मेरो घुमफिर
म योजना बनाएर घुमघाम गर्ने मान्छे होइन । तर, कार्यक्रमको सिलसिलामा देशका विभिन्न ठाउँमा पुगेको छु । नेपालका कतिपय कतिपय ठाउँ ‘नेचुरल’ लाग्यो । केही पनि वनावटीजस्तो लाग्दैन । जसमध्ये मलाई सोलुखुम्बुको लुक्लाआसपासको क्षेत्र मन पर्यो । त्यहाँ पुग्दा आनन्द आउँछ । त्यहाँको सबै कुरा ‘नेचर’सँग ‘कनेक्टेड’ छ । लुक्ला पुग्दा आफूलाई अर्कै फिल भयो ।
अर्काे, पोखरा पनि मलाई मन पर्छ । पोखराको प्राकृतिक सुन्दरताले लोभ्याउँछ । मलाई बाल्यकालदेखि मन पर्ने ठाउँ धनकुटाको भेडेटार पनि हो । भेडेटारमा छिनछिनमा मौसम परिवर्तन भइरहन्छ । बादलको घुम्टोमुनि पस्दा सबैको थकान भुलाइदिन्छ । चिसो सिरेटोसँगै तोङ्बा र सुकुटी खानुको मज्जा अर्कै छ । पहिले साथीहरूसँग तोङ्बा र सुकुटी खान जान्थेँ । अहिले पनि धरानमा भएको वेला भेडेटार पुगेर मात्रै फर्कन्छु ।
मलाई सुदूरपश्चिमका केही क्षेत्र घुम्न मन छ । केही ठाउँ त घुमेको छु । घुम्न जाने योजना त सबै ठाउँको बनाइन्छ, तर समय मिल्दैन । मलाई रारा ताल घुम्न असाध्यै रहर छ । अहिलेसम्म रारा ताल पुग्ने अवसर मिलेको छैन । राराको नाम सुन्नेबित्तिकै सबैको मन त्यतिकै लोभिन्छ ।
अर्काे, मलाई खप्तड घुम्न मन छ । खप्तड फोटो र भिडियोहरूमा देख्दा कहिले पुगौँ जस्तो हुन्छ । त्यहाँको प्रकृतिले नै रमाइलो बनाएको ठाउँमा ठूलाठूला घाँसे मैदान, स–साना ढिस्का र जंगलले मन लोभ्याएको छ ।