१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
धरहरापरिसरमा निर्माणाधीन अवस्थामा रहेका भवन । तस्बिर : नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o७:१६:oo
Read Time : > 3 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

धरहरा निर्माण सकिन अझै एक वर्ष

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:१६:oo

ठेकेदार कम्पनी भन्छ– धरहराको भित्री र आसपासको धेरै काम अझै बाँकी छ, अगाडिको आठ मिटर चौडा सडक बनाउने प्रक्रिया भर्खरै अघि बढेको छ

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ११ वैशाख ०७८ मा पुनर्निर्माण अधुरै रहँदा उद्घाटन गरेको धरहरा निर्माण अझै सकिएको छैन । पुनर्निर्माण सकिएको भन्दै ओलीले त्यतिवेला उद्घाटन गरे पनि हालसम्मको कार्य प्रगति निकै कम छ ।

हालसम्म भौतिकतर्फ ७६ प्रतिशत र बजेटतर्फ ६६ प्रतिशत मात्रै कार्य प्रगति भएको छ । ठेकेदार कम्पनीका अनुसार धरहराको बाँकी काम सकिन अझै एक वर्ष लाग्छ । ‘धरहराको लागत स्टिमेट तीन अर्ब आठ करोड रुपैयाँ हो, हालसम्म दुई अर्ब २५ करोड बजेट सकिएको छ,’ ठेकेदार कम्पनी जिआई इपिसी रमण कन्स्ट्रक्सनका प्रोजेक्टर म्यानेजर सञ्जय नकर्मीले भने, ‘धरहराको भित्री र आसपासको धेरै काम अझै बाँकी छ ।’ उनका अनुसार धरहराको सामुन्ने रहेको आठ मिटरको सडक बनाउने कार्य अघि बढेको छ । त्यसका लागि सम्झौता भइसकेको छ । 

समयमै काम नसकिनुमा आफ्नो गल्ती नभएको कम्पनीको दाबी छ । सम्झौता भएपछि आसपासका भवन नभत्काउँदा २१ महिना धरहराको ब्युटिफिकेसनको काम गर्न नपाएको प्रोजेक्ट म्यानेजर नकर्मीको भनाइ छ । ‘धरहराको भवन मात्रै उभ्याएर भएन, भित्री संरचना र आसपासको ब्युटिफिकेसनका लागि ठाउँ तयार नभएकाले ढिलाइ भएको हो,’ नकर्मीले भने । 

ओलीकै दबाबमा सिँगारपटार र उद्घाटन
त्यतिवेला धरहरा स्तम्भ ठडिए पनि भित्री संरचना निर्माण र ब्युटिफिकेसनका थुपै्र काम बाँकी थिए । सो काम अझै पनि सकिएको छैन । आफू सत्तामा रहेका वेला उद्घाटन गर्न ओलीले पुनर्निर्माण कार्य नसकिँदै उद्घाटन गर्न हतारो गरेका थिए । ओलीकै दबाबमा पुनर्निर्माण नसकिँदै सिँगारपटार गरी उद्घाटन गर्ने व्यवस्था पनि मिलाइएको थियो । तर, माथिल्लो र बाहिरी भाग मात्रै बनाउँदा भित्री भागको काम गर्न कठिन भइरहेको ठेकेदार कम्पनीले जनाएको छ ।  

४६ लाखको लिफ्ट राख्नेबित्तिकै बिग्रियो 
धरहराको टुप्पोसम्म पुग्न दुईवटा लिफ्टको व्यवस्था गरिएको छ । उद्घाटनका वेला दुईवटै लिफ्ट सञ्चालनमा थिए । तर, अहिले त्यसमध्ये एउटा लिफ्ट बिग्रिएको छ । प्राविधिक समस्याका कारण जडान गरेको केही समयमै लिफ्ट बिग्रिएको नकर्मीले जानकारी दिए । उनले बाँकी काम सकेपछि मात्रै लिफ्ट मर्मत सुरु हुने बताए । धरहरामा लिफ्ट जडान गर्दा एउटामा एक करोड र दोस्रोमा ४६ लाख खर्च भएको छ । तर, तयार भएर प्रयोगमा नआउँदै लिफ्ट बिग्रिएको छ ।

तल्लो तलाको काम सकिन एक वर्ष लाग्छ : सञ्जय नकर्मी, प्रोजेक्टर म्यानेजर जिआई इपिसी रमण कन्स्ट्रक्सन
पुनर्निर्माण नसकिँदै उद्घाटन गर्दा बाँकी काम गर्न असहज भयो । सुरुमा भुइँतलाको काम हुनुपर्ने थियो, तर भुइँको काम नसकिँदै पिलर उठाएर धरहरा स्तम्भ उभ्याइयो । तल्लो भागको काम सकेर माथिल्लो भागको काम सक्नुपर्नेमा उल्टो भयो । माथिल्लो भागको काम सकिए पनि अझै तल्लो तलाको काम सकिन एक वर्ष लाग्छ ।

