१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ६ शुक्रबार
  • Friday, 20 June, 2025
दीपक भट्ट रामेछाप
२o८२ असार ६ शुक्रबार १४:५३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अस्थायी रूपमा सुनकोशीको झोलुुंगे पुल बनेपछि आवतजावतमा सहज

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८२ असार ६ शुक्रबार १४:५३:oo

गत वर्षको असोज १२ गते आएको सुनकोशीको बाढीले क्षति पुर्‍याएको रामेछाप र सिन्धुलीको सिमानामा पर्ने पुछीघाटको झोलंगे पुल मर्मतसम्भारपछि अस्थायी रूपमा सञ्चालनमा आएको छ ।  सुनकोशीको बाढीले रामेछापको खाँडादेवी र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने १८० मिटर लामो पुछीघाटको झोलुुंगे पुलको रामेछापतर्फको करिब ३० मिटर भागमा बाढीले क्षति पुर्‍याएको थियो ।  पुलमा क्षति पुुर्‍याएपछि रामेछापको खाँडादेवी र सिन्धुलीको सुुनकोशी गाउँपालिकाका नागरिक प्रत्यक्षमा मारमा परेका थिए । 

उक्त स्थानमा नदी वारपार गर्ने वैकल्पिक मार्ग नहुँदा नागरिक क्षति पुुगेको उक्त पुलको लठ्ठा समातेर जोखिम पूर्ण रूपमा वारपार गर्दै आएका थिए । उक्त पुल तरेर रामेछापको खाँडादेवीबाट सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको दीर्घ प्रदीप माध्यमिक विद्यालयमा करिब दुई दर्जनभन्दा बढी विद्यार्थी अध्ययन गर्न जाने गरेका छन् । त्यस्तै, खेती किसान गर्ने कृषकहरू पनि सो झोलुंगे पुल तरेर दैनिक रूपमा वारपार गर्नुुपर्ने बाध्यता रहेको खाँडादेवी गाउँपालिका– ४, पुछीघाटका हर्के माझीले जानकारी दिए । 

पुल नबन्दा धेरै कष्टकर रूपमा यात्रा गर्नुपर्ने बाध्यता थियो । बाढीले पुलको टेक्ने स्टिल डेक र पुलको बार दुवैतर्फको धेरै बगाएको छ । बगाएको स्टिल डेकमा अहिले स्थानीय स्तरमा पाइने बाँस, काठको फल्याक हालिएको छ भने बारका लागि बाँसले बारिएर अस्थायी रूपमा मर्मतसम्भार गरी पुुल सञ्चालनमा ल्याइएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए । 

‘अहिले तत्काल स्थायी रूपमा पुल निर्माण गर्न सक्ने अवस्था भएन । झोलुंगे पुलबाट दैनिक सयौँ नागरिक जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता छ । त्यसैले नागरिकलाई नदी वारपार गर्न केही सहज होस् भन्ने उद्देश्यले गाउँपालिकाको विपत् व्यवस्थापन कोषबाट चार लाख ५० हजार रुपैयाँ खर्चेर उक्त मर्मत सम्भार गरिएको छ । अहिले अस्थायी रूपमा मात्रै हामीले व्यस्थापन गरेका छौँ । स्थायी रूपमा पुल निर्माण गर्न धेरै खर्च लाग्छ, मन्त्रालयसँग उक्त पुल निर्माणका लागि माग गरेका छौँ,’ अध्यक्ष श्रेष्ठले बताए ।

बाढीले पुलमा क्षति पुुर्‍याएपछि तत्कालका लागि आवतजावतमा सहजता होस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रामेछापको विपत् व्यवस्थापन समितिले सुनकोशी नदीमा र्‍याफ्टिङको व्यवस्थापन गरेको थियो । हिउँदको समयमा उक्त र्‍याफ्टिङ प्रभावकारी भए तापनि वर्षातमा नदीको बहाव बढ्दा समस्या हुने भएपछि गाउँपालिकाले उक्त पुल अस्थायी रूपमा मर्मतसम्भार गरेको हो ।