चुनावी रौनकले नछोएको मूलखर्क

बिहिबार, १ मंसिर, २०७९
डिजिटल संस्करण
चुनावी रौनकले नछोएको मूलखर्क

काठमाडौंको पूर्वी क्षेत्रमा रहेको मूलखर्क । देशैभर चुनावी रौनक छाए पनि यहाँ भने सुनसान छ । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

देशैभर चुनावी सरगर्मी बढेका वेला राजधानी नजिकैको मूलखर्कमा भोटको चर्चा खासै सुनिँदैन, निकुञ्ज क्षेत्रभित्रको यो बस्तीबारे बेखबर छ काठमाडौं

आगामी ४ मंसिरमा हुने निर्वाचनले देशैभर राजनीतिक सरगर्मी बढेको छ । मतदानको समय नजिकिएसँगै उम्मेदवारहरू भोट माग्दै गाउँबस्ती छिरेका छन् । आफ्नो पक्षमा भोट तान्न प्रतिस्पर्धा चलेको छ । तर, राजधानीमास्तिरकै एउटा बस्तीलाई भने चुनावको खासै रौनक छैन । राजनीतिक सरगर्मी, चुनावी बहस, भोटको चर्चा खासै सुनिँदैन । 

मूलखर्क काठमाडौंमै पर्छ । संघीय राजधानी काठमाडौंमै परे पनि यो बस्ती ‘टुकीमुनिको अँध्यारो’जस्तो लाग्छ । संरक्षित क्षेत्रको गतिविधि जसरी बाहिरी दुनियाँसँग अलग र एकान्त छ, निकुञ्ज क्षेत्रभित्रको यो बस्तीबारे काठमाडौं बेखबर छ । 

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने यो बस्तीमा अनेकौँ समस्या छन् । तर, ती समस्याको समाधान त परै जाओस्, गहन सुनुवाइसम्म पनि भएको छैन । चुनाव आउँदा उम्मेदवारहरूले हुलमुलमा बस्तीका समस्या समाधानको घोषणा त गर्छन्, तर त्यसअघि अर्को चुनाव आइसक्छ अनि पुरानै आश्वासन दोहोरिन्छन् । 

बस्ती राजधानीसँग जोडिए पनि यसलाई निकुञ्जको तगारो छ । निकुञ्जको सीमा पनि धेरै ठूलो समस्या थिएन, तर यहाँ आधारभूत सुविधाकै कमी छ । जस्तो कि घाँस–दाउरा गर्न समस्या छ । निकुञ्जले घेरिएको बस्ती भएकाले गुजाराका लागि घाँस–दाउरा गर्न जाँदा कहिलेकाहीँ निकुञ्ज सुरक्षार्थ खटिएको सेनाले दुःख दिने गरेको स्थानीय बताउँछन् । 

मंगलबार घाँस–दाउरा गरेर फर्किएका माइली तामाङ र ठूली तामाङ निकुञ्ज सुरक्षा अधिकारीहरूले देख्छन् कि भनेर हतासमा थिए । ‘यहाँ घाँस–दाउरा गर्न अप्ठ्यारो छ, आर्मीले देखे केरकार गर्छ,’ एकै स्वरमा उनीहरूको गुनासो थियो । स्थानीयको हकमा सुकेका दाउरा र घाँस काट्न निकुञ्जले अनुमति दिए पनि त्यस्तो कडाइमा रहन सहज छैन । पशुपालन गरेर गुजारा गर्ने र घाँस–दाउरा गरिरहनुपर्नेलाई निकुञ्ज अधिकारीको सोधीखोजी र केरकारले अप्ठ्यारो पारिदिन्छ । ‘वरिपरि सबै निकुञ्ज क्षेत्र हो,’ सानुकान्छा गुरुङ भन्छन्, ‘अन्त कहाँ जानू !’ बाक्लो जंगल क्षेत्र भएकाले वन्यजन्तुको समस्या पनि छ यहाँ । 

