मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ असोज २८ शुक्रबार ०६:१८:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ठूला दलबाट ४० मुनिका ४६ र ६० माथिका १३१ उम्मेदवार

Read Time : > 5 मिनेट
२०७९ असोज २८ शुक्रबार ०६:१८:००

प्रतिनिधिसभा सदस्यका लागि देशभरबाट मैदानमा उत्रिएका २४ सय १२ मध्ये सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका ६९९ उम्मेदवार, ३० वर्षमुनिका १९५ उम्मेदवारमध्ये ठूला दल कांग्रेस, एमालेबाट एक/एक र लोसपाबाट तीनजना मात्रै

प्रतिनिधिसभाका उम्मेदवार छनोटमा प्रमुख दलहरूले ४० वर्षसम्मका युवालाई भन्दा ६० नाघेकालाई प्राथमिकता दिएका छन् । एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र लोसपाबाट उम्मेदवार बन्ने मौका पाउने युवाको संख्या ४६ मात्रै छ, जब कि यी दलले ६० माथिका १३१ जनालाई चुनावी मैदानमा उतारेका छन् । अन्य दल र स्वतन्त्रबाट उम्मेदवारी दिने युवाको संख्या भने उल्लेख्य छ । 

निर्वाचन आयोगका अनुसार ४० बर्षसम्मका एमालेबाट सात, माओवादीबाट ६, कांग्रेसबाट तीन जना मात्रै उम्मेदवार छन् । जसपा र लोसपाले १५/१५ जनालाई प्रतिष्पर्धामा उतारेको छ भने एकीकृत समाजवादीबाट युवा उम्मेदवार नै छैनन् । ६० बर्षभन्दा माथिका कांग्रेसले ४४, एमालेले ३८, जसपाले १७, लोसपाले १४, एकीकृत समाजवादीले ११ र माओवादीले सात जना उम्मेदवार बनाएको छ । 

संघ र प्रदेश सभा निर्वाचनका लागि देशभर पाँच हजार ६ सय ३६ उम्मेदवार छन् । सबैभन्दा धेरै ४१ देखि ५० उमेर समूहका छन् । प्रतिनिधिसभाका दुई हजार चार सय १२ उम्मेदवारमध्ये ६ सय ९९ र सातवटै प्रदेश सभा भिडिरहेका तीन हजार दुई सय २४ उम्मेदवारमध्ये यो उमेर समूहका नौ सय ७३ जना छन् ।

प्रतिनिधिसभा सदस्यका लागि ३० वर्षमुनिका उम्मेदवारको संख्या जम्मा एक सय ९५ छ । त्यसमा पनि प्रमुख दलहरूमध्ये एमाले र कांग्रेसले एक–एक, लोसपाले तीनजना मात्रै यो समूहबाट उम्मेदवार बनाएको छ । माओवादी, एकीकृत समाजवादी, जसपाबाट ३० वर्षमुनिका उम्मेदवार नै छैनन् । बरु, राप्रपाले ६ जना उम्मेदवार उठाएको छ । प्रदेश सभा सदस्यका लागि यो उमेर समूहबाट दुई सय ६९ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । 

प्रतिनिधिसभामा प्रमुख दलमध्येबाट सबैभन्दा कम उमेरका उम्मेदवार दोलखा १ बाट गोपाल नेपाली छन् । लोसपाबाट उम्मेदवार बनेका उनी २७ वर्षका हुन् । कांग्रेसबाट मुस्ताङमा उम्मेदवार बनेका योगेश गौचन थकाली २९ वर्षका र गोरखा २ मा एमालेबाट भिडिरहेका अब्दुस सलाम मियाँ २९ वर्षका छन् । 

लोसपाले नुवाकोट २ मा २९ वर्षीया लक्ष्मी रसाइली र दाङ १ मा ३० वर्षीया प्रतिमा बुढा मगरलाई उम्मेदवार बनाएको छ । यसबाहेक राप्रपाबाट ३० वर्षमुनिका अछाम २ बाट मीनबहादुर शाही, अर्घाखाँची १ बाट होमनारायण बेलबासे, इलाम १ बाट तोयानाथ शर्मा सापकोटा, इलाम २ बाट गणेशप्रसाद दुलाल, उदयपुर १ बाट ध्रुवकुमार रायमाझी र उदयपुर २ बाट वंशीधर न्यौपाने उम्मेदवार छन् । अन्य दल र स्वतन्त्रबाट यो उमेर समूहका एक सय ८४ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । 

