काठमाडौं २ : ओनसरी–मणिराम प्रतिस्पर्धामा सोविताको चुनौती

बुधबार, ३० कार्तिक, २०७९
डिजिटल संस्करण

मणिराम फुँयाल, एमाले- हाम्रो संगठन बलियो छ । नेता तथा कार्यकर्ता पूरै परिचालित भएका छौँ । राष्ट्रिय र क्षेत्रीय एजेन्डाले हामी निर्वाचन जित्छौँ ।

ओनसरी घर्तीमगर, माओवादी- मेरो उम्मेदवारी महिलाको प्रोत्साहन र पहुँचका लागि हो । व्यवस्थाको रक्षा र जनताको समृद्धिको संकल्प पूरा गर्नका लागि हो ।

- कुल मतदाता : ८१,९७० (पुरुष–४०,००९ र महिला : ४१,९६१)
- मतदानस्थल : ४०, मतदान केन्द्र : ९५
- उम्मेदवार : ३० (पुरुष–२५, महिला–५)
- दल : २०, स्वतन्त्र : १०

... 
काठमाडौं २ ले विगतदेखि नै राष्ट्रिय राजनीतिलाई तरंगित बनाउँदै आएको छ । यो क्षेत्रले ‘हेभिवेट’ उम्मेदवार भनिएकालाई पराजित र नयाँ अनुहारलाई संसद्मा प्रवेशसमेत गराएको छ । 

यसपटकको निर्वाचनमा पनि यहाँ नेपालकी पहिलो महिला सभामुख ओनसरी घर्ती सत्तागठबन्धनको साझा उम्मेदवार बनेकी छिन् । उनलाई विजयी गराउन गठबन्धनका शीर्ष नेताहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सक्रिय रूपमा चुनावी अभियानमा छन् । 

तर, जितहारका स्पष्ट संकेत अझै देखिएको भने छैन । मतदाताहरू अझै खुलिनसकेको पूर्वसांसद तथा साहित्यकार नारायण ढकाल बताउँछन् । ‘यसपालि मतदाताले धारणा बनाउन ढिला गरेजस्तो देखिन्छ । पहिलो संविधानसभा निर्वाचनमा मतदाताको मन माओवादीतिर थियो । धेरै मानिस खुलेका थिए । 

माओवादी सत्तामा आइसकेपछि मतदाताहरू फेरि कांग्रेस र एमालेतिरै फर्किएका थिए । ०७४ मा वामगठबन्धन भएपछि स्थिरता ल्याउँछ भनेर मतदाता खुलेका थिए । अहिले एमालेले चुच्चे नक्साको विषय त उठाएको छ, तर त्यसलाई मतदाताले ‘रेस्पोन्स’ गरेको देखिँदैन । 

सत्तारूढ गठबन्धनले एमाले अध्यक्ष केपी ओलीले असंवैधानिक रूपमा संसद् विघटन गरेको, जनआन्दोलनबाट प्राप्त उपलब्धि खोस्न खोजेको जस्ता विषय उठाएका छन् । त्यसतर्फ पनि मतदाताको ध्यान गइसकेको देखिँदैन ।’

एमालेको बलियो संगठन
काठमाडौं २ मा एमालेको संगठन बलियो छ । एमालेको जित्ने मुख्य आधार नै बलियो संगठन हो । तर, अहिले एमाले विभाजित अवस्थामा छ । यही क्षेत्रबाट ०७४ को निर्वाचनमा विजयी पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ पार्टी एकीकृत समाजवादी गठन गरेका छन् । एकीकृत समाजवादीको साथ ओनसरीलाई छ । 

शिक्षण पृष्ठभूमिका मणिराम फँुयाल तटस्थ मतदातालाई आकर्षित गर्ने स्थितिमा छैनन् । उनी संगठनको बलमा निर्वाचन जित्ने दाबी गर्छन् । ‘हाम्रो संगठन बलियो छ । नेता तथा कार्यकर्ता पूरै परिचालित भएका छौँ । राष्ट्रिय र क्षेत्रीय एजेन्डाले हामी निर्वाचन जित्छौँ,’ उनले भने । 

उनले आफू स्थानीय भएका कारण पनि थप मत आउने तर्क गर्छन् । उनले भने, ‘म विद्यालय चलाउँदा पनि विद्यार्थी र शिक्षकले खोजेको वेला भेट्नुपर्छ भनेर मोबाइल नम्बर ब्ल्याकबोर्डमा टिपाउने हेडमास्टर हुँ । अहिले पनि मसँग त्यही नम्बर छ ।’

