मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रतिकात्मक तस्बिर
२०७९ कार्तिक १३ आइतबार ११:४७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गैरकिसानलाई ‘किसान परिचयपत्र’

कृषि फर्म दर्ता गरेका सरकारी जागिरे, ठेकेदारलगायतकै पहुँचमा किसान परिचयपत्र

Read Time : > 1 मिनेट
२०७९ कार्तिक १३ आइतबार ११:४७:००

उदयपुरको कटारी नगरपालिकामा गैरकृषकले किसान परिचयपत्र पाइरहेका छन्। नगरपालिकाले कृषकको नाममा जारी गरेको किसान परिचयपत्र कृषि पेसामा आबद्ध नै नभएकाहरूले पाएका हुन्।

किसानलाई कृषि पेसामा जोडी आत्मनिर्भर बनाउने उद्देश्यले स्थानीय तहबाट किसान परिचयपत्र वितरण भइरहेको छ। कटारीमा भने साे परिचयपत्र वास्तविक कृषकले नपाएर गैरकृषकले पाइरहेका छन्।

कटारी नगरपालिका– २ का कृष्णलाल मिश्र वर्षौँदेखि कृषिमा आबद्ध छन्। उनले नगरपालिकाबाट परिचयपत्र पाएका छैनन्। ‘जो खेतीपाती वा कृषि कर्मममा छैन्, फर्म दर्ता गरेर मात्र बस्छ, उही वास्तविक किसान रे ! उनीहरूले किसान परिचयपत्र पाउँदा मैले पाइनँ,’ मिश्रले गुनासो गरे।

आफ्नाे वडामा आफूहरूजस्ता धेरै किसानले परिचयपत्र नपाएको उनी बताउँछन्। कृषि पेसामै आश्रित सोही वडाका गणेश लामिछानेले पनि किसान परिचयपत्र पाएका छैनन्। उनले भने, ‘जो कृषि पेसामा आबद्ध छैन, उसैलाई नगरपालिकाले किसान परिचयपत्र वितरण गरेको छ।’

कटारी– २ का मिश्र र लामिछाने उदाहरण मात्र हुन्। कटारीमा नगरपालिकाले वितरण गरेको किसान परिचयपत्र नपाउने किसानको संख्या धेरै रहेको छ। कृषि फर्म दर्ता गरेर सरकारी जागिर भएकाहरू, ठेकेदारहरूले किसान परिचयपत्र पाउने गरेका किसानको आरोप छ। नगरपालिकाको कृषि शाखामार्फत वडा कार्यालयसम्म पुगेर वितरण भएको किसान परिचयपत्र व्यापारी, शिक्षक, पहुँचवालको कब्जामा पुगेको किसानहरू बताउँछन्।

कटारी नगरपालिका– २ का वडा सदस्य रामप्रसाद गौतमका अनुसार किसान परिचयपत्र पाउने गैरकिसानको संख्या उच्च छ। ‘जो वर्षौँदेखि खेती–किसानीबाटै परिवार पाल्दै आएका छन्, उनीहरूले किसान परिचयपत्र पाएका छैनन्। परिचयपत्र पाउनेहरूको लिस्ट मा वास्ताविक किसानको नाम नै छैन,’ उनले भने।

कटारी नगरपालिकाकी कृषि शाखा प्रमुख एलिका मगर किसान परिचयपत्र वितरणमा समस्या भएको स्वीकार गर्छिन्। उनले भनिन्, ‘किसान परिचयपत्र वितरणमा धेरै वास्ताविक किसान छुट्नुभएको छ। अब अनुदान दिने वेला अनुगमन गरेर सच्याउँदै जाने, वास्तविक किसानलाई परिचयपत्र दिने गरी नयाँ कार्यक्रम बनाउनुपर्छ।’

कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किराँतीका अनुसार पहिलो चरणमा वितरण हुन लागेको किसान परिचयपत्र दुई वर्षअघि नै प्रिन्ट भएको हो।  ‘क, ख, ग र घ गरेर चार भागमा किसानलाई वर्गीकरण गरिएको छ। त्यही आधारमा परिचयपत्र वितरण गरिएको हो,’ उनले भने।

पहिलो चरणमा तीन हजार दुई सय किसानलाई परिचयपत्र वितरण गर्न लागिएको किराँतीले बताए । उनले भने, ‘नगरपालिकामा कृषकको तथ्यांक निकाल्न बाँकी छ। अहिले तीन हजार दुई सयलाई मात्र किसान परिचयपत्र वितरण गर्दै छौँ।’ चार भागमा वर्गीकरण गरिएको ‘क, ख, ग र घ’ परिचयपत्रको आधारमा सरकारले कृषकलाई अनुदानलगायतका सेवा उपलब्ध गराउनेछ।