३१ देखि ४० वर्ष उमेर समूहका संघमा पाँच सय ६४ र प्रदेशमा सात सय ३८ उम्मेदवार छन् । ५१ देखि ६० वर्ष उमेर समूहका संघमा पाँच सय ७२ र प्रदेशमा आठ सय ६३ तथा ६१ देखि ७० वर्ष समूहका संघमा तीन सय २४ र प्रदेशमा तीन सय ३२ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्तै, ७१ देखि ८० वर्ष उमेर समूहका ९८ जना चुनावी मैदानमा उत्रिएका छन् । यो समूहका प्रतिनिधिसभातर्फ ५१ र प्रदेशमा ४७ जना उम्मेदवार छन् । ८० वर्षदेखि माथिका नौ उम्मेदवार छन्, जसमा संघतर्फ सात र प्रदेशमा दुईजनाले प्रतिस्पर्धा गरिरहेका छन् । 

प्रमुख सत्तारूढ कांग्रेसबाट प्रतिनिधिसभामा २९ देखि ७८ वर्षसम्मका उम्मेदवार छन् । तनहुँ १ बाट प्रतिस्पर्धा गरिरहेका ७८ वर्षीय रामचन्द्र पौडेल कांग्रेसका सबैभन्दा ज्येष्ठ उम्मेदवार हुन् । उनीपछिका ७७ वर्षका प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा डडेल्धुराबाट भिडिरहेका छन् । कांग्रेसमा सबैभन्दा कम उमेरका २९ वर्षीय योगेश गौचन थकाली मुस्ताङबाट उम्मेदवार छन् । जम्मा ९१ उम्मेदवार बनाएको कांग्रेसमा सबैभन्दा धेरै ६१ देखि ७० वर्ष उमेर समूहका ३७ जना छन् ।

प्रतिनिधिसभामा कुल एक सय ४१ उम्मेदवार उठाएको एमालेले २९ देखि ७७ वर्षसमम्मकालाई मौका दिएको छ । सबैभन्दा बढी उमेरका ७७ वर्षीय मंगलप्रसाद मियाँ कपिलवस्तु ३ बाट भिड्दै छन् । गोरखा २ बाट प्रतिस्पर्धा गरिरहेका २९ वर्षका अब्दुस सलाम मियाँ सबैभन्दा कान्छा हुन् । एमालेले सबैभन्दा धेरै ५१ देखि ६० वर्ष उमेर समूहका ६४ जनालाई उम्मेदवार बनाएको छ ।

माओवादीका ४६ उम्मेदवारमध्ये सबैभन्दा कम ३६ वर्षका र सबैभन्दा पाका ८५ वर्षका छन् । सर्लाही २ बाट प्रतिस्पर्धा गरिरहेका महिन्द्र राय यादव ८५ वर्ष र काठमाडौं ७ बाट उम्मेदवार बनेकी मानुषी यमी भट्टराई ३६ वर्षकी छिन् । माओवादीबाट सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका १७ जना उम्मेदवार छन् ।

एकीकृत समाजवादीका ४४ देखि ७२ वर्षसम्मका २१ उम्मेदवार छन् । इलाम १ बाट ७२ वर्षीय झलनाथ खनाल र गुल्मी २ मा ४४ वर्षीय रामकुमारी झाँक्री उम्मेदवार छिन् । एकीकृत समाजवादीले सबैभन्दा धेरै ६१ देखि ७० उमेर समूहका १० लाई मैदानमा उतारेको छ । 

राप्रपाबाट एक सय ४० उम्मेदवारी परेकोमा २७ देखि ८७ वर्षसम्मका उम्मेदवार छन् । राप्रपामा एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुमबाट युवराज गौतम ८७ वर्ष र कम उमेरका २७ वर्षीय मीनबहादुर शाही अछामबाट तथा सन्दीप आचार्य ललितपुर ३ बाट उम्मेदवार छन् । राप्रपामा ४१–५० उमेर समूहका ४० उम्मेदवार छन् । 

जसपामा ७८ उम्मेदवारमध्ये ३१ देखि ७३ वर्ष उमेर समूहका छन् । ३१ वर्षका नोयन्द्र धिताल बाँके ३ बाट र ७३ वर्षका नवलकिशोेर साह सप्तरी १ बाट तथा आनन्द यादव धनुषा २ बाट प्रतिस्पर्धा गरिरहेका छन् । जसपाले सबैभन्दा धेरै ४१ देखि ५० उमेर समूहका २९ उम्मेदवार बनाएको छ । त्यस्तै, लोसपाबाट २७ देखि ८० उमेरसम्मका ५१ उम्मेदवार छन् । दोलखा १ बाट २७ वर्षका गोपाल नेपाली र महोत्तरी ३ बाट ८० वर्षका महन्थ ठाकुर मैदानमा उत्रिएका छन् । लोसपाले ३१ देखि ४० तथा ५१ देखि ६० वर्ष समूहका १२–१२ उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय ३३ स्थानमा उम्मेदवारी दिएको छ । ३१ देखि ४० उमेर समूहका ४८ जनालाई उम्मेदवार बनाएको छ । 

प्रतिनिधिसभामा दुई हजार एक सय ८७ पुरुष, दुई सय २५ महिला उम्मेदवार छन् । त्यस्तै, प्रदेशमा २९ सय ४३ पुरुष, दुई सय ८० महिला र एक अन्य उम्मेदवार छन् । प्रत्यक्षतर्फ ५७ दल चुनावी मैदानमा छन् ।

