अमेरिकामा गत मंगलबार सम्पन्न मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सिनेटमा कायम बहुमत जोगाएको छ । नेभाडा राज्यकी सिनेटर क्याथरिन कोर्टेज मास्टोको पछिल्लो जितसँगै डेमोक्रेटिक पार्टीले सिनेटको बहुमत बचाएको हो । अत्यन्त प्रतिस्पर्धात्मक देखिएको नेभाडा निर्वाचनमा मास्टोले रिपब्लिकन पार्टीकी पूर्वराज्य महान्यायाधिवक्ता एडम लाक्साल्टलाई झिनो मतान्तरले पराजित गरिन् ।
डेमोक्र्याटहरूले मध्यावधि चुनावमा ऐतिहासिक ट्रेन्ड र ठूलो धक्काको भविष्यवाणीलाई गलत साबित गरेर सिनेटमा बहुमत कायम गरेका छन् । विगतमा अमेरिकाको मध्यावधि निर्वाचनमा प्रायः राष्ट्रपतिको दलले सदनमा बहुमत गुमाउँथे । सत्तारूढ राष्ट्रपतिको कामको मूल्यांकनको रूपमा हेरिने मध्यावधि चुनावमा पछिल्लो समय बढिरहेको महँगी नियन्त्रण गर्नमा देखिएको बाइडेन असफलताले गम्भीर असर गर्ने प्रक्षेपण गरिएको थियो ।
जर्जियाको सिनेट पदका लागि डेमोक्र्याट नेता राफेल वार्नक र रिपब्लिकन प्रतिद्वन्द्वी हर्सेल वाकरबीचको चुनाव डिसेम्बर ६ मा सरे पनि त्यसको चुनावअघि नै सिनेटको बहुमत स्पष्ट भएको हो । सिनेटमा बहुमत हासिल गरेपछि सो सदनका डेमोक्र्याटिक पार्टी नेता चक सुमरले पछिल्लो चुनावमा ‘लोकतान्त्रिकविरोधी, चरमपन्थी, ट्रम्प पक्षधर रिपब्लिकनको’ हार भएको बताए । सिनेटको बहुमतले राष्ट्रपति जो बाइडेनलाई उनको कार्यकालको बाँकी दुई वर्षमा ठूलो राहत दिनेछ ।
अब बाइडेनले सिफारिस गरेका न्यायाधीशहरू अनुमोदन हुने सम्भावना रहेको छ । यसअघि ओबामाको शासनमा सिनेटमा बहुमत नहुँदा उनले सन् २०१६ मा सर्वोच्च अदालतका लागि सिफारिस गरेका न्यायाधीश मेरिक गारलान्डको पक्षमा मतदान गर्न अस्वीकार गरिएको थियो । साथै डेमोक्रेटिक पार्टीको बहुमत रहने सिनेटले सम्भावित रिपब्लिकन बहुमतको तल्लो सदनले पारित गरेका विधेयकहरूलाई अस्वीकार गर्न सक्छ र आफ्नै एजेन्डा अघि सार्न सक्छ ।
सिनेट डेमोक्र्याटको हातमा गएको अवस्थामा तल्लो सदन रिपब्लिकनको नियन्त्रणमा रहँदा अबका दिन अमेरिकाको आन्तरिक राजनीति संघर्षमय हुने विश्लेषण
मध्यावधि निर्वाचनको अपेक्षाभन्दा राम्रो नतिजाले दोस्रो कार्यकालका लागि बाइडेनको दाबीलाई पनि बलियो बनाउने अपेक्षा गरिएको छ । उमेरका कारण पार्टीभित्र बाइडेनले दोस्रो कार्यकालमा उठ्न नहुने माग बढिरहेको सन्दर्भमा यो जितलाई महत्वपूर्ण मानिएको छ । सिनेट डेमोक्र्याटिकको नियन्त्रणमा भए पनि तल्लो सदन ‘हाउस अफ रिप्रजेन्टेटिभ’मा भने रिपब्लिकनको बहुमत हुने प्रक्षेपण गरिएको छ । यसले तिनलाई डेमोक्र्याटिक पार्टीविरुद्ध विभिन्न छानबिन सुरु गर्न बाटो खोल्नेछ ।
