१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २६ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असोज २६ बुधबार १o:५५:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

गर्भावस्थामा गर्न नहुने गल्ती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असोज २६ बुधबार १o:५५:oo

गर्भावस्था आफैँमा जटिल समय हो । यो अवस्थामा गर्भवती महिलाले आफ्नो स्वास्थ्यप्रति निकै ख्याल गर्नुपर्छ । विशेषगरी, खानपानमा सचेत हुँदा आमा र बच्चाको स्वास्थ्यमा हानि पुग्दैन ।

डा. पिंकी शाह स्त्रीरोग विशेषज्ञ, ईशान हस्पिटल

गर्भावस्थामा आमाले सेवन गर्ने पोषणयुक्त खानेकुराले नै शिशुको शारीरिक अवस्था निर्धारण गर्ने हुँदा महिलाले आफ्नो खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । अर्काे, आरामका साथै आफ्नो शरीरमा आउने विभिन्न परिवर्तनबारे पनि उत्तिकै सचेत हुनुपर्छ । यस्तो अवस्थामा हुने सामान्य कमजोरीले ठूलो दुर्घटना निम्त्याउन सक्छ । 

गर्भावस्थामा देखिने जटिल समस्या
गर्भावस्थामा रगत धेरै बग्न सक्छ । जसले गर्दा बच्चा खेर जाने सम्भावना हुन सक्छ । तल्लो पेट धेरै दुखे वा सिँगानजस्तो रगत बगेमा झन् खतरा हुन सक्छ । त्यसैलै गर्भ बसेको दिनदेखि १२ हप्ताको पहिलो तीन महिनाको समयलाई पहिलो चरणको अवधि मानिन्छ । यो समयमा वाकवाकी लाग्ने, खान मन नलाग्ने हुन सक्छ । त्यस्तै, पिसाब धेरै पटक हुने तथा पोल्ने र गर्भ खेर जाने सम्भावना धेरै हुन्छ ।

यस्ता समस्या देखिएमा चिकित्सकसँग परामर्श गर्नुपर्छ । अर्काे, तीन महिनादेखि ६ महिनाको अवधिलाई गर्भावस्थाको दोस्रो चरण मानिन्छ । ६ देखि ९ महिनाको अवधिलाई गर्भावस्थाको तेस्रो चरण मानिन्छ । यो समयमा बच्चाको विकास भइरहेको हुन्छ । यो अवस्थामा साबिक समयभन्दा प्रोटिनयुक्त खानेकुरामा समयतालिका मिलाएर खानुपर्छ । 

के खाने, के नखाने ?

- सामान्यतः गर्भवती महिलाले अरू वेलाभन्दा बढी क्यालोरीयुक्त खानेकुरा खानुपर्छ । माछा, मासु, अन्डा, बदाम तथा गेडागुडीजस्ता प्रोटिनयुक्त खानेकुरा खानुपर्छ । साथै, दूध, दहीजस्ता क्याल्सियमयुक्त परिकारसमेत पर्याप्त मात्रामा सेवन गर्न आवश्यक हुन्छ । 

- कार्बोहाइड्रेटयुक्त खाद्यान्न तथा आवश्यक मात्रामा चिल्लो खानेकुरा खान आवश्यक हुन्छ । घिउजन्य वस्तुले तौल बढाउन सक्ने भएकाले थोरै तर नियमित सेवन गर्नुपर्छ । घिउजन्य पदार्थबाट अन्य खानेकुराभन्दा बढी क्यालोरी प्राप्त हुन्छ, जुन गर्भवतीका लागि खाना आवश्यक छ ।

- सफा, स्वच्छ र ताजा खानेकुरा खानुपर्छ । यस्तो अवस्थामा अझ प्रशस्त मात्रामा झोलिलो पदार्थ खाने । गर्भवतीले प्रशस्त मात्रामा मौसमी फलफूल तथा तरकारी खानुपर्छ । सम्पूर्ण खानेकुराको कम्तीमा पनि पाँच भागको एक भाग फलफूल वा तरकारी हुन आवश्यक छ । यसैगरी, गर्भवती महिलाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ, जसले आमा र बच्चाको शरीरमा अक्सिजनको मात्रा सन्तुलन गर्दछ ।

- गर्भवतीले आवश्यक मात्रामा मौसमी फलफूल खानुपर्दछ । जुनसुकै खानेकुरा पनि पखालेर वा राम्ररी सफा गरेर मात्रै खानुपर्छ । यदि स्वस्थ खानेकुरा सेवन गर्ने हो भने अतिरिक्त भिटामिन लिनुपर्दैन । 

- गर्भावस्थामा कतिपय खानेकुरा खानुहुँदैन । यस्ता खानेकुराले हानि पनि गर्न सक्छ । यस्तो वेला चिकित्सकको सल्लाहअनुसार सीमित औषधि सेवन गर्नुपर्छ । आफैँले जथाभावी औषधि खाए गर्भमा रहेको भ्रूणमा नकारात्मक असर पनि पुग्न सक्छ । 

- यो अवस्थामा सजिलै ब्याक्टेरियाले आक्रमण गर्न सक्ने भएकाले बजारमा राखिएका खानेकुरा खानुहुँदैन । फास्टफुड र ड्राइफुड सकेसम्म नखाने । अल्कोहलजन्य पेयपदार्थ, चुरोट र सुर्तीजन्य वस्तुको सेवनले बच्चालाई हानि गर्दछ । यसबाहेक काँचो मासु र काँचो अन्डा पनि हानिकारक छ । 

ध्यान दिनुपर्ने कुरा

  • लामो यात्रा नगर्ने । 
  • शारीरिक सम्पर्क नराख्ने । 
  • गह्रौँ, भारी हुने काम गर्नुहुँदैन । 
  • पर्याप्त आराम गर्ने । 
  • सरसफाइमा ध्यान दिने । 
  • फोलिक एडिस, आइरन चक्की, क्याल्सियम चिकित्सकको परामर्शअनुसार सेवन गर्ने । 
  • नियमित स्वास्थ्य जाँच गर्ने ।
  • समस्या देखिइहालेमा चिकित्सकसँग सम्पर्क गर्ने ।