यो क्षेत्रमा एमालेपछि सबैभन्दा बढी मत कांग्रेसको छ । सत्तारूढ गठबन्धनको नेतृत्व गरेको कांग्रेसले ओनसरीलाई समर्थन गरेको छ । कांग्रेसका नेता तथा कार्यकर्ता चुनावी अभियानमा परिचालित छन् । 

कांग्रेसका निवर्तमान सांसद दीपक कुइँकेल गठबन्धनको जित सुनिश्चित रहेको दाबी गर्छ । ‘नेता तथा कार्यकर्तामा उत्साह छ । काठमाडौं २ हामी जित्छौँ,’ उनले भने । पूर्वसंसद् ढकाल पनि कांग्रेसका शुभेच्छुकले ओनसरीको जितहार निर्भर रहने बताउँछन् । 

ओनसरीले महिलाको प्रोत्साहन र पहुँचका साथै व्यवस्थाको रक्षा र जनताको समृद्धिका लागि आफू उम्मेदवार बनेको बताएकी छिन् । उनले भनिन्, ‘मेरो उम्मेदवारी महिलाको प्रोत्साहन र पहुँचका लागि हो । व्यवस्थाको रक्षा र जनताको समृद्धिको संकल्प पूरा गर्नका लागि हो । 

जनपक्षीय कानुन निर्माण गर्न काठमाडौं २ का मतदातासँग आएको छु । नीति–निर्माण र विकास दुवैतर्फ काम गर्नेछौँ । हाम्रो योजना स्पष्ट छ, गर्न सकिने आधार पनि छ । जनताका सुझाव पनि लिइरहेका छौँ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले राजनीतिक दल र नेतृत्वप्रति असन्तुष्टको भोट तान्ने देखिन्छ । चुनाव प्रचार–प्रसारमा गठबन्धन र एमालेको जस्तो जम्बो कमिटी परिचालन नभए पनि उनी मतदाताको घरदैलोमा घन्टी बचाउँदै पुग्ने गरेकी छिन् । 

उनले भनिन्, ‘सदनमा गएर नीति–नियम र कानुन बनाउने मुख्य काम हो । खानेपानीको ठूलो समस्या छ । भूगोलको हिसाबले ठूलो र धेरै भएका कारण सहरी क्षेत्र र ग्रामीण क्षेत्रका फरक–फरक समस्या छन् । सहरी क्षेत्रमा ढलको समस्या छ । फोहोरमैला व्यवस्थापनको पनि समस्या छ । 

धुँवा र धुलोको समस्या पनि ठूलो छ । व्यवस्थित सहरीकरणका निम्ति के–कस्ता पूर्वाधार चाहिन्छ ध्यान दिइरहेको छु । ग्रामीण क्षेत्रमा समयमा बिउ र मल नपाउने समस्या छ । ती समस्या समाधान गर्न पहल गर्नेछु ।’ मतदाताले नयाँ अनुहार खोजेको भन्दै गौतम उत्साहित देखिन्छिन् ।

राप्रपाकी कुन्तीदेवी पोखरेल पनि उत्साहित छिन् । ‘हलोमा भोट हाल्न मतदाता उत्साहित हुनुहुन्छ । घरदैलोमा सधँै भेटिने उम्मेदवारलाई मत दिने बताउनुभएको छ ।’ उनले भनिन् । 

विवेकशील साझा पार्टीका धनेज थापा आफू स्थानीय र विज्ञ उम्मेदवार भएकाले मतदाताले न्याय गर्ने बताउँछन् । यहाँको वस्तुस्थिति र विकास आफूले मात्रै गर्न सक्ने उनको दाबी छ । 

‘म यहाँकै स्थानीय उम्मेदवार हुँ । अरू चुनाव लड्न मात्रै आएका छन् यो मेरो जितको पहिलो आधार हो,’ उनले भने, ‘मेरो विज्ञतासमेतलाई उपयोग गरेर यस क्षेत्रको सहरी र ग्रामीण समस्यालाई पहिचान गरेर नीतिगत तहबाटै विकास गर्ने गरी अगाडि आएको छु । मतदाताको प्रतिक्रिया पनि राम्रो छ ।’