डेमोक्र्याटिक बहुमतको सिनेट र रिपब्लिकन बहुमतको सदनको प्रभाव
सिनेट डेमोक्र्याटको हातमा गएको र तल्लो सदन रिपब्लिकनको नियन्त्रण जाने अवस्थामा अबका दिन राजनीतिक रूपमा संघर्षमय हुने विश्लेषकले बताएका छन् । विशेषतः रिपब्लिकनहरूले हाउसमा बाइडेनको विधायिकी एजेन्डालाई विफल पार्न भरमजदुर प्रयास गर्नेछन् । साथै, उनीहरूले विभिन्न संसदीय छानबिन सुरु गर्ने अपेक्षा गरिएको छ ।
अफगानिस्तानबाट भद्रगोलपूर्ण सेना फिर्ती र राष्ट्रपतिका छोरा हन्टर बाइडेनको चीन र युक्रेनका व्यापारिक सम्झौता अनुसन्धानका केही विषय हुन सक्छन् । त्यस्तै, तल्लो सदन (हाउस अफ रिप्रजेन्टेटिभ)मा रिपब्लिकन बहुमतले जनवरी ६ मा क्यापिटल हिलमा भएको आक्रमणको छानबिनलाई पनि असर गर्ने बताइँदै छ । छानबिन समितिमा फोन रेकर्ड बुझाउने टेलिकम कम्पनी अझ प्यानलका सदस्यमाथि नै जवाफी छानबिन सुरु गर्न सक्छ । नीतिगत रूपमा, रिपब्लिकनले बाइडेनका पहिलो दुई वर्षका केही प्रमुख उपलब्धिलाई उल्टाउने प्रयास गर्नेछन् । तिनमा जलवायु खर्च, विद्यार्थी ऋण माफी र कर्पोरेट कर वृद्धि मुख्य निशानामा पर्न सक्छन् ।
रिपब्लिकनको भावी समाभुखका रूपमा हेरिएका केभिन म्याककार्थीले रिपब्लिकन बहुमतको हाउसले युक्रेनलाई दिइँदै आएको विशाल अनुदान बन्द गर्ने चेतावनी दिँदै आएका छन् । रिपब्लिकन ककसकी प्रमुख नेता हुने अपेक्षा गरेकी मार्जोरी टेलर ग्रिनले यसैतर्फ संकेत गर्दै अयोवाको एक ¥यालीलाई भनेकी थिइन् : ‘रिपब्लिकनको बहुमत आयो भने युक्रेनलाई एक पैसा पनि दिइनेछैन । देशलाई पहिलो प्राथमिकता दिइनेछ ।’ तर, यस परिदृश्यमा सिनेट डेमोक्रेटकै हातमा हुनेहुँदा मन्त्री तथा संघीय न्यायाधीशको चयनमा कुनै अवरोध हुनेछैन ।
सदनमा ध्रुवीकरण हुँदाहुँदै पनि बाइडेनले पछिल्ला दुई वर्ष केही मुद्दामा दुवै दलको सहमति जुटाउन सफल भएका थिए । चीनसँग प्रतिस्पर्धात्मक उत्पादनमा लगानी वृद्धि गर्ने, बन्दुक सुरक्षा, अवकाशप्राप्त सेनाका लागि स्वास्थ्यमा खर्च तथा पूर्वाधार आदिमा उनले विपक्षी रिपब्लिकनको पनि सहयोग हासिल गर्न सफल भए । तर, आगामी राष्ट्रपतीय चुनाव नजिकिँदै जाँदा रिपब्लिकनहरूले बाइडेनलाई सघाउने सम्भावना अत्यन्त न्यून रहनेछ ।