भीमसेन धरहरा भनिएकोमा आपत्ति
०७२ सालको भूकम्पले भीमसेन धरहरा भत्काएपछि सरकारले त्यसैको सट्टामा अर्को धरहरा बनाए पनि त्यो धरहरालाई भ्युटावर भनिएको छ । भीमसेनकालीन धरहराको ठुटो मात्रै बाँकी छ । आडैमा बनाइएको धरहरालाई संस्कृतिविद् तथा जानकारहरूले सेतो भ्युटावर भनेका छन् । त्यसो त नयाँ धरहराको शिलालेखमा समेत धरहरा टावर भनेर लेखिएको छ । भीमसेनकालीन धरहराको साट्टामा बनाइएको नयाँ संरचनालाई पुरानो धरहरा भन्न नमिल्ने धारणा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पनि राखेका छन् । 

संस्कृतिविद् सत्यमोहन जोशीले पनि पुरानो धरहराकै जगमा नबनाएकाले नयाँ धरहरालाई भीमसेनकालीन धरहराका रूपमा लिन नसकिने बताए । उनले संरचनालाई सेतो टावरका रूपमा लिने सकिने धारणा राखे । ‘भीमसेनकालीन धरहराको जग अन्तै छ, त्यही र त्यस्तै धरहरा भनेर मित्थ्या प्रचार गर्नुहुँदैन,’ उनले भने, ‘बरु, पुरानो ठुटोलाई संरक्षण गर्न जरुरी छ ।’ 

केमिकल लेपन गरेर प्राचीन धरहरा ठुटोको संरक्षण
पुरानो धरहराको सट्टामा नयाँ धरहरा निर्माण गरे पनि पुरानो धरहराको ठुटोलाई संरक्षण गरिनेछ । ०७२ को भूकम्पमा पुरानो धरहरा ढलेको थियो । अहिले त्यसको ठुटो मात्रै बाँकी छ । सरकारले त्यसको साटोमा पुरानो धरहराको नजिकै नयाँ धरहरा निर्माण गरे पनि कतिपयले त्यसलाई भ्यु टावरसमेत भनेका छन् । पुरानो ठुटोको मौलिकता रहेकाले त्यसलाई संरक्षणका लागि ठुटोमा केमिकल लेपन गरेर जोगाइनेछ । 

धरहरापरिसरको क्षेत्रफल ४२ रोपनीमा फैलिएको छ । यसको आसपासमा रहेको गोश्वारा हुलाक कार्यालयसहितका अन्य संरचना पनि ठेकेदार कम्पनीले भत्काइसकेको छ । त्यहाँ गार्डेन र पुराना ढुंगेधारा रहेको ठाउँलाई पुरानै अवस्थामा फर्काइनेछ । धरहराको नजिकै रहेको सुन्धारामा प्रयोग भएका पुराना ढुंगा उप्काएर अर्को सुन्धारा बनाइनेछ । बाँकी रहेको काम सक्नका लागि ठेकेदार कम्पनीलाई पुससम्मको समयसीमा तोकिएको छ । तर, सो समयभित्र धरहरा बनिनसक्ने ठेकेदार कम्पनीले जनाएको छ । ठेकेदार कम्पनीका अनुसार बाँकी काम सक्न अझै एक वर्ष समय लाग्नेछ । धरहरा तथा अन्य सम्पदाको पुनर्निर्माणको नेतृत्व पाएको पुनर्निर्माण प्राधिकरण गत १० पुसमा खारेज भएपछि हाल भवन निर्माण विभागअन्तर्गत धरहरा निर्माण भइरहेको छ ।

गत वर्ष धरहरा उद्घाटन भएपछि सर्वसाधारणले धरहराको अवलोकनको इच्छा देखाएका थिए । तर, पुनर्निर्माण कार्य नसकिएकाले सर्वसाधारणका लागि खुला हुन सकेको छैन । पुनर्निर्माणको सबै काम सकिएपछि मात्रै सर्वसाधारणले धरहरा अवलोकन गर्न पाउनेछन् । 

के–के काम बाँकी छ ? 
धरहराको बाहिरी तथा माथिल्लो भागको काम सकिए पनि त्यसभित्रका भित्री संरचना र वरिपरि ब्युटिफिकेसनको काम बाँकी नै छ । सो कार्य सक्नका लागि अझै एक वर्ष लाग्ने ठेकेदार कम्पनीले जनाएको छ । हाल सेन्ट्रल युटिलिटी (ब्लक राख्ने, जेनेरेटर, टान्सफर्मर, चिर्लर, ए–एचयू युनिट, वाटर ट्यांक)लगायत सामग्री राख्ने ठाउँ निर्माणको काम भइरहेको छ । त्यस्तै, धराहराको अगाडिपट्टिको सडक व्यवस्थित पार्ने र गार्डेन निर्माण गर्ने, बाहिरी स्पेस व्यवस्थित पार्ने, हरियालीलगायत काम बाँकी नै छ । त्यस्तै, भित्री भागमा ग्रेनाइट, टायल, सिलिङ निर्माण र झिँगटी छाप्ने काम पनि भइरहेको छ ।

चारपटक म्याद थप्दासमेत ७६ प्रतिशत मात्रै काम
दुई वर्षमा सक्ने गरी कात्तिक ०७५ मा सुरु भएको धरहरा पुनर्निर्माण आयोजनाको ठेकेदार कम्पनीले चारपटक म्याद थपिसकेको छ । पछिल्लोपटक थपिएको म्याद पनि आगामी पुस मसान्तमा सकिँदै छ । तर, उक्त समयमा पनि काम नसकिने ठेकेदार कम्पनीको भनाइ छ ।

ad
ad