गत स्थानीय तह निर्वाचनमा कांग्रेस बलियो
काठमाडौं २ मा गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार एमालेको १७ हजार तीन सय २८, कांग्रेसको १४ हजार एक सय २८, एकीकृत समाजवादीको सात हजार नौ सय ११, राप्रपाको सात हजार दुई सय र माओवादीको तीन हजार एक सय ३१ मत छ । 

यो क्षेत्रका १७ वडामध्ये सबैभन्दा बढी कांग्रेसले जितेको छ । कांग्रेसले काठमाडौं महानगरको वडा नम्बर ९, शंखरापुरको २, ४, ८ र ९ तथा कागेश्वरी मनोहराको ५, ७, ८ र ९ वडा जितेको छ ।

एमालेले काठमाडौं महानगर वडा नम्बर ३२, शंखरापुर ५ र कागेश्वरी मनोहरा ४ जितेको छ । राप्रपाले शंखरापुर ३, ६ र ७ वडा जितेको छ । माओवादीले शंखरापुर १ तथा एकीकृत समाजवादीले कागेश्वरी मनोहरा ६ जितेको छ ।

अघिल्लो निर्वाचनको परिणाम
०७४ को निर्वाचिनमा माधव नेपालले २७ हजार तीन सय ६६ मत ल्याएका थिए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपक कुइँकेलले १४ हजार नौ सय तीन मत ल्याएका थिए । 

तेस्रो स्थानमा आएका विवेकशील साझाका सूर्यराज आचार्यले सात हजार चार सय ३७ मत ल्याएका थिए । ०७४ को निर्वाचनमा ७४ हजार सात सय ५५ मतदाता रहेकोमा ५३ हजार ४५ मत खसेको थियो । जसमध्ये एक हजार सात सय ९० मत बदर भएको थियो ।

इतिहास रच्ने क्षेत्र
०४८ को आमनिर्वाचनमा काठमाडौंमा ५ निर्वाचन क्षेत्र मात्रै थिए । काठमाडौं १ मा कोटेश्वर, बानेश्वर, चाबहिल हुँदै नाङ्लेभारेसम्मको भूभाग थियो । ०५६ मा निर्वाचन क्षेत्र पुनर्संरचना भएर काठमाडौंमा सात क्षेत्र भए । चाबहिलसहितको केही भूभाग क्षेत्र नम्बर २ मा परे । 

०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौंमा १० क्षेत्र बने । त्यतिवेलाका केही भूभाग ३ र ४ मा परेका छन् । तर, २०४८ को काठमाडौं– १ को मुख्य भाग हाल क्षेत्र नम्बर २ मै पर्छ । चाबहिल र बानेश्वर क्षेत्रबाहेक काठमाडौं महानगरको दुईवटा वडा र उत्तरपूर्वी काँठ क्षेत्र यहाँ पर्छ । भद्रवास, गागलफेदी क्षेत्र २ बाट हटाएर ३ मा पारिएको छ । 

यो क्षेत्रबाट निर्वाचित २ सांसद प्रधानमन्त्रीसमेत बने । यस क्षेत्रमा एउटा निर्वाचनबाहेक सधैँ वामपन्थी दलका उम्मेदवारले जित्दै आएका छन् । त्यसमा पनि ०६४ र ०७० को उपनिर्वाचनबाहेक एमालेले जित्दै आएको छ ।
कांग्रेसका कार्यवाहक सभापति तथा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई यही क्षेत्रबाट दुईपटक पराजित भए । 

जनआन्दोलनपछि ०४८ मा भएको पहिलो आमनिर्वाचनमा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले भट्टराईलाई पराजित गरेका थिए । कांग्रेसले प्रतिनिधिसभामा बहुमत ल्याउँदा पनि प्रधानमन्त्री तथा कांग्रेसका कार्यवाहक सभापति भट्टराईले निर्वाचन हारेका थिए । त्यो जितले भण्डारीलाई राजनीतिमा स्थापित मात्र गरेन, एमालेको किल्लाको रूपमा यो क्षेत्र रहिरह्यो । 

दासढुंगा दुर्घटनामा भण्डारीको निधन भएपछि उपनिर्वाचन भयो । उपनिर्वाचनमा मदनपत्नी विद्यादेवी भण्डारीले पनि भट्टराईलाई पराजित गरिन् । त्यतिवेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई अन्तर्घातको आरोप लागेको थियो ।
०५१ को मध्यावधि निर्वाचनमा काठमाडौं १ बाट एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी निर्वाचित भए । अधिकारी अल्पमतको सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बने । 

