प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटाबाट एमालेका पुरानै अनुहार दोहोरिएका छन्। प्रतिनिधिसभातर्फ केन्द्रीय सदस्य एवं निवर्तमान प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले उम्मेदवारी दर्ता गरेका छन्।
उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर आज उम्मेदवारी दर्ता गरेका हुन्। उनले ०७४ को निर्वाचनमा राप्रपाका उम्मेदवार सुनीलबहादुर थापालाई १० हजारभन्दा बढी मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
प्रदेश सभा सदस्यतर्फ पनि नेकपा एमालेले पुरानै अनुहारलाई अघि सारेको छ। एक प्रतिनिधिसभा र दुई प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको धनकुटा प्रदेश सभा ‘क’ तर्फ पार्टीका जिल्ला सचिव तथा प्रदेश सभाका निवर्तमान सदस्य निरन राईको उम्मेदवारी दर्ता गरेको छ।
त्यस्तै, गरी एमालेले प्रदेश सभा ‘ख’तर्फ पार्टीका जिल्ला अध्यक्ष तथा निवर्तमान प्रदेश सभा सदस्य इन्द्रमणि पराजुलीको उम्मेदवारी दर्ता गराएको छ। उनीहरू दुवैजना ०७४ को निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।
यता, कांग्रेसले प्रतिनिधिसभातर्फ सत्तागठबन्धनको तर्फबाट साझा उम्मेदवार कांग्रेसका केन्द्रीय सदस्य सुनीलबहादुर थापाले उम्मेदवारी दर्ता गरेका छन्। प्रदेश सभातर्फ सत्तागठबन्धनका तर्फबाट एकीकृत समाजवादीका अर्जुन राईले प्रदेश सभा ‘क’ र माओवादी केन्द्रकी कुसुमकुमारी श्रेष्ठले प्रदेश सभा ‘ख’ मा उम्मेदवारी दर्ता गराएका छन्। श्रेष्ठ यसअघिकी नेकपाबाट समानुपातिक प्रदेश सभा सदस्य हुन्।