण पौडेल, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बमलगायतका नेता चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका छन्।
एमालेको भ्रातृ संगठन युवा संघ, नेपालका अध्यक्ष रहेका किरण पौडेल मतदातामाझ आफूलाई एमाले पार्टीको मात्रै नभएर युवाहरूको सोचको प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा चिनाइरहेका छन् ।
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त मत परिणाम हेर्दा यो क्षेत्रमा कांग्रेस अगाडि छ । पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले नाै हजार आठ सय ९५ मत पाएकाे थियाे । जुन एमालेभन्दा तीन सय ५४ मतले मात्रै बढी हो । एमाले वडाध्यक्षहरूले यो क्षेत्रमा नाै हजार पाँच सय ४१ मत पाएका थिए । यो निर्वाचन क्षेत्रमा राप्रपा वडाध्यक्षले पाएको मत एक हजार तीन सय ७६ र माओवादी केन्द्रका वडाध्यक्षहरूले एक हजार एक सय ५९ मत मात्रै पाएका थिए ।
कुल ५४ हजार १८ मतदाता रहेको यस क्षेत्रमा प्रदेश सभा (क)मा २६ हजार चार सय ३५ र प्रदेश सभा (ख)मा १८ हजार पाँच सय ८३ मतदाता छन्। तीमध्ये २३ हजार चार सय ४८ महिला र २१ हजार पाँच सय ७० पुरुष मतदाता छन्। यस निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाका १०, ११, २९ र ३१ वडा समेटिएका छन्।