निकुञ्ज क्षेत्र भएकाले सुरक्षाका हिसाबले आवतजावत पनि त्यति सहज छैन । स्थानीयलाई आवतजावत गर्न रोकतोक नभए पनि निकुञ्ज अधिकारीहरूलाई चिनाइरहनुपर्छ । कोही बाहिरी मान्छे आउँदा शुल्कसहितको अनुमति चाहिन्छ । स्थानीयलाई निष्फिक्री आवतजावतका लागि परिचयपत्रलगायत व्यवस्था छैन । 

राजधानी जिल्ला नै भएर पनि यातायातको सहज पहुँच छैन 

गोकर्णेश्वर नगरपालिका– १ मा पर्ने यो बस्ती दूरीका हिसाबले सहरबाट धेरै टाढा होइन । गोकर्णेश्वर बसपार्कबाट डेढदेखि दुई घन्टा पैदल हिँड्दा पुगिन्छ । तर, हिँड्न नसक्ने र सबै अवस्थामा सबैका लागि पैदल सहज हुँदैन । 

सडक त छ, तर यहाँ यातायातको सहज पहुँच छैन । सडकको अवस्था पनि त्यति राम्रो छैन । स्वास्थ्य उपचारलगायत कामका लागि अपर्झट काठमाडौं झर्न परे सार्वजनिक यातायात पाउन मुस्किल रहेको तारा तामाङ बताउँछिन् । ‘दिनमा एकपटक मात्र बस ओहोरदोहोर गर्छ,’ उनी भन्छिन्, ‘त्यो पनि मुस्किलले मात्र भेटिन्छ ।’ उनका अनुसार बिहान ४ बजे छुट्ने बस बेलुकी मात्र फर्किन्छ । आफ्नो व्यक्तिगत सवारीसाधन नहुनेलाई आतेजाते गर्न समस्या हुने उनको गुनासो छ । ७० वर्षे मानबहादुर तामाङ भन्छन्, ‘बिरामी हुँदा र अपर्झट पर्दा आतेजातेमा समस्या छ ।’ निकुञ्ज कटेर आउनुपर्ने हुँदा त्यहाँ उपभोग्य वस्तु सहरमा भन्दा महँगो छ । यो समस्यामा निकुञ्जदेखि नगरपालिकाले यथोचित ध्यान दिएका छैनन् । 

स्थानीयका अनुसार मूलखर्कमा करिब दुई सय बस्ती छ । तर, यहाँ शिक्षा र स्वास्थ्य सुविधाको कमी छ । स्वास्थ्य चौकी भए पनि उपचारका लागि सहर नै झर्नुपर्ने समस्या माइली तामाङ औँल्याउँछिन् । दुई बच्चाकी आमा उनी उपचारका लागि तलै झर्छिन् । मूलखर्कमा बालबच्चालाई पढाउन मन्टेश्वरी तथा सुविधायुक्त विद्यालयसमेत छैनन् । ‘विद्यालयमा गतिलो पढाइ हुन्न, तल लगेर पढाउन पनि सार्वजनिक सवारीलगायतको समस्या छ,’ तारा तामाङ भन्छिन् । गाउँमा प्लस टुसम्मको उच्च शिक्षालय पनि छैन । 

निकुञ्ज र पर्यटकीय क्षेत्र भएकाले यस क्षेत्रमा केही होटेल भने खुलेका छन् । त्यसले केहीका लागि आम्दानीको माध्यम भए पनि बहुसंख्यकको हकमा आयआर्जनको ठूलो अवसर छैन । उत्पादनको ठूलो क्षेत्र नभएकाले निर्वाहमुखी खेतीपातीकै भरमा छन् अधिकांश स्थानीय । धेरैजसो सहर झरेर रोजगारी तथा व्यवसाय गरेर आम्दानी गरिरहेका छन् । दशकौँदेखि मानिसहरू बसोवास गरिरहेको यो क्षेत्रसमेतलाई समेटेर सरकारले सन् २००२ मा शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज घोषणा गरेको थियो । पहिले गतिविधि गर्न स्वतन्त्र रहे पनि संरक्षित क्षेत्र घोषित भएपछि निकुञ्ज कानुनले उनीहरूलाई बाँधेको छ । 

