१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ६ शुक्रबार
  • Friday, 20 June, 2025
२o८२ असार ६ शुक्रबार १९:१८:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

गण्डकीको बजेटमा असहमति राख्दै बागलुङका कांग्रेस सांसदले गरे प्रदेश सभा बहिष्कार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ६ शुक्रबार १९:१८:oo

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०८२/८३ को बजेट न्यायिक ढंगले वितरण नगरेको भन्दै बागलुङका ६ सांसदले सांकेतिक रूपमा प्रदेश सभा बैठक बहिष्कार गरेका छन्।

नेपाली कांग्रेसबाट निर्वाचित प्रत्यक्ष तथा समानुपातिक प्रदेश सभा सदस्यहरूले शुक्रबार दिउँसो १ः३० बजेबाट सुरु भएको प्रदेश सभा बैठक बहिष्कार गरेका हुन्।
 
बागलुङबाट  निर्वाचित प्रदेश सभा सदस्य दीपेन्द्रबहादुर थापा, डिल्लीराम सुवेदी, जित शेरचन, द्रोण कुँवर, चम्पा खड्का र डिलमाया पौवीले शुक्रबारको प्रदेश सभा बैठकमा अनुपस्थित भएका हुन्।

प्रदेश सरकारले वितरण गरेको बजेट समानुपातिक र न्यायिक ढंगबाट नभएको हुँदा यसको विरोधस्वरूप आफूहरू उपस्थित नभएको बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (१) बाट निर्वाचित सांसद दीपेन्द्रबहादुर थापाले बताए। थापाका अनुसार सांसदहरूको सल्लाहविना नै बिचौलियाको चलखेलले बजेट विनियोजन भएको र यो न्यायिक नरहेको हुँदा आफूहरू सांकेतिक रूपमा शुक्रबारको प्रदेश सभा बैठकमा उपस्थित नभएको बताए।

‘प्रदेशमा बजेट वितरण गर्ने ठाउँमा पनि खै कसकाे हाबी भएको छ, कर्मचारीको हो कि बिचौलियाको, आफ्नो मनपरी ढंगले बजेट वितरण गरेका छन्,’  थापाले भने, ‘जसको हातमा डाडुपन्युँ छ उसैले मात्र आफ्नो भागमा पार्ने भयो, सांसदलाई कुनै सोधपुछ छैन यसरी पनि हुन्छ ?’

बागलुङबाट निर्वाचित प्रत्यक्ष र समानुपातिक सांसदहरूको सल्लाहबमोजिम नै प्रदेश सभाको बैठकमा उपस्थित नभएको बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (२)बाट निर्वाचिन अर्का सांसद डिल्लीराम सुवेदीले बताए। ‘हामी बागलुङको विकासप्रति सबै सांसद एकजुट छौँ, सबै क्षेत्रमा समानुपातिक रूपमा बजेट विनियोजन हुनुपर्ने हामी सबैको माग हो, यो बजेट वितरण प्रणाली पूर्णतः अवैज्ञानिक अपारदर्शी भएको कारण थुप्रै चलखेलहरू भएका छन्,’ सांसद सुवेदीले भने, ‘मन्त्रीहरूको मनमौजी छ र यसले विनियोजन कुशलताका मापदण्डहरू अवलम्बन गरेको छैन, बजेटबारे सांसदहरूसँग कुनै सल्लाह छैन।’

प्रदेश सभा सदस्य डिलमाया पौवीले पनि आफू संसद् नगएको बताइन्। उनले पनि आफ्नो क्षेत्रमा सिफारिस गरेका अधिकांश बजेटहरू कटौती गरेको गुनासो गरिन्।