१ र ३ बाट निर्वाचित अधिकारीले १ छाडेपछि ०५२ को उपनिर्वाचनमा एमालेका नारायण ढकाल विजयी भए । ०५६ निर्वाचनमा पनि एमालेबाट मनमोहन नै उम्मेदवार रहेका थिए । तर, उनको निधन भएपछि एमालेबाट प्रदीप नेपाल उम्मेदवार बने । 

०६२–०६३ को जनआन्दोलनपछि ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई माओवादीका झक्कु सुवेदीले पराजित गरे । निर्वाचनमा पराजित भएपछि नेपालले नैतिकताका आधारमा महासचिवबाट राजीनामा दिए । 

यद्यपि, उनी तत्कालीन प्रधानमन्त्री प्रचण्ड र विपक्षी दलका नेता गिरिजाप्रसाद कोइरालाको आग्रहमा संविधानसभा सदस्य हुँदै संविधान निर्माणको मूल समिति संवैधानिक समितिको सभापति बने । प्रधानसेनापति कटुवाल प्रकरणमा प्रचण्डले राजीनामा दिएपछि नेपाल प्रधानमन्त्री बनेका थिए ।

०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपाल यही क्षेत्रबाट विजयी भएका थिए । काठमाडौं र रौतहटबाट निर्वाचित नेपालले काठमाडौं छाडेपछिको उपनिर्वाचनमा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठलाई कांग्रेसका दीपक कुइँकेलले पराजित गरेका थिए । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि नेपाल नै यो क्षेत्रमा निर्वाचित भएका थिए । 

क्षेत्रको मुख्य समस्या ?
यो क्षेत्रमा घनाबस्तीदेखि बस्ती उन्मुख क्षेत्रसमेत पर्छन् । नगरपालिका भए पनि उत्तर–पूर्वमा ग्रामीण बस्ती छन् । ग्रामीण क्षेत्रको विकास नहुनु यहाँको मुख्य समस्या हो । 
विमानस्थलका कारण पेप्सीकोला, गोठाटार, जडीबुटीलगायत स्थानमा ध्वनि प्रदूषणको समस्या छ । सुकुमबासी र मुआब्जाको समस्या पनि छ । स्मार्ट सिटीको नारा निर्वाचनको वेला उठे पनि व्यवहारमा रूपान्तरण हुन सकेको छैन । जोरपाटी–साँखु सडक र खानेपानीको समस्या विकराल छ । 

को–को छन् उम्मेदवार ?
काठमाडौं २ मा राजनीतिक दलका २० र स्वतन्त्र १० गरी ३० उम्मेदवार चुनावी मैदानमा छन् । एमालेबाट मणिराम फँुयाल, सत्तारूढ गठबन्धनबाट माओवादीकी ओनसरी घर्ती, जसपाबाट गोपालबहादुर तण्डुकार, राप्रपाबाट कुन्तीदेवी पोखरेल, नेमकिपाबाट अनिल श्रेष्ठ, लोसपाबाट मधुसुदन पुडासैनी, जनमत पार्टीबाट गणेशप्रसाद पुडासैनी, मौलिक जरोकिलो पार्टीबाट लक्ष्मण पोखरेल, हाम्रो नेपाली पार्टीबाट कोषराज सुवेदी, पुनर्जागरण पार्टी नेपालबाट विजेन्द्र बस्नेत, नेपालका लागि नेपाली पार्टीबाट राममणि नेपाल, राप्रपा नेपालबाट महेश बाँस्तोला, मंगोल नेसनल अर्गनाइजेसनबाट सीता तामाङ, गान्धीवादी पार्टी नेपालबाट विदुरप्रसाद सिंखडा, राष्ट्रिय जनमुक्ति पार्टीबाट चिरञ्जीवी राई, कांग्रेस बिपीबाट हेमविक्रम सिलवाल, नेपालवाद पार्टीबाट ईश्वर गौतम, विवेकशील साझा पार्टीबाट धनेज थापा, सचेत नेपाली पार्टीबाट पुण्यप्रसाद प्रसाईं र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम उम्मेदवार छन् । 
यस्तै, स्वतन्त्र उम्मेदवारमा काशीराज पुडासैनी, अनुप बोहरा, प्रकाश अधिकारी, विनोदप्रसाद घिमिरे, प्रकाश अधिकारी, भगवती ढकाल, दिनेश खड्का, बलराम चौलागाईं, कृष्ण अधिकारी र कृष्णराम पुरी छन् ।
 

सुझावित समाचार