चुनावमा आश्वासन, त्यसपछि सेलाउँछ बस्तीका एजेन्डा 
हरेक चुनावमा उम्मेदवारहरूले बस्तीका समस्या समाधानको आश्वासन दिन्छन् । तर, निर्वाचन सकिएपछि र चुनाव जितेपछि उम्मेदवारहरूले आफूसमक्ष गरेको प्रतिबद्धता भुल्ने गरेको स्थानीय बताउँछन् । अहिले स्थानीय तहका जनप्रतिनिधिको दोस्रो कार्यकाल सुरु भइसकेको छ । पहिलो पाँचवर्षे कार्यकाल सकिएर दोस्रोपटक जनप्रतिनिधि आइसकेका छन् । तर, बस्तीका समस्या निमिट्यान्न भएका छैनन् । घरदैलोको स्थानीय सरकारले पनि बस्तीका समस्या समाधानमा चासो नदिएको स्थानीयको गुनासो छ । उनीहरूका अनुसार पहिलेको तुलनामा विकास हुँदै गए पनि त्यो समयसापेक्ष पर्याप्त छैन । 

प्रतिनिधिसभा तथा प्रदेश सभाको आसन्न निर्वाचनका लागि उम्मेदवारहरूले बुताले भ्याएसम्म विकास र समृद्धिको आश्वासन बाँडिरहेका छन् । तर, त्यसप्रति यहाँका मतदाता विश्वस्त हुन सकेका छैनन् । उम्मेदवारहरूले बस्तीको आधारभूत समस्या र वास्तविक पिरमर्कालाई भने अनदेखा गरिरहेका स्थानीय डोल्मा तामाङको गुनासो छ । चुनावी मैदानमा हेलिएका उम्मेदवारले चुनाव जित्ने अभियानमा भोटका लागि आफ्नो क्षेत्रका मतदातालाई अनेक तरिकाले प्रभावित गर्न खोजिरहेका छन् ।

काठमाडौं ३ मा पर्ने यो क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी प्रतिनिधिसभामा झन्डै दुई दर्जनले उम्मेदवारी दिएका छन् । तर, प्रतिस्पर्धा भने मुख्यगरी कांग्रेस–माओवादीसहितको गठबन्धन र एमालेबीच हुने देखिन्छ । गठबन्धनबाट कांग्रेसका सन्तोष चालिसे र एमालेबाट कृष्णबहादुर राई प्रमुख प्रतिस्पर्धी हुन् । चालिसे स्थानीय तहको अघिल्लो कार्यकालमा गोकर्णेश्वर नगरपालिकाकै मेयर हुन् भने राई निवर्तमान सांसद । 

दुवै उम्मेदवार गोकर्णेश्वर नगरपालिकाका लागि परीक्षण भइसकेका उम्मेदवार हुन् । दुवैले चुनावमा मूलखर्कको विकास र समृद्धिको एजेन्डा उठाए पनि कार्यान्वयनका लागि पर्याप्त पहल नगरेको स्थानीय बताउँछन् । फेरि पनि दुवैले मूलखर्क बस्तीको समस्या समाधानको विषय घोषणापत्रमा उठाएका छन् । त्यहाँको आवतजावत अनुमति, वन्यजन्तुको त्रासलगायत समस्या समाधान गर्ने विषय घोषणापत्रमा उल्लेख गरेका छन् । तर, दलका उम्मेदवारले वर्षौँदेखि गरेका प्रतिबद्धता पूरा नगरेको अनुभव सुनाउँदै ठूली तामाङ भन्छिन्, ‘समस्यामा काम नलाग्ने नेता के काम ?’ 

सुझावित समाचार