रोल्पाको सुनीलस्मृति गाउँपालिका– ४ सुलीचौर सेवा केन्द्रनजिनकै बुधबार जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । १२ यात्रु घाइते भएका छन् । उनीहरूमध्ये सातजनाको अवस्था गम्भीर रहेको छ ।
मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका बस्ने ५८ वर्षीय विष्णुप्रसाद रिजाल, ६० वर्षीय नारायणप्रसाद रिजाल र दाङकै ५० वर्षीया फाम्सी केसी छन् ।
इलाका प्रहरी कार्यालय सुलीचौरका इन्चार्ज ओमप्रकाश वाग्लेले रोकेर राखेको लु. १ज ३२४३ नम्बरको जिप दुर्घटनामा पर्दा तीनजनाको मृत्यु भएको जानकारी दिए । सुलीचौरबाट गजुलका लागि छुटेको जिपमा १५ यात्रु थिए ।
रोकेर राखिएको जिप एक्कासि पछाडि गुड्दै गएर सडकबाट करिब सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको वाग्लेले बताए । घाइतेहरूमध्ये गम्भीर अवस्थाका सातजनालाई सुलीचौरमा प्राथमिक उपचारपछि मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ ।
घाइते हुनेमा रोल्पाको सुनीलस्मृति गाउँपालिका– २ खुंग्रीकी ५४ वर्षीया चन्द्रचमन सिंह, ३८ वर्षीया दीपा ठकुरी, १४ वर्षीया नितु सिंह, ३१ वर्षीया नीलम सिंह, १० वर्षीया आस्था थापा र ७ वर्षकी स्वस्तिका थापा छन् ।
यस्तै, सुनीलस्मृति गाउँपालिका– ३ मिझिङकी २४ वर्षीया मेनुका विष्ट, ४२ वर्षीया कुशुमा विष्ट, दाङ तुलसीपुर उपमहानगरपालिका– १५ डुडुवाकी ४० वर्षीया ईश्वरी थापा, ४५ वर्षीया भगवती रिजाल, घोराही उपमहानगरपालिका– ६ की ५० वर्षीया निर्मला शर्मा, सुनिलस्मृति गाउँपालिका– ३ मिझिङका ४८ वर्षीय जिपचालक जितबहादुर विष्ट घाइते भएका छन् ।