
थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा र कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनबिचको टेलिफोन वार्ताको अडियो क्लिप सार्वजनिक भएपछि ठुलो विवाद निम्तिएको छ । यस प्रकरणले पेटोङटार्नको सरकार नै संकटमा पर्ने जोखिम सिर्जना गरेको छ । टेलिफोन वार्ताप्रति असहमति जनाउँदै प्रमुख गठबन्धन साझेदार भुमजाइथाई पार्टीले सरकार छाडिसकेको छ ।
भुमजाइथाई पार्टीविना पनि पेटोङटार्नसँग संसद्मा सामान्य बहुमत छ । तर, विवाद चर्किंदै जाँदा अन्य सहयोगी दलले पनि समर्थन फिर्ता लिने डर बढेको छ । अन्य दुई गठबन्धन दल ‘युनाइटेड थाइल्यान्ड नेसन’ र ‘डेमोक्य्राट पार्टी’ले बिहीबार वा शुक्रबारसम्ममा स्थितिबारे छलफल गर्न बैठक आयोजना गर्ने बताएका छन् । यसले १० महिनाअघि मात्र प्रधानमन्त्री बनेकी पेटोङटार्नलाई राजीनामा दिन वा मध्यावधि निर्वाचन आह्वान गर्न दबाब परेको छ ।
फोनकलमा पेटोङटार्नले हुन सेनलाई ‘अंकल’ भनेको र उत्तरपूर्वी भेगमा तैनाथ एक थाई सेनाका कमान्डरलाई प्रतिद्वन्द्वी बताएकी थिइन् । हालै थाइल्यान्ड र कम्बोडियाबिच सीमा क्षेत्रमा तनाव सिर्जना भएको थियो । सो तनाव कम गर्ने उद्देश्यले दुई नेताबिच फोनावार्ता भएको थियो । तर, आलोचकले फोनवार्तामा पेटोङटार्न हुन सेनप्रति अति भक्तिभावपूर्ण देखिएको आरोप लगाएका छन् ।
साथै, उनले फोनमा देशको शक्तिशाली सेनाको अपमान गरेकोमा पनि उनीहरू चिढिएका छन् । फोनमा पेटोङटार्नले हुन सेनलाई पछिल्लो सीमा तनावको समयमा उत्तरपूर्व थाई कमान्डरले ‘हिरो देखिने प्रयास गरेको र अनावश्यक कुरा बोलेको’ भनेको सुनिन्छ ।
सिनावात्रा परिवार र कम्बोडियाको हुन सेन परिवारबिच दशकौँ पुरानो मित्रता छ । विवादपछि हुन सेनले फोनको अडियो क्लिप असीजनाजति राजनीतिज्ञलाई सेयर गरेको र कुनै एकले त्यसलाई बाहिर ल्याएको हुन सक्ने बताएका छन् । पछि उनले सम्पूर्ण १७ मिनेट फोन रेकर्डिङ आफ्नो फेसबुक पेजमा राखेका छन् ।
सन् २०२३ मा छोराका लागि प्रधानमन्त्री पद त्यागेका हुन सेन अझै पनि कम्बोडियामा शक्तिशाली छन् । दबाब बढेपछि पेटोङटार्नले बिहीबार पत्रकार सम्मेलन गरी सैन्य प्रमुख र आफ्नो फेउ थाई पार्टीका वरिष्ठ नेतालगायत शुभेच्छुकसँग माफी मागिन् । तथापि, उनले सेनसँगको नरम शैलीलाई कूटनीति भनेर प्रतिरक्षा गरिन् ।
उता, फोन कलमा प्रधानमन्त्रीले देशको अपमान भएको भन्दै प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामा माग गर्दै सयौँ प्रदर्शनकारी बिहीबार बैंककको सरकारी भवनबाहिर भेला भएका थिए । विरोध प्रदर्शनमा प्रायः पहेँलो सर्ट लगाएका वृद्धवृद्धा सहभागी थिए । थाइल्यान्डमा पहेँलो रङले राजतन्त्रलाई प्रतिबिम्बित गर्छ ।