मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मेलबर्न
२०७९ कार्तिक २६ शनिबार ०८:२५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टी–२० विश्वकप क्रिकेट : उपाधिको दौडमा इंग्ल्यान्ड र पाकिस्तान

Read Time : > 1 मिनेट
मेलबर्न
२०७९ कार्तिक २६ शनिबार ०८:२५:००

आइसिसी टी–२० पुरुष विश्वकप फाइनल आइतबार मेलबर्न क्रिकेट मैदानमा हुँदै छ । आठौँ संस्करणको उपाधि भिडन्त इंग्ल्यान्ड र पाकिस्तानबीच हुनेछ । यी दुवै टोली समान तेस्रोपटक फाइनल पुगेका हुन् । फाइनलमा जो विजेता भए पनि वेस्ट इन्डिजको रेकर्ड बराबरी गर्नेछ । वेस्ट इन्डिजले सर्वाधिक दुईपटक टी–२० विश्वकप उपाधि जितेको छ । प्रतियोगिताकै भाग्यमानी टोलीका रूपमा रहेको पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डमाथि जित निकालेको थियो । इंग्ल्यान्डले भारतमाथि सनसनीपूर्ण रूपमा १० विकेटको जित दर्ता गरी अन्तिम दुई स्थान पक्का गरेको थियो । 

इंग्ल्यान्डले समूह चरणदेखि नै उत्कृष्ट खेल पस्किरहेको छ । समूह चरणमा कमजोर सुरुवात गरेको पाकिस्तानले न्युजिल्यान्डविरुद्धको प्रतिस्पर्धामा आकर्षक खेल खेल्यो । लगातार दुई खेलमा पराजित भएपछि पाकिस्तान सुपर १२ को समूह २ बाट बाहिरिन सक्ने सम्भावना बढेको थियो । तर, समूह २ को अन्तिम खेलमा नेदरल्यान्ड्ससँग दक्षिण अफ्रिका स्तब्ध हुँदा पाकिस्तानलाई चिट्ठा पर्‍यो । पाकिस्तान समूह उपविजेता हुँदै सेमिफाइनलमा पुग्यो । न्युजिल्यान्डले समूह १ को पहिलो खेलमै साबिक विजेता अस्ट्रेलियालाई हराउँदै सेमिफाइनलको बाटो बलियो बनाएको थियो । रनरेटमा अस्ट्रेलियालाई निराश पार्दै इंग्ल्यान्ड अन्तिम चारमा पुगेको थियो । 

लयमा पाकिस्तानका खेलाडी
मेलबर्न क्रिकेट मैदानमा पाकिस्तानले मुख्य आशा गरेका खेलाडी नै कप्तान बाबर अजाम र मोहमद रिजवान हुन् । संयोग कस्तो रह्यो भने, यी दुवै खेलाडी न्युजिल्यान्डविरुद्धको सेमिफाइनलको फर्ममा फर्किए । दुवैले पहिलो विकेटका लागि शतकीय साझेदारी गर्दा न्युजिल्यान्ड लगातार दोस्रोपटक फाइनल पुग्नबाट वञ्चित भयो । बाबरले प्रतियोगितामा पहिलो अर्धशतकीय इनिङ्स पहिलो सेमिफाइनलमै पूरा गरे । 

यस प्रदर्शनसँगै पाकिस्तानको ब्याटिङ लाइनअप बलियो देखिएको संकेत गरेको छ । ओपनिङ जोडी नचल्दा पाकिस्तानको मध्यक्रम ब्याटिङ दबाबमा देखिएको थियो । बाबर र रिजवान फर्ममा आएसँगै अब मध्यक्रमका ब्याट्सम्यानमाथि त्यति दबाब पर्नेछैन । अर्कोतर्फ पाकिस्तानका सबै बलरले प्रतियोगितामा एकरूपताका साथ प्रदर्शन गरिरहेका छन् । इंग्ल्यान्डविरुद्ध पनि पाकिस्तानी बलर चम्कने विश्वास छ । इंग्लिस ब्याट्सम्यानले पाकिस्तानी फास्ट बलरको चुनौती सामना गर्नुपर्नेछ । 

इंग्ल्यान्डको आशा ब्याटिङ
मेलबर्न मैदानमा अर्कोतर्फ इंग्ल्यान्ड पनि आफ्ना ब्याट्सम्यानमाथि ढुक्क छन् । विशेषतः जोस बटलर र एलेक्स हालेस उत्कृष्ट फर्ममा रहँदा इंग्ल्यान्डले पहिलो ब्याटिङ वा लक्ष्य पछ्याउँदा सहजै पार लगाउने आशा छ । यी दुवै ब्याट्सम्यानले पहिलो वा दोस्रो ब्याटिङ गरेको इनिङ्समा उत्कृष्ट प्रदर्शन गरेका छन् । भारतमाथि सानदार नटआउट शतकीय इनिङ्सको साझेदारीबाट बटलर र एलेक्स निकै आत्मविश्वास देखिएका छन् । कप्तान बटलरले पनि फाइनल प्रतिस्पर्धा रोमाञ्चक हुने जनाएका छन् । 

यद्यपि, उनले पाकिस्तानलाई कमजोर रूपमा नलिने जनाए । ‘मेरो नजरमा उपाधि भिडन्त अहिलेसम्मकै रोमाञ्चक हुनेछ, पाकिस्तान फर्ममा आइसकेको छ,’ बटलरले भने, ‘पाकिस्तान सबै पक्षमा बलियो देखिन्छ ।’ बटलरले पाकिस्तानका मोहमद नवाज र साहिन साह अफ्रिदीविरुद्ध संयमित भएर प्रतिस्पर्धा गर्नुपर्ने जनाए । ‘हामीले यी दुवै बलरविरुद्ध संयमित भएर खेल्नुपर्छ, सानो गल्तीका कारण इंग्ल्यान्डले ठूलै मूल्य चुकाउनुपर्छ,’ उनले भने, ‘हामी एक–आपसमा परिचित छौँ ।’

पछिल्लो समय पाकिस्तान र इंग्ल्यान्डबीच सात अन्तर्राष्ट्रिय टी–२० खेल भएको थियो । जसमा इंग्ल्यान्डले ४–३ ले बाजी मार्‍यो । सो सिरिजमा एक समय इंग्ल्यान्ड ३–२ ले पछि थियो । इंग्ल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै पाकिस्तानविरुद्ध सिरिज जित्यो । 

वर्षाको सम्भावना
आइतबार हुने फाइनल खेलमा वर्षा हुने सम्भावना छ । अस्ट्रेलियाको मौसम विभागले मेलबर्नमा शतप्रतिशत पानी पर्ने जनाएको छ । यस्तो अवस्थामा दुवै टोली संयुक्त रूपमा विजेता बन्नेछन् । यद्यपि, मेलबर्नको मौसम भन्न सकिन्न । छिनमा वर्षा हुने र घाम लाग्ने हुन्छ । वर्षाले थोरै प्रभाव पारे फाइनल खेल कम्तीमा १० ओभरको हुन सक्छ । विश्वकपको समूह चरणमा वर्षाले खेल प्रभावित बनाएको थियो ।