८० वर्षमाथिका सात उम्मेदवार
देशभर ८० वर्षमाथिका सातजनाले उम्मेदवारी दिएका छन् । गोरखा २ बाट उम्मेदवारी दिएका प्रदेश र प्रतिनिधिसभातर्फकै सबैभन्दा पाका ९९ वर्षीय टिकादत्त पोखरेल छन् । उनी कांग्रेस बिपीबाट उम्मेदवार बनेका छन् । यसबाहेक एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा राप्रपाबाट ८७ वर्षीय युवराज गौतम, सर्लाही २ मा माओवादीबाट ८५ वर्षीय महिन्द्र राय यादव, काठमाडौं ६ मा स्वतन्त्रबाट ८५ वर्षीय विष्णुप्रसाद ढकाल, कास्की ३ मा स्वतन्त्रबाट ८४ वर्षीय पशुपतिनाथ तिमिल्सिना, डडेल्धुरामा स्वतन्त्रबाट ८४ वर्षीय कर्णसिंह रावल, बारा १ मा स्वतन्त्रबाट ८१ वर्षीय कृष्णराज गिरी, बाग्लुङ १ मा राष्ट्रिय जनमोर्चाबाट ८० वर्षीय चित्रबहादुर केसी, महोत्तरी ३ मा लोसपाबाट ८० वर्षीय महन्थ ठाकुर र पर्सा १ मा स्वतन्त्रबाट ८० वर्षीय हृदयनारायणप्रसाद बरै उम्मेदवार बनेका छन् । 

ठूला दलबाट ३० वर्षसम्मका उम्मेदवार
प्रतिनिधिसभामा प्रमुख दलबाट ३० वर्षमुनिका नगन्य उम्मेदवार छन् । एमाले र कांग्रेसले एक–एक, लोसपाले तीन र राप्रपाले ६ जना यो उमेर समूहका उम्मेदवार बनाएको छ, तर माओवादी, एकीकृत समाजवादी, जसपालगायतबाट उम्मेदवार नै छैनन् । प्रमुख दलमध्येबाट सबैभन्दा कम उमेरका उम्मेदवार दोलखा १ बाट गोपाल नेपाली छन् । लोसपाबाट उम्मेदवार बनेका उनी २७ वर्षका हुन् । कांग्रेसबाट मुस्ताङमा उम्मेदवार बनेका योगेश गौचन थकाली २९ वर्षका र गोरखा २ मा एमालेबाट भिडिरहेका अब्दुस सलाम मियाँ २९ वर्षका छन् । 

लोसपाले नुवाकोट २ मा २९ वर्षीया लक्ष्मी रसाइली र दाङ १ मा ३० वर्षीया प्रतिमा बुढामगरलाई उम्मेदवार बनाएको छ । यसबाहेक राप्रपाबाट ३० वर्ष उमेर समूहका अछाम २ बाट मीनबहादुर शाही, अर्घाखाँची १ बाट होमनारायण बेलबासे, इलाम १ बाट तोयानाथ शर्मा सापकोटा, इलाम २ बाट गणेशप्रसाद दुलाल, उदयपुर १ बाट ध्रुवकुमार रायमाझी र उदयपुर २ बाट वंशीधर न्यौपाने रहेका छन् । अन्य दल र स्वतन्त्रबाट यो उमेर समूहका एक सय २० जनाको उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभातर्फ काठमाडौं १ मा सबैभन्दा धेरै तथा हुम्ला र मनाङमा सबैभन्दा कम उम्मेदवारी
काठमाडौं १ मा सबैभन्दा धेरै ३२ जनाको उम्मेदवारी परेको छ । सत्तागठबन्धनबाट कांग्रेसका प्रकाशमान सिंह, एमालेबाट किरण पौडेल, राप्रपाबाट रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीबाट रमेश खरेललगायत यही क्षेत्रमा भिड्दै छन् । ११ जना स्वतन्त्र उम्मेदवार मैदानमा उत्रिएका छन् । त्यस्तै, सबैभन्दा कम उम्मेदवारी हुम्ला र मनाङमा परेको छ । प्रतिनिधिसभाको एक मात्रै क्षेत्र रहेका यी जिल्लामा तीन–तीनजनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । 

प्रदेशमा रौतहट १ (क) मा धेरै, मनाङ (ख)मा निर्विरोध
प्रदेश सभातर्फ भने रौतहट १ (क) मा धेरै उम्मेदवारी परेको छ । यो क्षेत्रमा ३० जना उम्मेदवार छन् । प्रदेशतर्फ मनाङ (ख)मा एकजनाको मात्र उम्मेदवारी कायम रहेपछि स्वतन्त्र उम्मेदवार दीपक मनाङे निर्विरोध निर्वाचित भइसकेका छन् ।